बालेनले महानगरमा दिएको डेलिभरीको मोडललाई घोषणापत्रमा राष्ट्रिय स्वरूप दिनेछौं : वाग्ले

घोषणापत्रलाई आफूहरुले वाचापत्र भन्ने र पार्टीको सैद्धान्तिक धरालतबारे प्रश्न उठाउने गरिएकाले त्यसबारे प्रष्ट पार्ने प्रयास हुने समेत उनले जानकारी दिए।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

We will give a national form to the delivery model given by Balen in the metropolis in the manifesto: Wagle

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरको मेयर हुँदा गरेका कामलाई पनि आगामी घोषणापत्रमा स्थान दिने बताएका छन्। 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाको घोषणापत्र लेखनको जिम्मेवारी समेत पाएका उनले बालेन्द्रले महानगरमा रहँदा ‘डेलिभरी’ र ‘सदाचार’को विषयमा उदाहरणीय काम गरेको भन्दै घोषणापत्रमा त्यसलाई राष्ट्रियस्वरुप दिने बताए। 

‘प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहले महानगरमा असाध्यै फलदायी अनुभव गरेको बुझाइ हाम्रो छ,’ कान्तिपुरसँगको लामो अन्तर्वार्तामा वाग्लेले भने, ‘खासगरी डेलिभरी र सदाचारको विषयमा उहाँले उदाहरणीय काम गर्नुभएको छ । एक खर्ब जतिको बजेट उहाँले चलाउनुभयो, तर अहिलेसम्म एक सुका रकम अपचलन भयो भनेर कसैले प्रश्न गर्न सकेको छैन । त्यसैले महानगरको डेलिभरी मोडललाई राष्ट्रिय स्वरूप दिनेछौं ।’

घोषणापत्रलाई आफूहरुले वाचापत्र भन्ने र पार्टीको सैद्धान्तिक धरालतबारे प्रश्न उठाउने गरिएकाले त्यसबारे प्रष्ट पार्ने प्रयास हुने समेत उनले जानकारी दिए। ‘हामीमाथि सैद्धान्तिक धरालत छैन, विचार नै छैन भने भ्रम दिने गरिएको छ,’ वाग्लेले भने, ‘त्यसैले राजनीतिक, आर्थिक सोच के हो ? समाज, परराष्ट्र सम्बन्ध, डायस्परा, धर्म, संस्कृतिप्रतिको बुझाइ के हो? जस्ता विषयलाई प्रस्तावनामै राख्छौं ।’

चुनावमा रास्वपालाई नै किन मत दिने भन्ने विषयहरू पनि समेटिने उनको भनाइ छ। ‘अनि रास्वपा किन छान्नुपर्‍यो भन्ने आधारहरू प्रस्तुत गर्छौं । जसमा आशा र निषेधदेखि विस्फोट र भरोसासम्म छोटो इतिहास आउँछ । हामी कहाँ छौं? कहाँ पुग्ने हो ? र, कसरी पुग्ने? भन्ने ठूलो खण्ड आउँदै छ । त्यसमा काम भइरहेको छ,’ वाग्लेले प्रष्ट पारे।

नेपालको अर्थतन्त्र, राजनीतिक चरित्र, रास्वपाले खोजेको समाज, पर्यावरणीय चुनौतीहरूलगायत दस वटा झलकमा रास्वपाको बुझाइ घोषणा पत्रमा राखिने समेत उनले बताए। 

‘रास्वपा सरकारमा आएर शून्यबाट सुरु गर्ने होइन, राज्यको अविच्छिन्नतालाई निरन्तरता दिने काम हुन्छ,’ वाग्लेको भनाइ छ, ‘पार्टीहरू आउँछन्–जान्छन्, नेताहरू आउँछन्–जान्छन् । तर, राज्य स्थायी हो । राज्यले गरेको राम्रा कामहरूलाई निरन्तरता दिने काम हुन्छ ।’

घोषणापत्रमा सय दिनका सय पहल समेत समावेश गरिने भन्दै त्यसभन्दाअघि नागरिकसँग करार भनेर नयाँ कार्यक्रम पनि ल्याउने उनले उल्लेख गरे।
वाग्लेसँग कान्तिपुर दैनिकले गरेको विस्तृत अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस्।

कान्तिपुर संवाददाता

Link copied successfully