कसको ‘वाद’ले देशलाई के दियो ? हामी सैद्धान्तिक रटान र वादको कुरा गर्दैनौं

संसद्मा सक्रिय भूमिका निभायौं । आफूलाई त गज्जब गरिरहेको जस्तो लागेको थियो, तर स्थानीय तहमा यसको महत्त्व नै नहुने रहेछ ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Whose 'argument' gave what to the country? We are not talking about theoretical ramblings and arguments.

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्रीको घोषणा गर्दै बजेट लेख्न निर्देशन नै दिइसके । वाग्लेकै नेतृत्वमा रास्वपाको घोषणापत्र लेखनको काम पनि भइरहेको छ । तनहुँ–१ बाट उम्मेदवारी दिएका वाग्ले यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।

यसैक्रममा तनहुँको बन्दीपुरमा भेटिएका उनीसँग घोषणापत्रमा लेखिने आर्थिक, राजनीतिक, सामाजिक नीति, रवि लामिछाने र बालेन्द्र शाहबीचको सहकार्य, कुलमान घिसिङ रास्वपामा अटाउन नसक्नुका कारण, सामाजिक सञ्जालमा फैलँदो घृणाको राजनीति र पुराना दलहरूप्रति रास्वपाको दृष्टिकोणलगायत विषयमा केन्द्रित रहेर कान्तिपुरका लागि कृष्ण आचार्यकुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

अहिले तपाईं तनहुँ–१ बाट उम्मेदवार भई चुनावी अभियानमा हुनुहुन्छ । दोर्‍याएर चुनावी मैदानमा आउँदा कस्तो अनुभव भइरहेको छ ? 

म उत्साहित नै छु । तर, दोहोर्‍याउँदा अलि फरक हुँदोरहेछ । जस्तो, अमेरिकामा ‘फर्स्ट टर्म प्रेसिडेन्ट’ र ‘सेकेन्ड टर्म प्रेसिडेन्सी’ का बीचमा फरक हुन्छ । नेपालमै पनि पहिलोचोटि प्रधानमन्त्री हुनु र दोस्रोचोटि प्रधानमन्त्री हुनुमा फरक हुन्छ । त्यो फरकपनचाहिँ अलिकति महसुस भइरहेछ । पहिला एउटा अनुमान र अपेक्षा हुन्थ्यो । पहिला नचिनेर मत नहालेका, नखुलेका र समर्थन नगरेकाहरू पनि अहिले खुल्ने र समर्थन गर्ने देखिएको छ । अर्कोतर्फ एक पटक देखिहालियो, खै, भेट्नै पाइएन भन्ने गुनासो पनि छ ।

यो अन्तर्वार्ता गर्नुअघि हिजो साँझ (बिहीबार) हामीले तपाईंका क्षेत्रका केही मतदाताहरूसित कुराकानी गर्‍यौं । मतदातामा ठूलो अपेक्षा रहेको तर तपाईंले गरेका कतिपय प्रतिबद्धताहरू पूरा नभएको भन्दै धेरैजसोले निराशा व्यक्त गरे । तपाईं आफैंले मतदाताबाट निराशा पाउनुभएको छ कि छैन ? 

त्यस्तो छ, तर बुझाएपछि फेरि धेरै नै सकारात्मक भएको पाउँछु । त्यसैले यतिबेला मेरो प्राथमिकता मेरा मतदाता भेट्ने, कुरा गर्ने नै हो । यहाँका मतदाताको अपेक्षा विकास निर्माणसँग नै सम्बन्धित छ । मेरो घरअगाडि किन पिच भएन ? भन्ने नै ठूलो अपेक्षा छ । जुन अपेक्षा संघीय सांसदले पूरा गर्ने खालको अहिलेको संघीयताको मोडल होइन । तर जनताको अपेक्षा स्वाभाविक हो । किनभने लामो समयसम्म स्थानीय सरकार थिएन । सानो कामका लागि पनि केन्द्रीय नेतालाई नै फोन गर्ने चलन थियो ।

धारा २७४ ले उल्लेखनीय जनमतको बलमा राष्ट्रिय सहमति बनाऊ, संविधान संशोधन गर भन्दिएकै छ । धारा २७५ मा जनमत संग्रहको प्रावधान छ । यी दुइटा प्रावधानले गर्दा यो संविधान हामीले मानेको हो । हामीकहाँ प्रणाली बस्न सकेको छैन । त्यसैले सांसदमाथि धेरै अपेक्षा भयो । स्थानीय जनप्रतिनिधिसँग कुराकानी गर्दा उहाँहरूको पनि गुनासो बजेट नै पुग्दैन भन्नेतर्फ छ । यी सबै परिवेश मतदातामाझ गएर बुझाउन सकिएको छ । मैले संघीय सांसदको मूल काम यो हो, यसका लागि तपाईंले जिताउनुभएको हो भनेपछि धेरैले बुझ्छन् । तर यो मामिलामा थप संवाद गर्नुपर्ने र बुझाउनुपर्ने अवस्था छ । 

मैले हरेक मतदातालाई एउटा संघीय सांसदले गर्नुपर्ने कामबारे बुझाएको छु । संघीय सांसदको रूपमा चाहिँ हाम्रो पार्टी सामान्य कलेज गएको जस्तो थियो । १०० नै (विदेश गएको बेला असम्भव हो), नत्र ८५ देखि ९० प्रतिशत सांसद संसद्मा उपस्थित भएको अभिलेख छ । अरू पार्टीहरूको चिरपरिचित नेताहरू २०/२५ प्रतिशतभन्दा बढी संसद् नै आउँदैनथे । संसदीय समितिमा पनि हामी उपस्थित भयौं । हरेक विधेयकको दफावार छलफलमा सहभागी भयौं । सक्रिय भूमिका निभायौं । आफूलाई त गज्जब गरिरहेको जस्तो लागेको थियो, तर स्थानीय तहमा यसको महत्त्व नै नहुने रहेछ ।

अर्को, स्थानीय विकासमा सांसदको आफ्नो कोष नभए पनि, फोन लगाएर, प्रभाव पारेर बजेट झारोस् भन्ने अपेक्षा रहँदो रहेछ । म उपनिर्वाचनबाट सांसद भएर आउँदा बजेट लगभग सकिइसकेको थियो । दोस्रो वर्ष एक अर्ब ६० करोड बराबरका स्थानीय आयोजना आए, जुन अघिल्ला वर्षहरूभन्दा धेरै हो । त्यो म मात्रले होइन, सबैले पहल गरे यहाँ आएको छ । तनहुँमा यसपालि झन्डै २ सय ७० करोड बराबरको आयोजनाहरू छन् । तर जम्मै टुक्रे आयोजनाहरू आए । त्यो पनि यस पटक जेन–जी आन्दोलनका कारण अर्थमन्त्रीले रोकिदिनुभएको छ ।

मेरो पनि प्राथमिकता टुक्रेभन्दा पनि रूपान्तरणकारी आयोजनाहरूमा हो । रातो किताबमा आएको २०० करोडको गण्डकी त्रिभुज योजना छ । जसमार्फत नारायणघाट, पोखरा र बुटवलमा ठूलै आयोजना अघि बढाउने प्राथमिकता हो । अरू साना अपेक्षाको सन्दर्भमा बुझाउँदै जानुपर्छ । अहिले सानो रोटी छ, त्यसमा सबैको लुछाचुँडी छ । स्थानीय गुनासोहरूलाई बुझाउनुपर्नेछ ।

Whose 'argument' gave what to the country? We are not talking about theoretical ramblings and arguments.

अर्कोतर्फ मतदाताहरूको अर्को गुनासो ‘यहाँ देखिनुभएन’ भन्ने छ । साँच्चै हामी नदेखिएका हौ त ? भन्दा देख्न त दिनदिनै देख्या छ नि भन्छन् । कहाँ देख्नुभयो ? भन्दा फोनमा भन्छन् । फोनमा कहाँ बोलेको देख्नुभयो ? भन्दा त्यहीँ काठमाडौंको संसद्मा भन्छन् । अनि त्यहीँ पठाएको होइन त ? भन्दा ‘हो’ भनेर बुझ्छन् ।

तपाईं राष्ट्रिय स्वतन्त्र पार्टीको उपाध्यक्ष हुनुहुन्छ र अहिले घोषणापत्र लेखनको जिम्मेवारी पनि लिनुभएको छ । यसको काम कसरी अघि बढिरहेको छ ?

सभापति रवि लामिछानेले स्वर्णिम वाग्ले पार्टीको पुँजी हो भनेर कार्यकर्तामा सकारात्मक सन्देश दिनुभएको हो । बजेट लेख्न पहिला चुनाव जित्नुपर्‍यो, अर्थमन्त्री हुनुपर्‍यो नि ।हामीले वाचापत्र भन्ने गरेका छौं । प्रारम्भिक खाकाको स्वरूप चितवनमा भएको विस्तारित बैठकमा नै पेस गरेको थिएँ । सुरुमा हामी प्रस्तावनाबाटै सुरु गर्छौं । हामीमाथि सैद्धान्तिक धरालत छैन, विचार नै छैन भने भ्रम दिने गरिएको छ । त्यसैले राजनीतिक, आर्थिक सोच के हो ? समाज, परराष्ट्र सम्बन्ध, डायस्परा, धर्म, संस्कृतिप्रतिको बुझाइ के हो ? जस्ता विषयलाई प्रस्तावनामै राख्छौं । अनि रास्वपा किन छान्नुपर्‍यो भन्ने आधारहरू प्रस्तुत गर्छौं । जसमा आशा र निषेधदेखि विस्फोट र भरोसासम्म छोटो इतिहास आउँछ । हामी कहाँ छौं ? कहाँ पुग्ने हो ? र, कसरी पुग्ने ? भन्ने ठूलो खण्ड आउँदै छ । त्यसमा काम भइरहेको छ । 

नेपालको अर्थतन्त्र, राजनीतिक चरित्र, हामीले खोजेको समाज, अन्य पर्यावरणीय चुनौतीहरूलगायत दस वटा झलकमा रास्वपाको बुझाइ राख्नेछौं । रास्वपा सरकारमा आएर शून्यबाट सुरु गर्ने होइन, राज्यको अविच्छिन्नतालाई निरन्तरता दिने काम हुन्छ । पार्टीहरू आउँछन्–जान्छन्, नेताहरू आउँछन्–जान्छन् । तर, राज्य स्थायी हो । राज्यले गरेको राम्रा कामहरूलाई निरन्तरता दिने काम हुन्छ । 

सय दिनका सय पहल हुनेछ । प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहले महानगरमा असाध्यै फलदायी अनुभव गरेको बुझाइ हाम्रो छ । खासगरी डेलिभरी र सदाचारको विषयमा उहाँले उदाहरणीय काम गर्नुभएको छ । एक खर्ब जतिको बजेट उहाँले चलाउनुभयो, तर अहिलेसम्म एक सुका रकम अपचलन भयो भनेर कसैले प्रश्न गर्न सकेको छैन । त्यसैले महानगरको डेलिभरी मोडललाई राष्ट्रिय स्वरूप दिनेछौं । अर्को, प्रधानमन्त्रीकै रूपमा उहाँले केही एजेन्डाहरू प्रस्तुत गर्नुहुन्छ । त्यसभन्दा अगाडि नागरिकसँग करार भनेर एक, दुई दिनमै नयाँ कार्यक्रम पनि ल्याउने योजना छ ।

संघीयता र धर्मको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रस्ट छैन भन्ने जनआवाज छ । संघीयताको विषयमा तपाईंले नै रास्वपाको संख्या र सामर्थ्य पुग्यो भने हामी प्रदेशसभा खारेज गर्छौं भन्नुभएको थियो । तपाईंको यो भनाइ कायमै छ ?

अहिलेको संविधानप्रति रास्वपाको पूर्ण बफादारी छ । संविधान नै पारित गरेका दलहरूको के कति अपनत्व छ, थाहा छैन, तर अहिलेको संविधानलाई हामीले स्वीकार गरेका छौं । संविधानमा चित्त नबुझेका कुरा त धेरै छन्, सुधार्नुपर्ने धेरै छन्, सुधार्ने बाटाहरू पनि संविधानमै छन् । त्यसकारण यसलाई फालौं, अर्को ल्याऔं भनेका छैनौं । संविधानमा संशोधनको विधि छ । धारा २७४ ले उल्लेखनीय जनमतको बलमा राष्ट्रिय सहमति बनाऊ, संविधान संशोधन गर भन्दिएकै छ । धारा २७५ मा जनमत संग्रहको प्रावधान छ । यसमा पनि, सबै पार्टीको सहमति भयो, जनताले पनि मागे भने जान सकिन्छ । यो दुइटा प्रावधानले गर्दा यो संविधान हामीले मानेको हो । यसैमा टेकेर जाँदाखेरि सुधार गर्न सकिन्छ भनेर मैले भनेको हो । 

Whose 'argument' gave what to the country? We are not talking about theoretical ramblings and arguments.

संघीयता पनि परिवर्तन गरौँ, गणतान्त्रिक ढाँचाबाट पनि बाहिर जाऔं भन्ने भयो भने वर्तमान संविधान नै टेकेर गर्नुपर्छ । कि १० लाख मान्छे उतारेर व्यवस्था परिवर्तनतिर जानुपर्छ, नभए अर्को विकल्प भनेको यही संविधानमै टेकेर सुधार, संशोधन गर्नुपर्छ । यसमा हामी स्पष्ट छौं । सुधार्नुपर्ने कुराहरू धेरै छन्, यहीँ टेकेर गर्ने हो भन्नेमा हामी प्रस्ट छौं । सुधार गर्ने विषय आउँदा संसद्मा उल्लेख संख्या र सामर्थ्यको कुरा आउँछ । संसद्मा १८४ जना सांसद चाहिन्छ । कांग्रेस–एमालेको सरकारले यो गरून् भन्ने हाम्रो अपेक्षा पनि थियो । गर्छौं भनेर सरकार बनाए तर यो एउटा नाटक मात्र रहेछ भन्ने पनि पुष्टि भइहाल्यो ।

२०७९ मा म रास्वपमा प्रवेश गर्नुभन्दा अगाडिको स्थिति र मेरो बुझाइ यही हो । त्यतिबेलाको आमगुनासो प्रदेशसभाको स्वरूप फेरौं भन्ने थियो । प्रदेश खारेज भनेको होइन । प्रदेशसभाको ठाउँमा स्थानीय तहलाई अझ मजबुत बनाऔं, सकिन्छ भने यो पनि एकीकृत गरौं भन्ने मेरो भनाइ हो । प्रदेशको ‘इन्टरमिडियरी’ भूमिका होस्, चुस्त होस्, समन्वयकारी भूमिका खेलोस् भन्ने हो ।

प्रदेशसभामा आफैं सिंहदरबारलाई नक्कल गरेर दोहोर्‍याउने काम नहोस् भन्ने हो । संघीय सरकारमा योजना आयोग छ, तल पनि योजना आयोग, माथि लोक सेवा आयोग छ, तल पनि लोक सेवा आयोग, माथि लगानी बोर्ड छ, तल पनि लगानी बोर्ड छ । यो भएन भन्ने हो ।

सबै संरचना भर्ती केन्द्र बन्यो भन्ने हाम्रो बुझाइ हो । यो पुराना पार्टीका नेता तथा कार्यकर्ताहरूको पार्किङ स्थल बनाइयो भन्ने हाम्रो बुझाइ हो । प्रदेशसभा भद्दा भयो । नक्कल गरेर सबै संरचनाहरू थोपर्दा बढी निराशा पनि आयो । सम्पूर्ण संघीय परियोजनामा विकेन्द्रीकरण आवश्यक छ । शक्तिको वितरण, शक्तिको विकेन्द्रीकरण, अधिकार हस्तान्तरणमा जानुपर्ने त यथार्थ हो । तर यो समस्याग्रस्त भयो । 

त्यसकारण मेरो प्रस्ट भनाइ संघीयताको सात प्रदेशीय ढाँचा रहन्छ, तर यहाँभित्रका बेथिति, विकृतिहरू हामीले सुधार्नैपर्छ । प्रदेशलाई झन् प्रभावकारी बनाउन पनि यी सुधारहरू आवश्यक छन् । प्रदेशसभाको आमूल सुधारका लागि खारेजी पनि हुन सक्छ । त्यसैले यो छरितो बनाउनुपर्छ ।

तपाईंहरूको घोषणापत्रमा यो खारेजीको कुरा आउँछ कि सुधारको ?

सुधारिएको प्रदेश संरचना आउँछ । खारेजीदेखि यसको वैकल्पिक स्वरूपबारे हामी बहस चलाउँछौं । तर यो सबै गर्नलाई सांसदको संख्या पुग्नुपर्‍यो । पहिला पनि यो विषय आएको हो । अहिले हुनुपर्ने स्पष्टचाहिँ के हो भने, अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली हामीले मानेका छौं, यसलाई भित्रैबाट सुधारेर जानुपर्छ । सुधार्नका लागि हाम्रो संख्या र सामर्थ्य पुग्नुपर्छ ।

आर्थिक नीति खासगरी निजी क्षेत्र र लगानीको विषयमा तपाईंहरूको नीति के हुनेछ ?

संविधानभन्दा माथि कोही छैन भनेर हामीले प्रस्तावना नै लेखिसकेका छौं । सामाजिक न्यायसहितको उदार अर्थनीति र सामाजिक बजार अर्थतन्त्रको पक्षमा छौं । सामाजिक बजार अर्थतन्त्रको अवधारणाअनुसार, जहाँ निजी क्षेत्रले नै ‘ड्राइभ’ गर्ने हो, रोजगारी सिर्जना गर्ने हो । १० मा झन्डै ८ देखि ९ रोजगारी त निजी क्षेत्रबाट आउँछ । जबकि, लोक सेवाबाट वार्षिक ५ हजार रोजगारी सिर्जना हुन्छ । निजी क्षेत्र र लगानीको विषयमा हामी प्रस्ट छौं । 

Whose 'argument' gave what to the country? We are not talking about theoretical ramblings and arguments.

कतिपयले बालेन्द्रलाई लोकप्रियतावादी भनेर दुत्कारेका छन् । जो मान्छेले नेपालको सेनापति र राष्ट्रपतिले प्रस्ताव गरेको प्रधानमन्त्रीमा जान चाहेन, यो मेरो आन्दोलन नै होइन भन्यो, उसलाई किन दुत्कार्ने ?तर हामी नियमनमा चुक्यौं । नियमनलाई खर्चिलो र भड्किलो राजनीतिको दोहनको साधन बनाउन थालियो । टेलिकम क्षेत्र नियमन गर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरण, नागरिक उड्डयन क्षेत्र नियम गर्नुपर्ने नागरिक उड्डयन प्राधिकरण, सेयर बजार नियम गर्नुपर्ने धितोपत्र बोर्ड, बिमा क्षेत्र नियमन गर्नुपर्ने बिमा प्राधिकरण विकृत बन्दै गए । पदहरू बिक्रीमा राखिए । 

राजनीतिक कब्जाले अदालत पनि दलीय छायामा पर्‍यो । निर्वाचन आयोगदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका संवैधानिक निकायहरू दलको कब्जामा भए । संसद् पनि रबर स्ट्याम्पसरह भयो । आर्थिक संस्थाहरू नै कब्जातिर लगियो । खुला अर्थतन्त्र भनेको छाडा अर्थतन्त्र होइन । यो आफैं वैध हुँदैन । यसलाई कसैले नियमन गर्नैपर्छ । बजारका नतिजाहरू आफैं वैधानिक हुँदैन । राज्यले भूमिका खेल्नुपर्छ । नियामक निकायहरू चाहिँ प्रतिस्पर्धा उन्मुख र प्रतिस्पर्धी अर्थतन्त्र बनाउनका लागि चाहिन्छ, त्यसमा हामी एकदम इमान्दारपूर्वक काम गर्छौं ।

खुला बजारदेखि निजी क्षेत्रमा प्रस्ट धारणा राख्नुभयो । तर, व्यवहारको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएलगत्तै राष्ट्रिय पुँजीपतिहरूमाथि धरपकड गर्ने काम भयो । अर्कोतर्फ, २४ भदौको तोडफोड, लुटपाट र आगजानीको निसानामा राष्ट्रिय पुँजीपतिका संरचनाहरू परे । जसमा तपाईंहरूले प्रस्ट विरोध जनाउनुभएन । यो आफैंमा विरोधाभास भएन र ? 

यो त विपक्षीहरूले लगाउने आरोप हो । रास्वपा सरकारमा भएका बेला कुनै धरपकड व्यक्तिगत थियो वा कानुनी थियो ? यसको कानुनी आधार थियो वा थिएन ? भन्ने कुरामा म अहिले जान चाहिनँ ।  त्यसलाई अहिलेलाई पन्छाऔं । तर २४ भदौको घटनामा हामीले खुला र स्पष्ट रूपमा भर्त्सना गरेका छौं । आगजनी क्रोनी पुँजीवादको प्रतीक बनेका पात्रहरूमाथि गरिएको घटना थियो, २३ गते १९ जना मारिएको प्रतिक्रियास्वरूप सुरु भएको थियो ।

त्यसपछि घुसपैठ भएर आपराधिक क्रियाकलाप भएका हुन् । यसमा हामी स्पष्ट बोलेका छौं, गलत नै हो भनेर । त्यो आपराधिकताको तहसम्म, दोषी भएको खण्डमा निर्मम कारबाही हुनुपर्छ । यसमा गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदन आएपछि थप स्पष्ट होला । एमाले र कांग्रेस सरकारले गरेको नरसंहारको विरुद्ध २४ गते आक्रोश व्यक्त भएको थियो । तर घुसपैठ भएर विकराल रूप लियो, विध्वंसको रूप लियो र जहाँ अपराधी चरित्र पनि देखिएको छ, त्यो कारबाहीको दायरामा आउनुपर्छ ।

हिजो (बिहीबार) मात्रै तपाईंले साइबर ब्युरोमा एउटा उजुरी दिनुभएको छ । त्यो उजुरी कसका विरुद्ध दिनुभएको हो ? भएको के थियो ? 

मलाई विभिन्न धार्मिक आरोप लगाउने काम भयो । मतदातालाई प्रभावित गर्न खोजियो । तत्काललाई नकारात्मक बनाउनेतिर संगठित प्रयास भइरहेको छ । २४ घण्टाको अवधिमा १३५ पटक मेरो विकिपिडिया पेज एडिट गरेछ । यो उटपट्याङ काम गरेको चाहिँ १०० मा एक जनाले मात्रै पत्याइदियो भने पनि मलाई क्षति हुन्छ । त्यसको गाम्भीर्यलाई बुझेर अरू दुष्प्रयासहरू नहुन् भनेर साइबर ब्युरोमा उजुरी दिएको छु । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभा सदस्य नै रहिछन्, यो फैलाउने मुख्य पात्र । मैले ‘एभिडेन्स’ सहित किटानी जाहेरी पनि दिएको हुँ ।

तपाईं वा जोकोहीमाथि यस्तो निन्दनीय कार्य हो । तर यो घृणाको राजनीति र सामाजिक सञ्जालमा बुलिङ गर्ने क्रियाकलापको बीजारोपण राष्ट्रिय स्वतन्त्र पार्टीले नै गरेको भन्ने आरोप छ । यसमा तपाईंको प्रतिक्रिया के रहन्छ ?

पार्टीको जिम्मेवार ओहदामा बसेको मान्छे हाम्रो नियन्त्रणमा हुन्छ । अनुशासनको डन्डा चलाउने, मूल्यांकन गर्ने, भावी अवसरहरूका बारेमा कुराकानी हुन्छ । अराजक पात्रहरूलाई छेकेका धेरै उदाहरण पनि छन् । अनुशासनको कारबाही गरेका उदाहरण धेरै छन् । माफी माग्न लगाइएका उदाहरण छन् । बागमती प्रदेशकै सभापतिले तीन पटक माफी मागिसक्नुभएको छ । तर आम शुभेच्छुकहरूमा चाहिँ हाम्रो नियन्त्रण हुँदैन । पार्टी सभापति रवि लामिछानेजीकै तहबाट पनि यो सन्देशहरू गएको छ । धेरै अराजक नबनौं भन्ने सन्देश दिएका छौं । 

तर अहिले म पनि त पीडित हो नि । मलाई आक्रमण गर्ने त हाम्रा पार्टीका हैनन्, मुख्य त तीन वटा दल छन् । पत्रकार नै भनिएका मान्छेहरू अहिले एक–एकओटा नेताको पछाडि गएर मेराविरुद्ध भ्रम छर्ने काम गरिरहेका छन्, कुप्रचार गरिरहेका छन् । यहाँका मेरा दुई प्रतिद्वन्द्वीका दाहिने हातका मान्छेहरूको पूरा काम नै त्यही छ । त्यस्ता मान्छेलाई मैले ब्लक गरिदिएको छु, हेर्नै परेन, शान्ति छ । त्यसकारण रास्वपा बढी अराजक भन्ने होइन, किनकि म यहाँ आफैं भोगिराखेको छु ।

Whose 'argument' gave what to the country? We are not talking about theoretical ramblings and arguments.

रास्वपाको उम्मेदवारले र रास्वपाका कार्यकर्ताहरूले एउटा पनि प्रतिस्पर्धीको नाम पनि लिँदैनौं । उच्च संस्कार हामीले देखाइरहेका छौं । यद्यपि विपक्षीहरूको कार्यकर्ताले चाहिँ ममाथि नै यो खालको मानमर्दन गरिरहेका छन् । पराजित उम्मेदवारहरूले तीन वर्षसम्म गाली गरेर बसिरहेका छन् । मैले आजसम्म उहाँहरूको नामै लिएको छैन । तर बेइमानी प्रयास गरिराखेका छन्, पार्टीको आधिकारिक जिम्मेवारीमा र ओहदामा बसेका पात्रहरूले । यो प्रवृत्तिलाई हामीले सुधार्दै लैजानुपर्नेछ । यसलाई हामीले  हाम्रातर्फबाट गम्भीरताका साथ लिने र सुधार्ने काम गर्छौं ।

सामाजिक सञ्जालको यो विकराल समस्यालाई कसरी सुधार गर्नुहुन्छ ?

यसलाई हामीले बुझेका छैनौं । यसको बहुआयाम छ । समाजमा कति मान्छे फेसबुकमा केक बेचेर करोडपति भएका उदाहरण छन् । फेसबुकबाटै गरगहना बेचेर पेसा कमाएका र व्यवसाय चलाएका छन् । खाली च्याट गर्ने, एकअर्कालाई लाइक गर्नेमा मात्रै सीमित छैन । एउटा नयाँ इकोसिस्टम नै जन्मिराखेको छ । त्यसैले यसमा अलि गहिरो अध्ययनबाट खोज्नुपर्छ । त्यसकारण यसलाई निषेधतिर जाने होइन । स्वनियमन पनि एउटा विधि हो । अर्कोतर्फ विश्वसनीय संस्थाहरूले तथ्य जाँच (फ्याक्ट चेक) को अभ्यास बढाउनुपर्ने देखिन्छ । 

यो काम असाध्यै विश्वसनीय संस्थाहरू, एकेडेमियाले गर्नुपर्ने हो । तर हामीकहाँ त सबैको विश्वसनीयता स्खलित भएर नै यो समस्या आएको हो । प्रोफेसरहरू, प्रोफेसर जस्ता छैनन् । रिसर्चहरू, रिसर्च जस्ता छैनन् । त्यसैले, यो क्रेडिबिलिटीको संकट हो । फ्याक्ट चेकका लागि समेत बलियो संस्था आवश्यक छ । 

मुख्य कुरा नागरिक चेतना नै हो । सामाजिक सञ्जालबाट नै भए पनि आपराधिक काम गरेको भए त्यसलाई कानुनी कारबाही नै गर्नुपर्छ । मौजुदा कानुनले समात्नुपर्‍यो । अहिले विद्युतीय कारोबार ऐन छ नि, त्यसैअनुसार कारबाही गर्नुपर्छ । मैले पनि यो अहिले न्यायिक निरूपण खोजेको छु । आपराधिक कार्यकारी त्यहाँबाट नियन्त्रण गर्नुपर्छ ।

विचारको बहुलता, विविधता, प्रोपोगन्डा, डिसइन्फर्मेसन, मिसइन्फर्मेसनलाई चाहिँ हामीले अलिकति क्रेडिबल च्यानलबाट सम्बोधन गरेर हेर्नुपर्छ । अतिवादमा गएर, निषेध नै गर्ने, रोक्ने भन्नेचाहिँ हाम्रो बहुलवादी लोकतान्त्रिक समाज र संविधानमा पनि लेखिएको कुरासँग मेल खाँदैन ।

तपाईं चुनावी अभियानमा हुनुहुन्छ । घोषणापत्र पनि लेखिरहनुभएको छ । कानुनी लडाइँमा पनि हुनुहुन्छ । अर्कोतर्फ पार्टी सभापति रवि लामिछानेले तपाईंलाई ‘अबको अर्थमन्त्री हो, बजेट लेख्न थाल्नुस्’ भन्नुभएको छ । बजेट लेखनको काम पनि भइरहेको छ ? 

त्यो तपाईंहरूले बुझिहाल्नुभएकै विषय हो । पार्टी सभापतिले एउटा सांकेतिक सदाशयता देखाउनुभएको हो । पार्टीभित्र मैले खेलिरहेको भूमिकाका बारेमा मूल्यांकन गरेर नै धारणा राख्नुभएको होला । त्यो ठाउँमा उहाँलाई उपयुक्त लाग्यो र भनिदिनुभएको हो । एउटा संकेत दिऊँ भन्ने लागेको होला उहाँलाई । रास्वपाले प्रधानमन्त्री पनि त घोषित गरिसकेको छ । त्यसैगरी उहाँले स्वर्णिम वाग्ले यो पार्टीको पुँजी हो भनेर आमकार्यकर्ताहरूमा भन्नुभएको सांकेतिक सकारात्मक सन्देश हो । औपचारिक होइन । बजेट लेख्न पहिला चुनाव जित्नुपर्‍यो, अर्थमन्त्री हुनुपर्‍यो नि ।

प्रधानमन्त्रीमा बालेन्द्र शाहको प्रसंग निकाल्नुभयो । रास्वपाबाट अन्य वैकल्पिक शक्तिहरूबीच वार्ता र एकीकरण गर्ने समितिमा तपाईं हुनुहुन्थ्यो । अन्ततः बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री र रास्वपाको वरिष्ठ नेताका रूपमा भित्र्याउनुभयो । खासमा बालेनलाई ल्याउँदा उनको क्रेजलाई उपयोग गरेर संख्या बढाउने रणनीति मात्रै हो कि विचारमा पनि एकरूपता भएर हो ?

पार्टीमा बालेन्द्रजीको समूहलाई संलग्न गर्दै गर्दा धेरै अरू वैकल्पिक शक्तिहरू पनि आइसकेका थिए । कुलमान घिसिङजीसँग पनि संवाद गरेकै हो । संवाद गर्नका लागि समिति मात्र होइन, उच्च संवाद समिति नै बनेको थियो । प्रमुख रूपमा धेरै आधारभूत कामका लागि शिशिर खनालजी र म अलि बढी लागेका थियौं ।

बालेनजीको सन्दर्भमा उहाँले रोजेको भए, चाहेको भए, अहिले नै देशको प्रधानमन्त्रीका रूपमा उहाँ बालुवाटारमा हुनुहुन्थ्यो । तत्कालीन समयमा आमसञ्चारमाध्यमले पनि उहाँलाई अग्रसर हुन भनेकै हुन् । बालेनजीले चाहेको भए र यी औसत राजनीतिज्ञ जतिको सोच राखेको भए, उहाँ प्रधानमन्त्री भइसक्नुहुन्थ्यो । कति टिकिन्थ्यो, थाहा थिएन । तर फोटो झुन्डिसकेको हुन्थ्यो, प्रधानमन्त्रीका रूपमा । यो यथार्थ हामीले स्वीकार गर्नुपर्छ ।

Whose 'argument' gave what to the country? We are not talking about theoretical ramblings and arguments.

तर उहाँले त्यसरी सोच्नुभएन । नेपाल धेरै अगाडि बढिसक्यो । अब यो तरिकाको परम्परागत गणना भत्किसक्यो । भत्कनुको कारण नयाँ प्रविधिहरू, जनसांख्यिकी अवस्था, युवातिर सोझिएको हाम्रो जनसांख्यिक बनोट नै हो । अर्कोतर्फ प्रवासीसमेत बलियो भइसकेका छन् । यी कुराले परम्परागत आकलनहरू भत्किसकेका छन् र अहिले नवयुवा वर्गको जुन उत्साह छ । त्यो उत्साह बालेनजीप्रति नै हो, उहाँप्रतिको आशा भरोसा छ । यस्तै आशासहित शंकाको सुविधा अरूले नपाएका होइनन् ।

२०४८ मा नेपाली कांग्रेसले अत्यधिक समर्थन पाएको हो । ०६४/६५ सालतिर पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुराम भट्टराईले पाएका हुन् । भारतले लगाएको नाकाबन्दीपछि केपी शर्मा ओलीलाई जनताले साथ दिएकै हुन् । अब यो अहिले जनसांख्यिक बहुल्य राख्ने युवा र नवयुवा वर्गको ठूलो आशा र भरोसा बालेन्द्र शाहतिर सोझिएको देखिन्छ ।

हामी प्रजातन्त्रवादी हौं भने, यसलाई अन्यथा लिन हुन्न । तर, कतिपयले लोकप्रियतावादी भनेर दुत्कारेका छन् । जनतामा परिक्षित भएर आउने हो । जो मान्छेले नेपालको सेनापति र राष्ट्रपतिले प्रस्ताव गरेको पद प्रधानमन्त्रीमा जान चाहेन, यो मेरो आन्दोलन नै होइन भन्यो, उसलाई किन दुत्कार्ने ? म राष्ट्रिय राजनीतिमा आउन पर्‍यो भने चुनाव लडेर आउँछु भनेर भनेको छ । उहाँको प्रजातान्त्रिक चरित्र त्यहाँबाट पनि देखिन्छ । यद्यपि धेरै संवाद नगर्ने भएर अलि खुलेन, अलि अस्पष्ट भयो, अलि रहस्यमय भयो भन्ने आलोचना छ । त्यसलाई उहाँले चिर्नुहुन्छ । 

कुलमानलाई सुरुमा रवि लामिछानेजी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सम्भावना नहुँदा तपाईंको सम्भावना हुन्छ भनेको हो । उपसभापति लिनुहोस् र सम्भावित प्रधानमन्त्रीका रूपमा अघि बढ्नुहोस् भनेको थिएँ । तर, उहाँको महत्त्वाकांक्षाको दायरा अलि फराकिलो बनिदियो र समस्या भयो । पछिल्लो उदाहरण जनकपुर सम्बोधन हो । त्यहाँ मैले पनि बोलेँ, के बोलेँ आफैंले फर्केर हेर्नुपर्छ, भिडियो । रवि लामिछानेले के बोल्नुभयो, सायद धेरैले बिर्सिसके होलान् । तर बालेन्द्र शाहले ७–८ मिनेट बोलेको विषय सबैलाई कण्ठ छ । गहन सन्देश दिनुभएको छ । मलाई लाग्छ, फागुन ४ पछि आमसभा आयोजना गरेका छौं । उहाँले आफ्ना कुराहरू स्पष्ट राख्नुहुन्छ । यो घोषणापत्रकै क्रममा पनि आउँछ । 

त्यसकारण उहाँ दल लिएर आउनुभएको होइन । व्यक्ति आउनुभयो । व्यक्तिसँगै एउटा सहयोगी समूह लिएर आउनुभयो । यो समायोजनको प्रक्रिया अरूले सोचेभन्दा राम्रोसित भइरहेको छ । उहाँले पनि पुरानो दलीय भागबन्डाको शैलीमा कति पनि हेर्नुभएको छैन । अहिले निर्वाचनको सिट वितरणदेखि लिएर पदीय भागबन्डामा केही छैन । त्यस मानेमा उहाँ अलि फरक राजनीतिज्ञ नै हो भन्ने हामीलाई पनि लाग्छ । त्यो यथार्थ स्वीकार गर्ने र विचार मिल्ने भएर हामी एक भएका हौं । यो राजनीतिक संस्कार पनि हामी बदल्न खोजिरहेका छौं । त्यस मानेमा, मैले पनि उहाँसँग दुई–तीन घण्टा अर्थनीतिका बारेमा कुरा गरें । यो–यो गरेँ भने दुई महिनामा सकिन्छ ? तीन महिनामा सकिन्छ ? भन्नेमा उहाँको प्रस्ट विचार छ ।

तपाईंहरूले निकै प्रयास गरे पनि कुलमान घिसिङ अन्ततः रास्वपामा अटाउनु भएन । तपाईं आफैंले उहाँसँग लामो लामो छलफल गर्नुभयो, सम्झौता पनि भयो, तर लामो समय टिक्न सक्नु भएन । खासमा उहाँ रास्वपामा किन अटाउन सक्नु भएन ? 

कुलमानप्रति व्यक्तिगत रूपमा मेरो सदाशयता छँदै छ, उहाँ मेरो असल मित्र हो । सबैभन्दा पहिले सुरुमा मैले उहाँलाई रवि लामिछानेजी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सम्भावना नहुँदा तपाईंको सम्भावना हुन्छ भनेको हो । उपसभापति लिनुहोस् र सम्भावित प्रधानमन्त्रीका रूपमा अघि बढ्नुहोस भनेको थिएँ । तपाईंप्रति समाजको ठूलो तप्काले आशा गरेका छन् रास्वपामा आउनुस् भनेर भनेको हो ।

एउटा बिन्दुमा सकारात्मक हुनुभएको थियो । तर, उहाँको महत्त्वाकांक्षाको दायरा अलि फराकिलो बन्दियो र समस्या भयो । पार्टीमा नै कार्यकारी नेतृत्व नै माग गर्नुभयो । लामो समयसम्म उहाँसँग वार्ता नै गरेनौं । समानुपातिकको उम्मेदवार बुझाउने अन्तिम समयमा आएर नाटकीय ढंगले जेन–जी अभियन्ताहरूको दबाबमा उहाँ ल्याइनुभयो । त्यति अर्गानिक खालको सम्झौता हुन पाएको थिएन । टिकेन पनि ।

तपाईंले नेपाली कांग्रेसमा भावी प्रधानमन्त्रीका रूपमा देख्नुभएका युवा नेता गगन थापा अहिले पार्टीभित्रै विद्रोह गरेर नेतृत्वमा आउनुभएको छ । उहाँले २७–३० पुसको विशेष महाधिवेशन गरेर आएको कांग्रेस जतिको नयाँ दल अरू कुनै छैन भन्नुभएको छ । यसलाई कसरी हेर्नुभएको छ ? 

धेरै कुरा नगरौं । त्यस्तो दाबी गर्नुलाई मैले अन्यथा लिएको छैन । व्यक्तिको अनुहार मात्रै नयाँ होइन, प्रवृत्ति र चरित्रको कुरा महत्त्वपूर्ण हुन्छ । उहाँ कुन लेगेसीबाट आउनुभयो भन्नेबारेमा अहिले सामाजिक सञ्जालमा देखिएको छ । ‘बाटो ढुकेर कलेज प्रमुखलाई पिट्’ भन्ने संस्कार त्यहाँ देखिन्छ । यद्यपि पुस्तान्तरणको सन्दर्भमा कांग्रेसले जुन प्रयत्न गर्‍यो, त्यसलाई नकारात्मक रूपमा लिन हुन्न । तर पनि टिकट वितरणमा कतिपय ठाउँमा भ्रष्टहरूलाई टिकट दिइएको छ । त्यसकारण धेरै कुरा नगरौं ।

कांग्रेस मात्रै नभएर पुराना दलहरूप्रति तपाईं र रास्वपाको दृष्टिकोण के छ ?

कांग्रेस लामो समयसम्म कसरी वामपन्थीकरण हुने भन्नेमा रह्यो । माओवादीलाई पछ्याउँदा पछ्याउँदा यो भुंग्रोमा गएको हो । कांग्रेसको दुई वटा घोषणापत्रमा त मेरो पनि भूमिका छ । अरू दलप्रति धारणा राख्नैपर्छ भन्ने कम्युनिस्ट चरित्र हो । घोषणापत्रमा कर्मकान्डी रूपमा लेख्नैपर्ने अवस्था हुन्थ्यो । बोल्ने एउटा, काम गर्ने एउटा, लेख्नुपर्ने एउटा, विश्वसनीयता नै थिएन । त्यसैले हामी अरू दलका बारेमा घोषणापत्रमा केही लेख्दैनौं । कुन कस्तो धरातलमा छ त्यो सबैलाई थाहा भइसकेको छ । हामी सकारात्मक उपलब्धिलाई दोर्‍याउँछौं ।

राजनीतिक स्वतन्त्रता र लोकतन्त्रका लागि पहिला गरिएको संघर्षलाई सम्मान गर्छौं । सुशासनको पक्षमा जेन–जी पुस्ताले गरेको हस्तक्षेपलाई पनि समेट्छौं । वाम आन्दोलनलाई पनि सम्मान गर्छौं । आर्थिक एजेन्डाको विषयलाई सुशासनको जगबाट प्राथमिकता दिएर जान्छौं । गुणस्तरीय रोजगारी दिने योजना ल्याउँछौं । खोल्न नसकेका सम्भावनाहरू खनिजदेखि आईटीसम्मका क्षेत्रलाई हेरेर यथार्थपरक योजना ल्याउँछौं । हावाधारी घोषणा आउँदैनन् । 

मूलधारका नेताहरू ‘ब्यागेज’ का भारी बोकेर हिँडेका छन् । हामी राम्रो विषयलाई निरन्तरता दिन्छौं । नयाँ विषय ल्याउँछौं । डेलिभरीमा सुधार गर्छौं । धेरै सैद्धान्तिक रटान र वादका कुरा गर्ने छैनौं । यिनका वादले ३५ वर्षदेखि के दिए ? नयाँका लागि नयाँ होइन । करारनामामा हामी नयाँपन दिँदै छौं । नेतृत्वमा पनि बालेन्द्र शाह, रवि लामिछाने र हामीहरू शीर्ष तहबाट एउटा छनक दिइरहेका छौं । फरक फरक पृष्ठभूमिमा आएका २१ जना सांसदहरूले देखाएको प्रस्तुतिले पनि देखाउँछ । अब नीतिभन्दा नियत र नेतृत्वकै विषयमा हामी केन्द्रित छौं ।

कान्तिपुर

Link copied successfully