धनगढी–५ तारानगरकी उमा बोहरालाई घरमा मत माग्दै आउने उम्मेदवारका आश्वासनप्रति कुनै आकर्षण छैन । ‘सबै उम्मेदवार आश्वासन मात्रै बाँड्छन्, तर काम गर्दैनन्,’ उनले भनिन्, ‘यसपालि बहुत ख्याल गरेर मतदान गर्ने हो ।’
What you should know
धनगढी/बैतडी — आगामी फागुन २१ मा हुने निर्वाचनका लागि सुदूरपश्चिमका पहाडी जिल्लामा विभिन्न दलका उम्मेदवारले गत सातादेखि नै घरदैलो अभियान सुरु गरिसकेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बिहीबार बाजुरा सदरमुकाम मार्तडी पुग्दा रास्वपा बाजुराका उम्मेदवार हेमराज थापा भने दुर्गम क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका विभिन्न गाउँमा मत माग्दै घरदैलो अभियानमा थिए । आफू दुर्गम क्षेत्रमा घरदैलोमा भएकाले सदरमुकाम आउन नसकेको उम्मेदवार थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए । उनी उम्मेदवारी दर्तालगत्तै पूर्वोत्तर कोल्टी क्षेत्रका विकट गाउँबस्तीमा घरदैलो अभियानमा छन् ।
बाजुरामा कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाह एक साताअघिदेखि नै पूर्वोत्तर कोल्टी क्षेत्रमा घरदैलोमा पुगेर मत मागिरहेका छन् । एमाले उम्मेदवार लालबहादुर थापा गौमुल गाउँपालिकामा भेटघाट गरेर शनिबारदेखि खप्तड छेडेदह गाउँपालिकामा घरदैलो गरिरहेका छन् । कांग्रेस उम्मेदवार जनकराज गिरीले सोमबारदेखि घरदैलो सुरु गर्ने बताए ।
बाजुरामा हालसम्म कुनै पनि उम्मेदवारले विगतजस्तो चुनावी घोषणा–पत्र भने तयार गरेका छैनन् । घरदैलोमा पुग्ने उम्मेदवारहरूले आ–आफ्नै ढंगले मत मागिरहेका छन् । नेकपा उम्मेदवार प्रकाश शाहले विगतमा आफू प्रदेश सरकारको मन्त्री हुँदा बाजुरामा सडक, खानेपानी, विद्यालय, सिंचाइ आयोजनालगायत विकास पूर्वाधारमा प्रदेशमै सबैभन्दा बढी बजेट विनियोजन गरेको र आगामी दिनमा अझ बढी योगदान गर्ने बताउँदै मत मागिरहेका छन् । यस्तै एमाले उम्मेदवार लालबहादुर थापाले राष्ट्रियता संकटमा परेकाले एमालेलाई जिताउनु पर्ने भन्दै मत मागिरहेका छन् ।
रास्वपा उम्मेदवार हेमराज थापाले बाजुरा विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेकाले आफूले बाजुराको विकासका लागि जोडदार आवाज उठाउने भन्दै मत मागिरहेका छन् । मतदातासमक्ष उम्मेदवारहरूले कृषि, स्वास्थ्य, सडक, पुल, खानेपानी, युवा रोजगारीका सवाललाई पनि चुनावी नारा बनाइरहेको स्थानीय मतदाता बताउँछन् ।
बाजुरामा आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएका उपेन्द्र शाही, राप्रपाबाट केशरबहादुर शाही र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट दीपक डीसी उम्मेदवार छन् ।
सुदूरपश्चिमको अर्को पहाडी जिल्ला बैतडीका उम्मेदवारहरू पनि घरदैलो अभियानमा छन् । एमाले उम्मेदवार दामोदर भण्डारीले पहिलो चरणमा सबै पालिकामा भेटघाट भ्याएर दोस्रो चरणको घरदैलो अभियान चलाइरहेको बताए । हरेक पालिकामा अलग–अलग टोली बनाएर मतदाता भेटघाट चलिरहेको एमाले जिल्ला अध्यक्ष नरेश विकले सुनाए ।
कांग्रेस उम्मेदवार चतुरभुज चन्दले पनि पुर्चौडी नगरपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । मतदाताका माग सुन्न भेटघाट गर्न उम्मेदवारसहितको टोलीले पुर्चौडीबाट अभियान थालेको कांग्रेस बैतडीका कोषाध्यक्ष दीपेन्द्रबहादुर चन्दले बताए । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार परमानन्द भट्टसमेत घरदैलो अभियानमा छन् । सोमबारदेखि उम्मेदवारको टोली सिगास गाउँपालिकामा घरदैलो अभियानमा जुट्ने नेकपा बैतडीका नेता लक्ष्मी जोशीले बताए ।
रास्वपा उम्मेदवार हरिमोहन भण्डारीको टोलीले पनि जिल्लाका सबै स्थानीय तहमा वडास्तरीय भेटघाट अभियान थालेको रास्वपा नेता भोजराज जोशीले बताए । यस्तै, राप्रपाका उम्मेदवार भूपेन चन्दले पनि पहिलो चरणको भेटघाट सकेर मंगलबारदेखि दोस्रो चरणको घरदैलो अभियान सुरु गर्ने जिल्ला अध्यक्ष इन्द्रदेवश्रण भट्टले बताए ।
मतदातालाई आश्वासनको भर लाग्दैन
कैलालीका विभिन्न निर्वाचन क्षेत्रमा पनि उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् । तर प्रचारप्रसारका क्रममा मत माग्दै घरघरमा आउने उम्मेदवारले दिने आश्वासनमा भने मतदाता विश्वास गर्दैनन् ।
धनगढी–५ तारानगरकी उमा बोहरालाई घरमा मत माग्दै आउने उम्मेदवारका आश्वासनप्रति कुनै आकर्षण छैन । ‘सबै उम्मेदवार आश्वासन मात्रै बाँड्छन्, तर काम गर्दैनन्,’ उनले भनिन्, ‘यसपालि बहुत ख्याल गरेर मतदान गर्ने हो ।’
विगतका चुनावमा पनि सेती अस्पताललाई सयौं बेडमा स्तरोन्नति गर्ने आश्वासन दिए । तर आसन्न निर्वाचनका उम्मेदवार पनि त्यही आश्वासन दिइरहेका छन् । ‘अहिले त झन् कतिपय उम्मेदवार गेटा मेडिकल कलेज, फाप्ला क्रिकेट रंगशाला निर्माण, धनगढी विमानस्थल स्तरोन्नतिको एजेन्डा सुनाइरहेका छन्,’ धनगढी सन्तोषी टोलका मीनबहादुर खड्काले भने, ‘तर झट्ट पत्यार लागिरहेको छैन ।’
