लिमीका तीन गाउँमध्ये तील र हल्जीमा मात्र गाउँ कुरुवा छन् भने जाङ गाउँका सबै घरमा ताला लागेको छ ।
What you should know
सुर्खेत, ताप्लेजुङ र गोरखा — हुम्लाको नाम्खा गाउँपालिका–५ हिल्सा र ६ नम्बर वडाको लिमीमा गत शनिबारको भारी हिमपातले आउजाउ बन्द भएको छ । सदरमुकाम सिमकोटसँग ती गाउँको सम्पर्क विच्छेद छ । सदरमुकामबाट लिमी र हिल्सा जान झन्डै ५ हजार मिटरका न्यालु र नारा लेक काट्नुपर्छ ।
‘अहिले कम्तीमा तीन फिट हिउँ छ,’ नाम्खा–५ का वडाध्यक्ष पाल्जोर तामाङले फोनमा भने, ‘अब हिउँ नबिलाउन्जेलसम्म आउजाउ नै बन्द भयो ।’ लिमीका तीन मतदान केन्द्रमा ६ सय ७२ मतदाता छन् । त्यसमध्ये गाउँमा मुस्किलले सय जना रहेको उनले बताए । स्थानीय जाडो छल्न तथा व्यापार–व्यवसाय र अध्ययनका लागि घरबाहिर गएका हुन् ।
लिमीका तीन गाउँमध्ये तील र हल्जीमा मात्र गाउँ कुरुवा छन् भने जाङ गाउँका सबै घरमा ताला लागेको छ । हिल्सामा रहेका झन्डै ५० घरधुरी पनि अहिले मानवविहीन छन् । हिमपातअघि हिल्सामा करिब दुई दर्जन होटल सञ्चालनमा थिए । सिमकोट–हिल्सा सडक कात्तिक दोस्रो सातादेखि बन्द छ ।
लिमीमा कात्तिकमा दुईपल्ट हिमपात भएको थियो । ‘पुसमा भने हिउँ परेको थिएन, माघमा फेरि ठूलो हिउँ प¥यो,’ चिसो छल्न सुर्खेतको वीरेन्द्रनगर आएका लिमीस्थित हल्जीका ग्याल्जेन तामाङले भने, ‘नारा र न्यालुको हिउँ बिलाउन कम्तीमा दुई महिना लाग्छ, त्यो बेलासम्म चुनाव भइसक्छ, घर फर्कनै समस्या भयो ।’ वीरेन्द्रनगरमा भेटिएका हिल्साका कुन्साङ तामाङले यसपालि भोट हाल्न नपाइने हो कि भन्ने चिन्ता भएको बताए । हिमपात भएपछि आफ्नै गाउँमा प्रचार गर्न जान नसकिएको रास्वपाकी उम्मेदवार टासी ल्हान्जोमले बताइन् ।
लिमीका तीनवटा र हिल्सामा एक मतदान केन्द्र छन् । ती मतदान केन्द्रमा मतदान सामग्री पु¥याउन हेलिकोप्टर चार्टरको विकल्प नभएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । ‘हिमाली जिल्लामा फागुनमा चुनाव गराउनु अव्यावहारिक छ,’ उनले भने, ‘मतदाता पनि न्यून छन्, प्रचारमा पनि समस्या देखियो ।’ उनका अनुसार लिमीका तीनमध्ये भृकुटी प्रावि मतदान केन्द्र जाङगाउँमा मतदाताको संख्या शून्य छ । ‘उनीहरू हिउँ पर्नुअघि नै चिसो छल्न बाहिर गइसके,’ उनले भने, ‘अरू गाउँमा पनि कुरुवा मात्र बसेका छन् ।’ यही अवस्थामा मतदान भए हिमशिखर प्रावि लितगाउँ र सुनखानी प्राविको मतदान केन्द्रमा भने ३० देखि ४० प्रतिशत मात्र मत खस्ने उनको अनुमान छ ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार उच्च हिमाली बस्तीका २० वटा मतदान केन्द्रमा अत्यधिक हिमपात हुन्छ । ती क्षेत्रका झन्डै ४ हजार मतदाता बाहिर रहेको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले अत्यधिक चिसो हुने कर्णालीका १० वटा प्रहरीचौकी कात्तिक दोस्रो सातादेखि जिल्ला प्रहरी कार्यालयमै विस्थापित भएको बताए । ‘ती चौकीहरू गाउँ फर्काउन पहल थालिएको छ,’ उनले भने, ‘अबको दुई साताभित्र सबै चौकी पुनःस्थापित भइसक्छन् ।’
मुगुको मुगमकार्मारोङ गाउँपालिकास्थित मुगुगाउँ, कीर्ति, डोल्फु, किम्री, कार्तीलगायत गाउँका अधिकांश मानिस बाहिर छन् । मुगुगाउँका मात्रै झन्डै ४ सय जना जाडो छल्न गाउँबाहिर गएको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘अरू गाउँमा धेरैजसो घरमै छन्,’ उनले भने, ‘केही पालिकाको केन्द्र पुलु आसपासका गाउँमा बसिरहेका छन्, गमगढी गएकासम्मलाई गाउँ फर्काउन सकिएला, जिल्ला बाहिरकालाई त कसरी फर्काउने हो र ?’ उनले मुगुगाउँमा गुम्बाका पुजारीमात्र रहेको जानकारी दिए । शनिबार भएको हिमपातका कारण ती गाउँमा झन्डै दुई फिटसम्म हिउँ जमेको उनले बताए । उच्च हिमाली बस्तीका वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारीलाई पालिकाको केन्द्र पुलु बोलाइएको उनको भनाइ छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सुरक्षा निकायमार्फत कति मतदाता बाहिर छन् भन्ने तथ्यांक संकलन गर्न थालिएको बताए । उनका अनुसार बढी हिमपात हुने मुगमकार्मारोङका ५ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपेटिका र निर्वाचन सामग्री ओसार्नुको विकल्प नभएको बताए । ‘ती मतदान केन्द्रसम्म जान सडक सुविधा छैन, हिमपात भइरहने क्षेत्र भएकाले बोकाएर पठाउन सकिँदैन,’ उनले भने ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले मतदान आउन एक महिनाभन्दा बढी बाँकी भएकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले मतदाता शिक्षा र प्रचारको काममा भने केही समस्या आउने बताए । उनका अनुसार लिमीमा झन्डै ५० प्रतिशत मानिसले गाउँ छोडेका छैनन् । ‘अहिले तराईतिर जानेभन्दा पनि यता आउनेको फ्लो बढिरहेको छ,’ उनले भने, ‘मतदानको दिनसम्म हिउँ पनि बिलाउला, बाटोघाटो पनि खुल्ला ।’
गत प्रतिनिधिसभा निर्वाचनमा लिमीका ३ मतदान केन्द्रमा ७२ प्रतिशत मतदान भएको थियो । फागुन पहिलो सातासम्म अधिकांश मतदाता फर्किसक्ने उनको दाबी छ । लिमी प्रहरी चौकी पनि फर्काउने तयारी भइरहेको उनले जानकारी दिए । १ फागुनदेखि नाम्खाका विद्यालय खोल्ने गाउँपालिकाले तयारी गरेको छ । ‘विद्यालय खुलेपछि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सहज होला,’ गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले भने, ‘चुनावसम्म मतदातालाई गाउँमा फर्काउन पहल भइरहेको छ ।’
घुन्साका मतदाता फागुन दोस्रो सातासम्म गाउँ फर्कने अपेक्षा
३१ सय मिटर उचाइमा रहेको घुन्सा आधारभूत विद्यालय फागुन १० देखि खुल्ने भएको छ । विराटनगरमा रहेका प्रधानाध्यापक विद्यानन्द सिंहले ९ फागुनमा घुन्साको बस्तीमा पुगेर भोलिपल्टदेखि विद्यालय खुलाउने जानकारी दिए । उनको बुझाइमा विद्यार्थी भने १८÷२० गतेपछि मात्र विद्यालय पुग्नेछन् । ‘६ फागुनमा शेर्पा समुदायले मनाउने ल्होसार छ,’ सिंहले भने, ‘अहिलेसम्मको ट्रेन्ड हेर्दा ल्होसार मनाएपछि बल्ल फर्कने सुरसार हुन्छ, १५ गतेसम्म गाउँका मान्छे बस्तीमा पुग्ने सम्भावना देखिन्छ ।’ घुन्साका आधा बढी मानिस यतिबेला ताप्लेजुङबाहिर काठमाडौं, धरान, भारतको दार्जिलिङलगायतका स्थानमा छन् ।
३१ सय मिटर उचाइकै अर्को बस्ती ओलाङचुङगोलाका बासिन्दा आधाजति बस्तीमै छन् । यहाँका बासिन्दा बस्ती नै रित्याएर बाहिर जाँदैनन् । तर चिसोयाममा खासै काम नहुने भएकाले आफन्त भेटघाटलगायतका लागि सदरमुकाम फुङलिङ, राजधानी काठमाडौंतिर जान्छन् । उनीहरू प्रायः फागुन सुरु भएपछि मात्र फर्कन्छन् ।
जिल्लाकै उच्च स्थानमा रहेको ४२ सय मिटर उचाइको याङ्माका बासिन्दा भने गाउँमै छन् । हरेक वर्षको हिउँदयाममा चेने भन्ने स्थानमा झर्ने उनीहरूले गत वर्षदेखि बस्तीमै बस्ने अभ्यास थालेका हुन् । यो वर्ष पनि उनीहरू बस्तीमै छन् ।
निर्वाचनका लागि जिल्लाका उच्च स्थानमा रहेका मतदान केन्द्र यिनै हुन् । ‘ल्होसार मनाएर बस्ती फर्कने भएकाले मतदाताका तर्फबाट समस्या देखिँदैन, त्यो बेला हिउँ परेको खण्डमा मतदान गराउने कर्मचारीका लागि समस्या हुन सक्छ,’ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, ‘पहिल्यैदेखि भोट माग्न नेताहरू बस्तीसम्म पुग्दैनन्, स्थानीय तहबाहेकको चुनावमा बाहिर रहेका मतदाता पनि आउँदैनन् ।’ याङमामा ६१, ओलाङचुङगोलामा २ सय ७६ र घुन्सामा १ सय ६६ मतदाता छन् । तर अघिल्लो निर्वाचनमा याङमामा १३ र ओलाङचुङगोलामा ९६ मत मात्र खसेको थियो । ओलाङचुङगोला र घुन्सामा यस वर्ष पनि एक सय हाराहारी मत खस्ने वडाध्यक्षहरूको अनुमान छ ।
गोरखामा प्रचारदेखि मतपेटिका ढुवानीसम्मको चुनौती
भौगोलिक विकटता रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा निर्वाचनको माहोल छैन । ६ माघमा उम्मेदवारी दर्ता भए पनि कुनै पनि उम्मेदवार
हिमाली गाउँका बस्ती पुगेका छैनन् । हिमालको काखमा रहेको बस्ती चुमनुब्री वडा १ को साम्दो र सामागाउँ, वडा २ को ल्हो, वडा ७ को छेकम्पारका अधिकांश बासिन्दा यतिखेर चिसो छल्न काठमाडौं, पोखरा लगायतका सहरमा छन् । कात्तिक अन्तिम साता बेंसी झरेका मतदाता निर्वाचन छेको पारेर गाउँ फर्कने तयारीमा छन् ।
निर्वाचनअघि फागुन पहिलो साता ग्याल्वो ल्होसार पर्ने भएकाले स्थानीय चाडपर्व मनाउन गाउँ फर्कने चुमनुब्रीका अध्यक्ष निमा लामा बताउँछन् । ‘नेपालकै चौथो ठूलो गाउँपालिका हो, छरिएका बस्ती छन्, उम्मेदवारलाई पनि एक गाउँबाट अर्को गाउँ पुग्न एक दिन समय लाग्छ,’ उनले भने, ‘सबै गाउँ पुग्छु भन्दा त उम्मेदवारले नभ्याउन सक्छ, वडासम्म पुगेर प्रचार, कार्यकर्तामार्फत घरदैलो गर्ने यसअघिको चलन छ ।’ मौसमका हिसाबले पनि २१ फागुन असान्दर्भिक देखिएको उनले बताए । ‘चिसो सकिएको हुँदैन, कहिले काहीं हिउँ पनि परिदिन्छ,’ उनले भने, ‘निर्वाचन नै घोषणा भइसकेपछि मतदानमा समस्या त पर्दैन, मतदानपछि मतपेटिका ढुवानीमा भने हेलिकोप्टर चाहिन सक्छ ।’
गोरखा–१ को निर्वाचन अधिकृतको कार्यालय गोरखा सदरमुकाममा छ । निर्वाचन अधिकृतको कार्यालयबाट चुमनुब्री–१ सामागाउँको मतदान केन्द्र पुग्न एक दिन सवारी यात्रा र तीन दिन पैदल गरी कम्तीमा ४ दिन लाग्छ । त्यस्तै छेकम्पारको मतदान केन्द्र पुग्न पनि एक दिन सवारी र दुई दिन पैदल हिँडनुपर्ने बाध्यता छ । विगतको अनुभवका आधारमा पनि मतपेटिका ढुवानीमा हेलिकोप्टरको माग गर्न छलफल चलिरहेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइराला बताउँछन् । अहिले निर्वाचन तयारी तीव्र पारिएको उनले बताए । ‘उत्तरी क्षेत्र भौगोलिक हिसाबले विकट छ, विगतको निर्वाचनको अनुभव हेरेर हामीले तयारी गरिरहेका छौं,’ कोइरालाले भने, ‘चिसोका कारण मतदाता बेंसी झरेका छन्, निर्वाचन जस्तो महान् कार्यमा पक्कै पनि मतदाता गाउँमै फर्कनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’
भौगोलिक दूरीका हिसाबले अपायक परेपछि चुमनुब्री–६ को खार सामुदायिक खोप केन्द्र खार मतदानस्थल थप गरिएको छ । चुम्लिङ आधारभूत विद्यालयका १ सय १९ मतदाता थपेर मतदानस्थल थप गरिएको हो । चुमनुब्रीका अझै पनि कतिपय मतदानस्थल पुग्न मतदातालाई ४ देखि ५ घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ ।
