रूपन्देही–२ मा पाका पौडेलद्वयलाई चुनौती तेर्स्याउँदै युवा उम्मेदवार

३१ वर्षदेखि सक्रिय राजनीतिमा रहेका एमालेका पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु ३९ वर्षे विश्वदीप, २८ वर्षे सुलभ, ३२ वर्षे कमल र ६० वर्षे चुन्नसँग प्रतिस्पर्धामा होमिएका छन् ।

माघ १२, २०८२

घनश्याम गौतम

Young candidate challenges the incumbent Poudel duo in Rupandehi-2

What you should know

बुटवल — संविधानसभा निर्वाचन २०६४ देखि निरन्तर नेकपा एमालेको किल्लाजस्तै बन्दै आएको रूपन्देही–२ यस पटक पनि चर्चामा छ ।

 निरन्तर अपराजित नेतृत्व एवं पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले पाल्पा जाने निर्णय परिवर्तन गर्दै रूपन्देही–२ मै फर्किएपछि यहाँको चुनावी तरंग फेरिएको छ । पौडेललाई व्यवसायीदेखि स्वतन्त्रसम्मले चुनौती थपेका छन् ।

संसदीय राजनीतिमा पौडेल ३१ वर्षदेखि सक्रिय छन् । त्यसको २६ वर्षे राजनीति रूपन्देहीमा केन्द्रित छ । २०५१ को आमनिर्वाचनमा बुटवलका व्यवसायी एवं राजनीतिक सूर्यप्रसाद प्रधानसँग पराजित भएका पौडेलले २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीका भक्ति पाण्डेलाई २ हजार ४ सय ५९ मतले पराजित गरेका थिए ।

पौडेलले १५ हजार ८ सय ८० मत ल्याएका थिए । त्यसयताका १८ वर्ष पौडेल रूपन्देहीको संसदीय यात्रामा अपराजित छन् । रूपन्देहीबासीले जसरी पौडेललाई मत दिए, त्यसैगरी उनले पनि यहाँको पूर्वाधार र आर्थिक विकासमा उत्तिकै योगदान गरिरहेका छन् । 

पुराना दललाई अहिले नयाँ राजनीतिक शक्ति, युवा पुस्ताका उम्मेदवार र फेरिएको मतदाताको आकांक्षाले चुनौती थपेको छ ।तर, अहिलेको प्रतिनिधि सभाको निर्वाचनमा उनलाई १८ वर्षे यात्रालाई निरन्तर दिन सजिलो छैन । प्रतिस्पर्धामा राष्ट्रिय रूपमै सफल उद्योगीका रूपमा स्थापित बुटवलका चुन्न पौडेल कांग्रेसका तर्फबाट उम्मेदवार छन् । हजारौंलाई रोजगारी दिएको र बुटवलको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको भन्दै नयाँ अनुहारका रूपमा पौडेलले मतदाता भेटिरहेका छन् । त्यसबाहेक विष्णु पौडेललाई २०६४ सालमा आफैंले पराजित गरेका तत्कालीन माओवादी नेता भक्ति पाण्डेका छोरा शुभाष (विश्वदीप) नेपाली कम्युनिस्ट पार्टीबाट प्रतिस्पर्धामा छन् । ३९ वर्षे पाण्डे सैनामैना नगरपालिका–१ बनकट्टाका बासिन्दा हुन् । 

आफ्नो बुबासँग चुनाव लडेकाले विष्णु पौडेलप्रति आफ्नो सधैं सम्मान रहेको तर जेनजी प्रदर्शनपछि नयाँ पुस्ताले पुस्तान्तरण खोजिरहेकाले आफू यहाँ उम्मेदवार बनेको उनले बताए । ‘मेरो बुबासँग १८ वर्षअघि चुनाव लड्नुभएका आदरणीय नेता विष्णु पौडेलप्रति मेरो सम्मान छ, उहाँले रूपन्देहीलाई रोलमोडलका रूपमा विकास पनि गर्नु भएको छ,’ उनले भने, ‘राजनीतिमा पुस्तान्तरण र विकासको मोडल परिवर्तन गर्नुपर्छ भन्ने जेनजी पुस्ताको माग हो, त्यसैले मैले उम्मेवारी दिएको छु ।’

अबको विकास पुराना नाराले मात्र नहुने भन्दै उनले स्थानीय जनतासँगको प्रत्यक्ष संवाद र आवश्यकता अनुसारको विकास नै आफ्नो प्रमुख एजेण्डा रहेको बताए । प्रत्येक जनताको घर पुग्ने गरी अहिले उनी घरदैलो अभियानमा लागेका छन् । 

२०७९ को निर्वाचनमा पौडेलले २७ हजार १ सय ६५ मत ल्याउँदा रास्वपाका गणेश पौडेलले २५ हजार ७ सय ८१ मत ल्याए । अहिले पाण्डेका छोरा विश्वदीप, रास्वपाबाट २८ वर्षे सुलभ खरेल, नेपाल जनसेवा पार्टीबाट ३२ वर्षे कमल भुसाल (निकोलश) सहित कांग्रेसका चुन्न पौडेलसँग प्रतिस्पर्धामा छन् । तर, मुख्य प्रतिस्पर्धा ६६ वर्षे विष्णु र ६० वर्षे चुन्न पौडेलबीच नै हुने आँकलन छ ।  

दलीय निर्वाचनमा पार्टी सदस्यता, कार्यकर्ताको मत सर्वेक्षण र चुनावी माहोलका आधारमा संकलन विश्लेषण हुने तथ्यांकका आधारमा रणनीति बनाउने पुराना दललाई अहिले नयाँ राजनीतिक शक्ति, युवा पुस्ताका उम्मेदवार र फेरिएको मतदाताको आकांक्षाले चुनौती थपेको छ । त्यसमा अहिलेको प्रचार शैलीले पनि प्रभाव पार्ने छ । पहिला हुने चुनावी सभा देखिएका छैनन् । तर, सामाजिक सञ्जाल चुनावी प्रचारले रंगिएका छन् । प्रचारको शैली बदलिएको छ ।

बौद्धिक वर्ग, व्यवसायी र चलायमान मतदाताको प्रभाव रहेको रूपन्देही–२ मा सहज जित निकाल्ने आंकलन कुनै पनि उम्मेदवारले गर्न सकेका छैनन् । आइतबारसम्म कुनै पनि दलले प्रतिबद्धता वा घोषणा–पत्र पनि तयार गरेका छैनन् । तर, अधिकांश उम्मेदवार घरदैलोमा मत माग्दै डुलिरहेका छन् । धेरैको पुरानै नारा र प्रतिबद्धता छन्, ‘रूपन्देहीको विकासका लागि अब फरक व्यक्ति र फरक योजना बन्नुपर्छ ।’

एमाले उम्मेदवार पौडेलले पनि प्रचारशैली बदल्दै छन् । उनी वडा र टोलस्तरसम्मको आफ्नो संगठनको भेला गर्ने र अन्य एजेण्डालाई डिजिटल माध्यमबाटै हरेक मतदातामा पुर्‍याउने अभियानमा छन् । एमाले रूपन्देहीका चुनावी प्रचार संयोजक डीआर घिमिरेले अहिलेको चुनावमा प्रविधिसँगै प्रचारको शैली बदल्ने अवस्थामा दलहरू पुगेको बताए । ‘अब चुनावी प्रचारशैली बदलिनु पर्छ,’ उनले भने, ‘गाली होइन, तथ्यमा टेक्ने, फेक होइन सत्य बोल्ने, स्टन्ट होइन समाधान खोज्ने अबको एजेण्डा हुनुपर्छ ।’

एमालेका उम्मेवारलाई साझा जनप्रतिनिधिका रूपमा अघि सार्ने र त्यो विश्वास मतदातालाई दिलाउने उनले दाबी गरे । यसअघि पनि विष्णु पौडेल भैरहवा विमानस्थलमा झरेपछि रूपन्देहीको विकासमा साझा जनप्रतिनिधि बन्ने गरेकाले त्यसको निरन्तरता चुनावी अभियानबाटै हुने उनले बताए । 

कांग्रेसका पौडेल सफल उद्योगी हुन् । उनले रोजगारी सिर्जनाको मुद्दालाई अघि सारेका छन् । ‘मैले अहिले पाँच/सातवटा उद्योग चलाएको छु । स्वास्थ्य क्षेत्रमा पनि काठमाडौंपछि सुविधासम्पन्न हस्पिटलमार्फत सुविधा पुर्‍याएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि उद्योग र व्यवसाय थप्दै पाँच हजार जनालाई दिंदै आएको रोजगारीको संख्या विस्तार गर्ने योजना मुख्य प्राथमिकतामा छ ।’ 

पौडेल रूपन्देहीका यशोदा फ्ड्स, श्रीराम टोवाको, त्रिमूर्ति इन्डस्ट्रिज, सोना प्याकेजिङ उद्योग, चार तारे होटल ह्यात प्यालेस र बुटवल हस्पिटल प्रालिका मुख्य संचालक हुन् । रूपन्देहीमा वैदेशिक लगानी भित्र्याउने र उद्योगको हबका रूपमा विकास गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेको चलायमान मत आफूहरूले प्राप्त गर्ने विश्वासका साथ चुनावमा होमिएको छ । उम्मेदवार सुलभ खरेल स्थानीय जनमतमा नभिजेको भए पनि बौद्धिक र विवेकशील मतदाता भएको भन्दै अघिल्लो निर्वाचनको मतलाई आधार बनाएर चुनावमा होमिएका छन् । ‘हाम्रो मुख्य चुनावी एजेन्डा भनेको सुशासन हो, त्यसमा यस क्षेत्रका मतदाता सचेत हुनुहुन्छ,’ उनले भने, ‘युवा पुस्ताको मत पूरै बदलिने विश्वास छ ।’

त्यस्तै अर्का चर्चित उम्मेदवार हुन् कमल भुसाल (निकोलश) । उनी २०७९ को निर्वाचनमा पनि स्वतन्त्रबाट उम्मेवारी दर्ता गराएका थिए । तर, सरकारी सेवा सुविधा लिएर अध्ययन गरेको तर उक्त सुविधा फिर्ता नगरेको उजुरी परेपछि उनको उम्मेदवारी खारेजीमा परेको थियो । उनी अहिले भने नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेका छन् ।

निर्वाचन आयोगले उनलाई जेनजी प्रदर्शनमा गोली लागेका युवाको ‘जुत्ता’ चुनाव चिह्न दिएको छ । युवामाझ लोकप्रिय रहेका उनलाई चुनाव चिह्नकै कारण पनि धेरै युवाले पछ्याइरहेका छन् । ‘मेरो त चुनाव चिह्न नै जेनजीको घाइते जुत्ता हो,’ उनले भने, ‘सबैले उक्त जुत्ताको पीडा बुझ्नु भएको छ, मल्हम लगाउनु हुनेछन् । मेरो विजय नै त्यही घाइते जुत्ताको उपचार हो ।’ उनी केही युवाहरूसहित चुनाव प्रचारमा खटिएका छन् ।

१ लाख ३५ हजार ५० मतदाता रहेको रूपन्देही–२ मा १९ दल र २० स्वतन्त्र गरी ३९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully