विष्णु पौडेलले किन छोड्न खोजेका थिए ४ पटक जितेको रुपन्देही ?*

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको द्वन्द्व र त्यसले कमजोर बन्दै गएको संगठनका कारण यी दुवै नेताले आफ्नाे पुरानाे निर्वाचन क्षेत्र फेर्न थालेको चर्चा भएकाे थियाे।

माघ ४, २०८२

घनश्याम गौतम

Why did Bishnu Poudel try to leave Rupandehi, which he had won 4 times?*

What you should know

बुटवल — आइतबार बिहानैदेखि कम्युनिष्ट राजनीतिमा 'चतुर' मानिएका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचन पाल्पा–२ बाट लड्ने खबर फैलियो । तर साँझसम्म भने परिदृश्य बदलियो ।*

२०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका पौडेलले ३१ वर्षपछि आफू संसदीय राजनीतिमा प्रवेश गरेकै जिल्ला पाल्पा फर्कन किन खोजे ? 

स्याङजाको तत्कालीन पुतलीबजार गाविस (हालको पुतलीबजार नगरपालिका)मा जन्मिएका पौडेलले पाल्पाबाट संसदीय राजनीतिको सुरुवात गरेका थिए । २०५१ सालमा पाल्पाको तत्कालीन निर्वाचन क्षेत्र नं ३ बाट चुनाव लडेका पौडेल कांग्रेस उम्मेदवार सूर्यप्रसाद प्रधानसँग ६ सय ६४ मतले पराजित भएका थिए । प्रधानले २३ हजार ६ सय ९७ मत प्राप्त गर्दा पौडेलले २३ हजार ३३ मत प्राप्त गरेका थिए । 

त्यसयताका लगातार ४ वटा निर्वाचन पौडेलले रूपन्देही–२ बाट जित्दै आए । २०६४ सालमा तत्कालीन रूपन्देही–४ बाट पौडेलले माओवादीका भक्ति पाण्डेलाई २ हजार ४ सय ५९ मतले पराजित गरे । पौडेलले १५ हजार ८ सय ८० मत ल्याएका थिए ।

२०७० मा माओवादीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई उम्मेदवार बनाएपछि राजनीतिक चर्चा नै चुलियो । बुद्धिजिवी, उद्योगी र व्यवसायीहरुको बाहुल्यता रहेको क्षेत्रमा भट्टराई र पौडेलको प्रतिस्पर्धा रोचक बनेको थियो । तर, पौडेलले भट्टराईलाई ७ हजार ६ सय ४३ मतान्तरले हराईदिए । पौडेलले १९ हजार ५ सय ७७ मत ल्याउँदा भट्टराईले ११ हजार ९ सय ३४ मत मात्र पाए । 

२०७४ मा क्षेत्र परिवर्तन भएर रूपन्देही–२ बनेको क्षेत्रबाट पौडेलले ४४ हजार ९ मत ल्याएर निर्वापिचत भएका थिए । कांग्रेसका युवराज गिरिले २१ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए। निरन्तर मतान्तर बढाउँदै लगेका पौडेलले आन्तरिक द्वन्द्वकै कारण प्रतिष्पर्धी उम्मेदवार कमजोर हुँदा पनि ०७९ मा झिनो मतान्तरले विजयी भएका थिए।

२०७९ मा कांग्रेसको उम्मेदवार नभएको, एमाले विभाजन भएर बनेको नेकपा समाजवादीका बलिया उम्मेदवार मानिएका राजु गुरुङको उम्मेदवारी खारेजीमा परेको अवस्थामा सहजै जित निकाल्नेमा आशावादी थिए नेता पौडेल । तर, रास्वपाका गणेश पौडेल निकटतम प्रतिपस्पर्धी बने । एमालेका पौडेलले २७ हजार १ सय ६५ मत ल्याउँदा रास्वपाका पौडेलले २५ हजार ७ सय ८१ मत ल्याए । २०७४ मा पूर्वप्रधानमन्त्री भट्टराईलाई ७ हजार बढी मतान्तरले पराजित गरेर उत्साहित बनेका पौडेल २०७९ मा १३ सय ६६ मतान्तरले मात्र विजयी हुँदा निराश बन्न पुगे।

लगातार ४ वटा निर्वाचन जितेका पौडेल त्यसपछि पार्टीभित्रको निरन्तर गुटभित्रको असन्तुष्टि र लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्नुको कोपभाजनमा परिरहे। बुटवलबाट भालुबाङ प्रदेश राजधानी सरेपछि आलोचना र अपजस ब्यहोरिरहेका पौडेललाई २०८१ चैतमा एमालले बुटवलमा गरेको जनसभामा पार्टी अध्यक्ष केपी ओलीले विष्णु पौडेलकै अगाडि राजधानी सार्न सहयोग गरेको सन्देश जाने गरी अभिव्यक्ति दिएपछि थप अप्ठ्यारोमा परे।

एकातिर राजधानी बुटवलमै राख्न नसकेको अपजस, अर्को तर्फ उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेलबीचको आन्तरिक प्रतिस्पर्धाको वडा र टोल कमिटिसम्मै पुगेको बलियो गुट । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र राजधानीको विषयलाई लिएर बढिरहेको एक अर्काप्रतिको रोष दुवै नेताले नचाहे पनि कार्यकर्ताबाटै तल्लो कमिटिसम्म पुर्‍याउने काम निरन्तर गरिरहे । त्यसकै कारण रूपन्देही र दाङ दुवै जिल्लामा एमाले संगठन निरन्तर कमजोर बन्दै गएको छ।  

आन्तरिक गुटबन्दी, स्थानीयको असन्तुष्टि र त्यसकै कारण कमजोर बन्दै गएको संगठनबाट चुनाव जित्न नसक्ने तथ्य दुवै नेताले २०७९ को निर्वाचन परिणामबाटै भोगेका थिए । दुई नेताको ‘जुंगाको लडाइँ’ महासचिव शंकर पोखरेलले २०७९ को निर्वाचनमै दाङ–२ बाट झिनो मतान्तरको हारबाटै ब्यहोरे। अपेक्षा भन्दा कम मतान्तरले विजयी भए पनि २०८२ सम्म आइपुग्दा त्यसको बाछिटा पौडेललाई पनि लाग्यो । त्यसैले पौडेल आफ्नै पहलमा ठूला पूर्वाधार निर्माणबाट रोलमोडलको रुपमा तीब्र विकास भइरहेको बुटवल छोडेर पाल्पा–२ जान खोजेको कार्यकर्ताबीच चर्चा भइरहेको थियो। 

एमाले कार्यकर्ता एवं बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष बलबहादुर पुनले पौडेलको पाल्पाबाट चुनाव लड्ने निर्णय गलत भएको बताए। ‘रुपन्देही–२ मा विष्णु पौडेलको विकल्प छैन । यहाँ त हामी मात्र हैन्, कांग्रेसकै साथीहरु पनि निराश बन्नुभएको छ,’ उनले भने, ‘मंगलबारसम्म निर्णय सच्चिने विश्वास छ । उहाँ यहीबाटै चुनाव लड्नु पर्छ ।’ नभन्दै आइतबार साँझ पाैडेलले रुपन्देहीबाटै चुनाव लड्ने निर्णय गरेका छन्। 

शुक्रबार बिहानसम्म पनि पौडेल रूपन्देही–२ बाटै चुनाव लड्ने तयारीमा थिए । त्यही अनुसार बुटवलमा निर्वाचन परिचालनका लागि कार्यालय खोल्ने र निर्वाचन परिचालनको सबै टिम तयार गर्ने काम तीब्र गतिमा भएको थियो । यसअघिका निर्वाचनमा व्यक्तिको घर भाडामा लिएर चुनाव लड्दै आएका पौडेलले यसपटक बुटवलको कुनै होटलमै बसेर चुनाव परिचालन गर्ने योजनामा थिए। स्रोतका अनुसार उनको सचिवालयले त्यही अनुसार नै होटललमा कोठा लिएर कम्प्यूटर राख्ने, निर्वाचन परिचालनका लागि आवश्यक सामग्री र जनशक्ति तयार गर्ने काम गरिरहेको थियो ।

दुई नेताकै आन्तरिक गुटका कारण बुटवलका एमालेका जनवर्गीय संगठनदेखि संघसंस्थाहरुमा कार्यकर्ताको तीब्र विभाजन थियो । दुवै पक्षका कार्यकर्ता एकले अर्कोलाई हराउने र खुइल्याउने अभियानमा देखिन्थे । त्यसको प्रत्यक्ष असर पार्टी संगठनमै परिरहेको थियो।

एमाले रुपन्देही जिल्ला कमिटिमै झण्डै एक दर्जन नेता शंकर पोखरेलकै पक्षबाट हाबी थिए। पौडेलले दाङमा त्यस्तै गराइरहेका थिए। दुवै पक्षको गुटको दबदबा एमालेको ११ औं महाधिवेशनको प्रतिनिधि छनौटमा पनि तीब्र देखिएको थियो । दुई नेताको प्रत्यक्ष टकरावले पोखरेलले आइतबारसम्म पनि दाङमै आफ्नो निर्वाचन क्षेत्र निश्चित गर्न सकेका छैनन् । एमाले दाङका एक नेताका अनुसार पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ हो । तर, २ छोडेर पोखरेल दाङ–१ मा जाने चर्चा पनि छ । 

* अपडेट र थप सम्पादन गरिएको । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully