एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज खिमलाल भट्टराईले पौडेललाई रुपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय भएको बताए ।
What you should know
बुटवल — एमाले उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेल रूपन्देही-२ बाटै प्रतिनिधि सभा सदस्यको उमेदवार बन्ने भएका छन् । शनिबार एमालेको सचिवालय बैठकले उनलाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
लामो समयदेखि निरन्तर जित्दै आएको क्षेत्र छोडेको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएपछि उनी पाल्पा छोडेर रूपन्देही फर्किएका हुन्।
कार्यकर्ताको गुनासो, पार्टीको क्षेत्रीय कमिटीको आइतबार बसेको विशेष बैठकले पनि पौडेललाई रूपन्देही-२ मै फर्कन अनुरोध गरेको थियो । पौडेलले २०६४ सालयताका सबै निर्वाचन रूपन्देही-२ बाट जित्दै आएका थिए । २०५१ को निर्वाचन भने साबिकको पाल्पा-३ र अहिलेको पाल्पा-२ बाटै जितेका थिए । २०५६ सालको चुनाव रूपन्देहीबाट पराजित भए पनि २०६४ देखिका चारवटै चुनाव रूपन्देहीबाट जितेर सात पटक मन्त्री बनेका थिए ।
२०७९ को निर्वाचनमा रूपन्देही-२ बाट झिनो मतान्तरले जितेका पौडेल पाल्पा-२ मा जानुलाई रूपन्देहीबासीले आश्चर्य मानेका थिए ।
एमाले केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज खिमलाल भट्टराईले पौडेललाई रूपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय भएको बताए । ‘हिजो पाल्पा-२ को कुरा आएको थियो, तर पार्टी केन्द्रले आज रूपन्देही-२ मै उम्मेदवार बनाउने निर्णय पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालमार्फत दिएको छ,’ उनले भने, ‘यो अन्तिम निर्णय बनोस् भन्ने हाम्रो आग्रह पनि हो ।’
आइतबार बसेको रुपन्देही-२ को क्षेत्रीय कमिटीले विशेष बैठक राखेर जसरी पनि रुपन्देही-२ बाट पौडेललाई उम्मेदवार बनाउनुपर्ने र जिताउने जिम्मा आफूहरूले लिने निर्णय गरेको जिल्ला कमिटी सदस्य बाबुराम पन्थीले बताए ।
पौडेल रूपन्देहीमै फर्किएपछि पाल्पा -२ मा डा. रामबहादुर राउतको चर्चा छ । उनी यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको जनसम्पर्क सल्लाहकार थिए । तर, पाल्पा एमालेबाट भने यसअघिको निर्वाचन २०७९ कै विजेता युवा नेता ठाकुर गैरेलाई नै टिकट दिनुपर्ने दबाब बढेको छ । गैरे पाल्पामा लोकप्रिय युवा नेता मानिन्छन् ।
