कांग्रेस २५ सिटसहित दोस्रोबाट पहिलो ठूलो दलमा उक्लिएको छ भने पहिलोमा रहेको नेकपा २५ मध्ये ८ सिट गुमाउँदै दोस्रोमा झरेको छ, एमाले १० सिटसहित तेस्रोमै यथावत्
What you should know
काठमाडौँ — राष्ट्रिय सभाका १७ सिटका लागि आइतबार भएको निर्वाचनमा कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनले एकलौटी जित निकालेका छन् । गठबन्धनबीच बाँडफाँट भएअनुसारै कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका हुन् ।
यो नतिजासँगै राष्ट्रिय सभामा दलहरूको ‘आकार र शक्ति’मा पनि हेरफेर भएको छ । कांग्रेस दोस्रोबाट पहिलो ठूलो दलमा उक्लिएको छ भने पहिलोमा रहेको नेकपा ८ सिट गुमाउँदै दोस्रोमा झरेको छ । एमाले तेस्रोमै यथावत् छ ।
कोशीमा कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध भएका छन् भने आइतबार भएको निर्वाचनमा एमालेकी रोशनी मेचे र सोमनाथ पोर्तेल यो प्रदेशबाट विजयी भएका छन् । मधेशमा कांग्रेसका रञ्जित कर्ण र धर्मेन्द्र पासवान, एमालेकी रेखा झा तथा जसपा नेपालका महन्थ ठाकुर निर्वाचित भएका छन् । बागमतीबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल राष्ट्रिय सभा सदस्य चुनिएका छन् ।
यस्तै गण्डकीबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा राष्ट्रिय सभामा आएका छन् । लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री र कांग्रेसका वासुदेव घिमिरे तथा चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । कर्णालीमा कांग्रेसका ललितजंग शाही र एमालेका मीनासिंह रखालले जितेका छन् । सुदूरपश्चिमबाट एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभाका सांसद बनेका छन् ।
राष्ट्रिय सभामा दुई–दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने गर्छ । हाल रिक्त १९ सिटमध्ये १ मनोनीत कोटा हो भने निर्वाचन हुनुपर्ने १८ मध्ये १ निर्विरोध भइसकेकाले आइतबार बाँकी सिटका लागि चुनाव भएको थियो ।
५९ सदस्यीय राष्ट्रिय सभामा अब कांग्रेस २५ सिटसहित पहिलो दल बनेको छ । कांग्रेसका हाल बहाल १६ मा ९ सांसद थपिएका हुन् । एमालेका १० सांसदमध्ये ८ जनाको पदावधि सकिएको थियो । पदावधि सकिनेमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी थिए । एमालेबाट निर्वाचित हुने पनि ८ जना नै छन् । यस हिसाबले एमाले हाल कायम रहेकै १० सिट जोगाउन सफल भएको छ ।
.......................................................
नवनिर्वाचित सांसद :
कांग्रेस ९ :
– सुनीलबहादुर थापा, रञ्जित कर्ण, धर्मेन्द्र पासवान, गीता देवकोटा, जगत तिमिल्सिना, वासुदेव घिमिरे, चन्द्रबहादुर केसी, ललितजंग शाही र खम्मबहादुर खाती
एमाले ८ :
– रोशनी मेचे, सोमनाथ पोर्तेल, रेखा झा, प्रेमप्रसाद दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मीनासिंह रखाल र लीलाकुमारी भण्डारी
जसपा नेपाल १ :
महन्थ ठाकुर
.......................................................
तत्कालीन माओवादीको १७ र एकीकृत समाजवादीको ८ सहित दुई दल एकीकरणपछि बनेको नेकपाका राष्टिय सभा सांसद २५ थिए । त्यसमध्ये पदावधि सकिएका ८ जना नै उसले गुमाएको छ । नेकपाबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, जगप्रसाद शर्मा, तामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिएको थियो ।
तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादीबाट पदावधि सकिएका एक–एक जना थिए । यी दुई दलबीच एकीकरण भइसकेको छ । एकीकृत जसपा नेपालको राष्ट्रिय सभामा चार सांसद थिए । जसमा मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंहको पदावधि सकिएको छ । गठबन्धन गरेर जसपाले एक सिट सुरक्षित राखेको छ । जसमा पार्टीको संरक्षक ठाकुर निर्वाचित भएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका बामदेव गौतमको पनि पदावधि सकिएको छ । पदावधि सकिएका सबै सांसदको औपचारिक बिदाइ २० फागुनमा हुँदै छ ।
२१ फागुनदेखि राष्ट्रिय सभामा निर्वाचित नयाँ सांसदसहित दलहरूको आकार र शक्ति समीकरण बदलिनेछ । आइतबार निर्वाचित राष्ट्रिय सभा सांसदले २१ फागुनपछि मात्र काम थाल्नेछन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८३ वर्षीय महन्थ ठाकुरदेखि मेचे समुदायकी पहिलो सांसद बनेकी रोशनीसम्म समेटिएकी छन् ।
राष्ट्रिय सभाको शक्ति समीकरणले प्रतिनिधिसभाबाट हुने कानुन निर्माणलगायतका कार्य सन्तुलनमा राख्नेछ । निर्वाचनपछि आउने नयाँ सरकार र तल्लो सदन (प्रतिनिधिसभा) लाई राष्ट्रिय सभाले संयम बनाउन भूमिका खेल्नेछ । संविधान संशोधनदेखि कानुन निर्माण र सरकारमाथि संसदीय निगरानीमा राष्ट्रिय सभाको बदलिएको शक्ति सन्तुलनले अर्थ राख्नेछ । कानुन निर्माणदेखि संविधान संशोधन र सरकारमाथि निगरानीमा प्रतिनिधिसभा जत्तिकै शक्ति संविधानले राष्ट्रिय सभालाई पनि दिएको छ ।
आइतबार भएको चुनावमा कोशीबाट मेचेले ७ हजार १७३ मतभार प्राप्त गरी विजयी भइन् भने प्रतिस्पर्धी नेकपाकी नमिता न्यौपानेको मतभार २ हजार २६८ मात्र रह्यो । यो प्रदेशमा दलित समूहअन्तर्गत रहेका पोर्तेल ७ हजार ४२३ मतभार प्राप्त गरी निर्वाचित भए । निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे ।
मधेशमा महिला समूहमा एमालेकी झा ७ हजार २२२ मत ल्याएर विजयी भइन् । प्रतिद्वन्द्वी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९४४ मतभार पाइन् ।
मधेशबाटै अल्पसंख्यक ‘क्लस्टर’मा कांग्रेसका कर्णले जिते । उनले ८ हजार ९३ मतभार पाए भने प्रतिद्वन्द्वी नेकपाका रामानन्दन प्रसादले १ हजार ३६१ मतभार ल्याए । यस्तै जसपा नेपालका नेता ठाकुरले ७ हजार ७२५ मतभार ल्याई विजयी हुँदा प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलको मतभार १ हजार ८०५ रह्यो ।
दलित ‘क्लस्टर’मा मधेशबाट कांग्रेसका पासवान ७ हजार ९०४ मतभार पाएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपाका रामानन्द प्रसादले १ हजार ३७६ मतभार पाए ।
बागमतीबाट कांग्रेसकी देवकोटा र अन्य समूहतर्फ एमालेका दंगाल निर्वाचित भए । देवकोटाले ६ हजार २३९ मतभार पाइन् । दंगालले ६ हजार २०५ मतभार पाए । बागमतीमा नेकपाकी सरोजकुमारी झाले २ हजार ५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १ सय ९७ मतभार पाइन् । अन्य समूहतर्फ नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार पाए ।
गण्डकीबाट कांग्रेसका तिमिल्सिना ५ हजार ३३ मतभार प्राप्त गरी निर्वाचित भए भने प्रतिस्पर्धी नेकपाका कपिल लामाले ९४१ मतभार मात्र पाए । गण्डकीको महिला समूहबाट एमालेकी देवकोटा ५ हजार १४ मतभार पाएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९४१ मतभार पाइन् । जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बराल र लक्ष्मी बास्कोटाले समान ७६–७६ मतभार प्राप्त गरे ।
लुम्बिनीमा एमालेकी झाँक्री ६ हजार ३०३ मतभारका साथ निर्वाचित भइन् । कांग्रेसबाट अपांग समूहमा घिमिरे ६ हजार ३२२ मतभारसहित र अन्य समूहमा चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभारसहित निर्वाचित भए । लुम्बिनीमा नेकपाका उम्मेदवारहरू दुर्गाकुमारी भण्डारीले १ हजार ३६२, सर्वन विकले १ हजार ६०१ र बृहस्पति अधिकारीले १ हजार ८३२ मतभार पाए ।
कर्णालीबाट कांग्रेसका शाहीले ३ हजार २७८ र एमालेकी रखालले ३ हजार १४५ मतभार प्राप्त गरेका थिए । नेकपाबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतरा (शाही) उम्मेदवार थिए । शर्माले १ हजार ६३९ र महतराले (शाही) ले १ हजार ७३४ मतभार प्राप्त गरे ।
सुदूरपश्चिमबाट एमालेकी भण्डारी र कांग्रेसका खाती निर्वाचित भए । भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने खातीले ३ हजार ९६९ मतभार प्राप्त गरेका थिए । नेकपाका रोजी बस्नेतले १ हजार ६७६ र टीकाराम जैशीले १ हजार ८०५ मतभार पाएका थिए ।
राष्ट्रिय सभामा वर्तमान समीकरण
कांग्रेस–१६
एमाले–१०
तत्कालीन माओवादी केन्द्र–१७
समाजवादी–८
मनोनीत–३
लोसपा–१
राष्ट्रिय जनमोर्चा–१
राष्ट्रिय सभामा फागुन २१ पछि हुने समीकरण :
कांग्रेस–२५
नेकपा–१७
एमाले–१०
जसपा नेपाल–३
जनमोर्चा–१
मनोनीत–३
