ओलीसँगको सार्वजनिक बहस बालेनद्वारा अस्वीकार

ओलीको सार्वजनिक धारणामा उनको प्रतिक्रिया छ- 'तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गत्ते जलाएको हो, आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने ?'

माघ ११, २०८२

कान्तिपुर संवाददाता

Balen rejects public debate with Oli

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बनाइएका बालेन्द्र शाह (बालेन) ले सार्वजनिक बहस अस्वीकार गरेका छन् ।

उनी झापा-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । भावी प्रधानमन्त्रीका उम्मेदवारहरूलाई आगामी नीति तथा कार्यक्रमबारे एउटै मञ्चमा राखेर सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला शाहले भने अस्वीकार गरेका हुन् । 

आइतबार बिहान एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका थिए । दुवैले झापा-५ बाटै उम्मेदवारी दिएका छन् ।

देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेन्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ भनी सार्वजनिक बहसमा उपस्थित हुन आफू तयार रहेको ओलीले सामाजिक सञ्जालमा लेखेका थिए ।

ओलीले कसैको नाम उल्लेख नगरी 'देश जलाउने र देश बनाउने'को प्रतिस्पर्धामा आफू बहसमा सहभागी हुन तयार रहेको लेखेका थिए । 'पब्लिक डिबेटको लागि तयार छौँ । नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ,' ओलीले लेखेका थिए, 'यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ । फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्छ ।'

ओलीको यही टिप्पणीमा प्रतिक्रिया दिँदै शाहले आफू बहसमा सहभागी नहुने लेखेका छन् । 'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो । तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गत्ते जलाएको हो,' बहस गर्न अस्वीकार गर्दै उनले लेखेका छन्, 'आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्योपछि अरू कुरा गरौँला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।'

रास्वपाबाट शाह, एमालेबाट ओली र कांग्रेसबाट सभापति गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका छन् । कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले पनि प्रधानमन्त्री उम्मेदवारबीच सार्वजनिक बहस हुनुपर्ने धारणा अघि सारेका थिए ।

कान्तिपुर

Link copied successfully