‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ ।’
What you should know
काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पार्टीले लिने नीति तथा कार्यक्रमका सम्बन्धमा सार्वजनिक बहस गर्न तयार रहेको बताएका छन् ।
भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच एउटै मञ्चमा सार्वजनिक बहस हुनुपर्ने माग भइरहेका बेला एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आफू तयार रहेको जानकारी दिएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् ओलीले सार्वजनिक बहसका लागि आफू तयार रहेको जनाए । ‘पब्लिक डिबेटको लागि तयार छौं । नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ,’ ओलीले लेखेका छन्, ‘यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ । फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ ।’
राजनीतिक दलहरूले प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिसकेको अवस्थामा पनि बहसको आवश्यकता रहेको ओलीको भनाइ छ ।
‘यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन् । देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ,’ ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु । चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु ।’
ओलीले सार्वजनिक बहसको आयोजना गरेर सबैलाई ल्याउनका लागि पनि आग्रह गरेका छन् ।
