निर्वाचनलाई ४४ दिन बाँकी: प्रत्यक्ष उम्मेदवारी आज

एमालेले १६३ उम्मेदवार टुंगो लगायो, दाङ–१ र काठमाडौं–४ बाँकी, नेकपाले १६५ उम्मेदवार छान्यो, कांग्रेस टिकट पाएका जिल्ला हिँडे, बाँकी टुंगो लगाउन सोमबार रातभर बैठक, रास्वपामा रातिसम्म ९२ उम्मेदवारको टुंगो, राप्रपाले पनि नयाँ अनुहार छान्यो

माघ ६, २०८२

कुलचन्द्र न्यौपाने, गंगा बीसी, जयसिंह महरा

44 days left until election: Direct candidacy today

काठमाडौँ — प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा मंगलबार हुने मनोनयनका लागि सोमबार बेलुकीसम्म नेकपाले १६५, एमालेले १६३ र कांग्रेसले ५० उम्मेदवारको टुंगो लगाएका छन् ।

कांग्रेसमा शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् भने उनका पक्षधरका नेताहरु र शेखर कोइराला पक्षका उम्मेदवारसहित छनोट गर्नुपर्ने भएकाले ढिलाइ भएको हो, बाँकी उम्मेदवारको मंगलबार बिहानसम्म टुंगो लाग्ने नेताहरूको भनाइ छ । यस्तै रास्वपाले ९२ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । राप्रपाले नयाँ र पुराना अनुहारलाई मिलाएर टिकट वितरण गरेको छ । 

एमालेले दाङ–१ र काठमाडौं–४ बाहेक सबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । यस पटक कांग्रेस र नेकपाले नयाँ र युवालाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको जनाएका छन् । एमालेमा पनि यसअघि अवसर नपाएका धेरै नयाँ अनुहारलाई अघि सारिएको छ । यद्यपि फरक मत राख्नेलाई टिकटमा वञ्चित गरिएको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार देशभर एकैसाथ मनोनयन प्रक्रिया सुरु हुने भएपछि राजनीतिक दलका शीर्ष नेता तथा उम्मेदवार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि उम्मेदवारी दिन आइतबार काठमाडौंबाट जनकपुर हुँदै सोमबार राति झापा पुगेका छन् । 

नेकपा संयोजक पुष्पकमल दाहाल उम्मेदवारी दर्ता गर्न रुकुम पूर्व पुगेका छन् । ओली र शाहले एउटै निर्वाचन क्षेत्र झापा–५ बाट मनोनयन गर्दै छन् । झापा एमालेको परम्परागत बलियो आधार क्षेत्र मानिन्छ । पार्टीका स्थानीय नेता तथा कार्यकर्ता अध्यक्ष ओलीको मनोनयनलाई भव्य बनाउने तयारीमा जुटेका छन् । त्यसैगरी वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित रास्वपाले समेत शाहको उपस्थितिलाई विशेष बनाउने तयारी गरेको छ । झापा–५ मा हुन लागेको ओली र शाहबीचको चुनावी भिडन्तले देशकै ध्यान खिचेको छ । 

पार्टीभित्र विद्रोह गरेर नेतृत्वमा आएका कांग्रेस सभापति गगन थापाकै हस्ताक्षरबाट पूर्वसभापति शेरबहादुर देउवाले भने चुनाव नलड्ने घोषणा गरेका छन् । देउवाका प्रमुख सचिव भानु देउवाले सोमबार राती देउवा निर्वाचनमा उम्मेदवार नहुने जानकारी दिएका हुन् । ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नहुने जानकारी गराउँछु’, उनले भनेका छन् । 

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएको विरोधमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार अदालतमा रिट दायर गरेपछि विवाद थप बढेको छ । देउवापक्षीय एक नेताका अनुसार सहमतिअनुसार टिकट वितरण गर्न अदालतमा दायर गरिएको रिट फिर्ता हुनुपर्ने सर्त सभापति थापा पक्षका नेताले अघि सारेका छन् । सबै कुरा मिलिसकेपछि त्यसमा नमिल्ने कुरै भएन भनेर संस्थापनपक्षीय नेताहरूले सहमतिमै टिकट वितरण हुनुपर्ने माग गरेका छन् । 

पूर्वकार्यवाहक सभापति खड्काले अदालतमा मुद्दा दायर गरेको कारण देखाएर नैतिकताका आधारमा चुनाव नलड्ने घोषणा गरेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएको विरोधमा मुद्दा लड्ने र अर्कोतर्फ टिकटको भागबन्डामा सहभागी हुने काम भएकामा अन्य नेताहरूप्रति पूर्वकार्यवाहक सभापति खड्काले असन्तुष्टि जनाएका छन् । 

एक नेताका अनुसार खड्काले सुरुमा अदालतमा रिट लिएर जानुको साटो केन्द्रीय कार्यसमिति मर्ज गरेर टिकट वितरणमा सहमति खोज्ने दिशामा जानुपर्ने धारणा राखेका थिए । ‘तर केही पूर्वपदाधिकारीकै जोडबलमा मुद्दा मामिलामा जानुपरेको र अर्कोतर्फ टिकटमा भागबन्डा खोज्ने काम पनि उनै नेताहरूबाट भएको भन्दै खड्काले असन्तुष्टि जनाएका छन्,’ ती नेताले भने । 

देउवा पक्षबाट नेताद्वय बालकृष्ण खाण र रमेश लेखक, शेखर कोइराला पक्षबाट नेता मीनेन्द्र रिजाल, संस्थापन पक्षबाट प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य मधु आचार्य सोमबार बिहान वार्तामा सहभागी थिए । उनीहरूबीच औपचारिक रूपमा भागबन्डा गर्दा नराम्रो सन्देश जाने भएकाले २०७९ मा चुनाव जितेका केही अपवादबाहेकलाई प्राथमिकता दिने, मुद्दा मामिलामा परेका र विवादास्पदलाई नदिने, जनस्तरमा राम्रो छवि भएका, योग्य र क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउने मापदण्ड बनाउने समझदारी भएको थियो ।

त्यसपछि संस्थापन पक्ष र शेखर कोइराला समूहबीच छलफल गरेर टिकट पाउनुपर्ने व्यक्तिको नामावलीसहित सूची संस्थापन पक्षलाई बुझाइएको थियो । सोमबारसम्ममा विजयकुमार गच्छेदार, ज्ञानेन्द्रबहादुर कार्की, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद, गोविन्द पोखरेललगायतका देउवा तथा कोइरालापक्षीय नेताहरूले टिकट पाएका छन् । 

सहमतिमा टिकट वितरण गर्नुपर्ने भएपछि अघिल्लो दिन निर्णय भएका कतिपय हिमाली र उच्च पहाडी जिल्लाका टिकटमा समेत फेरबदल गर्नुपरेको थियो । हिमाली जिल्लाका कतिपय नेताले नाम नभरी सभापतिको हस्ताक्षर भएको टिकट मात्र लिएर गएका थिए ।

‘अन्तिम समयसम्म परिस्थिति के हुन्छ, कसलाई दिनुपर्ने हुन्छ भनेर खाली टिकट ल्याइएको हो,’ हिमाली जिल्लाका एक कांग्रेस नेताले भने । कांग्रेस महामन्त्री गुरुराज घिमिरेले रातभर छलफल गरेर मंगलबार बिहानसम्ममा सबै उम्मेदवारको टुंगो लगाइने बताए । उनका अनुसार हिमाली जिल्ला, उच्च पहाडी र टाढाका जिल्लालाई प्राथमिकतामा राखेर वितरण भएको छ । विशेष महाधिवेशनपछि चयन भएको सभापति थापाको नेतृत्वले यस पटक युवा र नयाँलाई प्राथमिकतामा राखेको छ ।

एमालेमा दाङ–१ र काठमाडौं–४ टुंगो लाग्न बाँकी

एमालेमा ११ औं महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलले काठमाडौं–५ का लागि टिकट पाएका छन् । शनिबार केन्द्रीय सचिवालयले उनको टिकट ‘होल्ड’ गरेको थियो । सोमबार दिउँसो मात्र उनको हातमा टिकट परेको हो । ‘सोमबार दिउँसोतिर टिकट आइपुग्यो,’ उनले भने, ‘मंगलबार मनोनयन गरेपछि चुनावको तयारी थाल्छु ।’

ओलीका प्रतिस्पर्धी उनले टिकट पाए पनि उनी पक्षका नेता सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, नेताहरू बिन्दा पाण्डे, ठाकुर गैरे, गोकुल बाँस्कोटा, रचना खड्का, अरुण नेपाल, उषाकिरण तिम्सेनाले टिकट पाएनन् । टिकट वितरण न्यायिक नभएको, महाधिवेशनमा प्रतिस्पर्धा गरेको आधारमा टिकटमा पक्षधरता देखिएको भन्दै उमहासचिव भट्टराईले केन्द्रीय सचिवालय बैठकमा फरक मत राखेका थिए । 

जेन–जी आन्दोलनपछि पहिलोपल्ट गृह जिल्ला झापा पुगेका ओलीले पत्रकारहरूसँग सोमबार भने, ‘पार्टीको तराजुमा राख्दा तौल नपुगेर केही नेताले टिकट पाएनन्, पार्टीले तौलिएर नै टिकट वितरण गरेको छ, पार्टीले तौलिँदा तौल त पुग्नुपर्‍यो नि ।’ 

निर्वाचनका लागि टिकट वितरणमा समस्या नभएको उनको दाबी थियो । ‘कोही मानिस अराजक भएर पनि आउन सक्छन्,’ उनले उपमहासचिव भट्टराईतर्फ संकेत गर्दै भने । काठमाडौं–५ का उम्मेदवारसमेत रहेका पोखरेलले धेरै योग्य नेताहरूले टिकट नपाएको विषयमा छलफल हुने बताए । ‘सुरेन्द्र पाण्डेलगायत धेरै साथीहरू टिकटबाट वञ्चित हुनुभएको छ, यो आगामी दिनमा छलफलको विषय बन्छ,’ उनले भने ।

एमालेमा टिकट वितरणमा फरक मत राख्नेलाई निषेध गर्न खोजेको भन्दै पार्टीभित्र असन्तुष्टि छ । टिकट वितरणमा स्पष्ट मापदण्ड नहुँदा मनोमानी भएको उपमहासचिव भट्टराईको तर्क छ । ‘पार्टी अध्यक्षलाई पनि भनिसकेको छु, निर्वाचनपछि हामीले उम्मेदवार चयनका मापदण्ड, न्यायसंगत निर्णय र उम्मेदवारको लोकप्रियताको विस्तृत समीक्षा गर्नुपर्छ,’ उनले कान्तिपुरसँग भने, ‘तर यतिबेला हाम्रो अगाडि दायाँ–बायाँ गर्ने छुट छैन, हाम्रो एउटै लक्ष्य र एउटै चिह्न सूर्य मात्र हो । हाम्रो सम्पूर्ण ध्यान ‘मिसन सूर्य चिह्न’ र ‘मिसन फागुन २१’ हुनेछ । (एमाले) का सम्पूर्ण सदस्य, शुभचिन्तक र जनसमुदायलाई म अपिल गर्दछु– भोलिदेखि हाम्रो एउटै मन्त्र हुनुपर्छ वन्ली सूर्य चिह्न, नो राइट, नो लेफ्ट ।’

दबाब भएपछि महाधिवेशनमा सचिवमा प्रतिस्पर्धा गरेका विनोद ढकाललाई आइतबार मोरङ–६ को टिकट दिइएको छ । शनिबार संस्थापन इतरबाट उपाध्यक्ष जितेका गोकर्ण विष्टलाई गुल्मी–२ बाट उम्मेदवार बनाउने निर्णय भएको थियो । शनिबार सचिवालयमा १४० क्षेत्रका उम्मेदवार टुंग्याए पनि अध्यक्ष ओलीले अरू क्षेत्रको टिकट आफ्नो हातमा लिएका थिए । त्यसपछि पनि उनले फरक मत राखेका नेताहरूलाई टिकट दिन उदारता नदेखाएको नेताहरूको भनाइ छ ।

अध्यक्ष ओली झापा–५ र महासचिव शंकर पोखरेल दाङ–२ मा उम्मेदवार भएका छन् । सोमबार बेलुकासम्म दाङ–१ र काठमाडौं–४ मा एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।

नेकपामा वामदेवको टिकट फिर्ता, झलनाथ बाहिरिए

नेकपामा वामदेव गौतमलाई बर्दिया–१ मा टिकट दिइए पनि अन्तिम समयमा फिर्ता गरिएको छ । सोमबार बिहानसम्म उनले आफू बर्दिया–१ को उम्मेदवार भएको बताएका थिए ।

तर नेकपा संयोजक पुष्पकमल दाहालले गौतमको टिकट विष्णुप्रसाद थारूलाई दिएका छन् । आइतबारसम्म सल्यानबाट नेता प्रकाश ज्वालालाई टिकट दिने तयारी थियो । सोमबार बिहान उनको टिकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई दिइएको छ । उनले दाहालको स्वकीय सचिवका रूपमा दुई वर्ष काम गरेका थिए ।

नेकपाले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई अछाम–१ मा उम्मेदवार बनाएको छ । एमालेले २०७९ मा उनलाई टिकट दिएको थिएन ।

नेता झलनाथ खनालले यस पटक बागलुङ–२ बाट उम्मेदवार बन्ने चाहना राखेका थिए । उनलाई रोकेर त्यस क्षेत्रमा ज्ञाननाथ गैरेलाई टिकट दिइएको छ । नेकपाका धेरै नेताले यस पटक टिकट लिन जाँगर गरेनन् । कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, रेखा शर्माले उम्मेदवार हुने चाहना राखेनन् । युवाहरूलाई प्राथमिकता दिने भन्दै उनीहरूले टिकटको दाबी गरेनन् । 

नेकपा २० दल र समूह मिलेर पार्टी बने पनि टिकट वितरणमा विवाद देखिएन । नेता वर्षमान पुनले यस पटक करिब ५० प्रतिशत युवा उठाएको बताए । ‘युवालाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरेका छौं,’ उनले भने, ‘६० प्रतिशत उम्मेदवार नयाँ र युवा छन् ।’

प्रत्यक्षतर्फका उम्मेदवारमा पूर्वमाओवादीबाट १००, एकीकृत समाजवादीका ४५ र अन्य घटकबाट २० जनालाई उम्मेदवार बनाइएको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार भएका छन् । संयोजक दाहाल सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका हुन् । नेपालको भने पुरानै क्षेत्र हो ।

रास्वपा सभापति लामिछाने चितवन–२ बाटै

रास्वपा सभापति रवि लामिछाने यसअघिकै निर्वाचन क्षेत्र चितवन–२ बाट उम्मेदवार भएका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचन र वैशाख २०८० को उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । 

रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीविरुद्ध चुनाव लड्दै छन् । उनी २०७९ को स्थानीय तह चुनावमा काठमाडौं महानगरको मेयर निर्वाचित भएका थिए । मेयरबाट राजीनामा गरेर उनी संसदीय निर्वाचनमा उत्रिएका हुन् । 

रास्वपा उपसभापति डीपी अर्यालले काठमाडौं–९ बाट चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । २०७९ मा समानुपातिकबाट सांसद भएका अर्याल यस पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन् । अर्का उपसभापति स्वर्णिम वाग्ले गृह जिल्ला तनहुँ–१ बाटै उम्मेदवार बनेका छन् । उनी वैशाख २०८० को उपनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भएका थिए । 

महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा–२ बाट उम्मेदवार बनेका छन् । यो निर्वाचन क्षेत्रमा बुर्लाकोटीसँग प्रलोपाबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन (चक्रे) गुरुङ पनि प्रतिस्पर्धामा छन् । सहमहामन्त्री विपिन आचार्य दाङ–२ बाट उम्मेदवार भएका छन् । सचिवालय सदस्य विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाटै उम्मेदवार बनेका छन् । उनी २०७९ मा पनि यो क्षेत्रबाट सांसद बनेका थिए । अर्का सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर–२ बाट उम्मेदवार बनेका छन् । 

रास्वपा सचिवालय सदस्य सोबिता गौतम चितवन–३ पुगेकी छन् । उनी २०७९ को चुनावमा काठमाडौं–२ बाट सांसद बनेकी थिइन् । रास्वपाले काठमाडौं–१ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाएको छ । विवेकशील साझा र रास्वपाबीच एकता भएपछि उनी समानुपातिक सूचीमा थिइन् । समानुपातिकबाट नाम फिर्ता लिएर उनी प्रत्यक्ष उम्मेदवार बनेकी हुन् ।

सोमबार मात्र राप्रपा छोडेका सुनील केसी रास्वपाबाट कठमाडौं–२ मा उम्मेदवार भएका छन् । उनी २०७९ मा राप्रपाबाट बागमती प्रदेशसभा काठमाडौं–२ (१) का सांसद निर्वाचित भएका थिए । उनी बालेन्द्र शाहसँग नजिक थिए । उनलाई उम्मेदवार बनाउन शाहले नै जोडबल गरेको रास्वपाका नेताहरूले बताएका छन् । काठमाडौं–३ मा काठमाडौं नगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डे उम्मेदवार बनेका छन् । उनी पनि बालेन्द्र शाहकै जोडबलमा उम्मेदवार बनेका हुन् । काठमाडौं–६ मा शिशिर खनाल र ७ मा गणेश पराजुली उम्मेदवार छन् । २०७९ को चुनावमा यी क्षेत्रबाट नै खनाल र पराजुली सांसद थिए । काठमाडौं–१० मा प्रदीप विष्ट रास्वपा उम्मेदवार बनेका छन् । 

झापा–४ मा रास्वपा झापा जिल्ला समितिका सचिव शम्भु सुस्केरा ढकाललाई उम्मेदवार बनाइएको छ भने झापा–३ मा जिल्ला सभापति प्रकाश पाठक उम्मेदवार बनेका छन् । झापा–२ मा निवर्तमान उपसभामुख इन्दिरा राना रास्वपाको उम्मेदवार बनेकी छन् । यो निर्वाचन क्षेत्रमा एमालेले निवर्तमान सभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । झापा–१ मा निशा डाँगी उम्मेदवार बनेकी छन् । उनी रास्वपाको सचेतक रहिसकेकी छन् । राना र डाँगीबीच झापा–२ लाई लिएर विवाद थियो । दुवै जनाले झापा–२ मा उम्मेदवार बन्न चाहेका थिए । विवाद लम्बिएपछि रास्वपाको उम्मेदवार चयन समितिले सभापति रवि लामिछानेलाई जिम्मा लगाएका थिए । 

पर्वतबाट केशव भुर्तेललाई उम्मेदवार बनाइएको छ । गत ४ पुसमा भुर्तेल रास्वपामा प्रवेश गरेका थिए । हालै पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएर जिल्लामा पार्टी स्थापना गर्ने नेता र कार्यकर्तालाई पाखा लगाइएको भन्दै रास्वपामा असन्तुष्टि देखिएको छ । पर्वतमा रास्वपा स्थापना हुँदाका सभापति नवराज भण्डारीले सामाजिक सञ्जालमा भनेका छन्,’ साथीहरूको अथक परिश्रमले पार्टीलाई यहाँसम्म ल्याइयो तर अहिले उम्मेदवार छनोट गर्दा जिल्लामा कुनै छलफल नै नगरी केन्द्रबाट नाम पठाउनु दुःखद छ । गरिब र झुपडीबाट पनि स्वच्छ छवि भएका युवा सांसद बन्न सक्छन् भन्ने मेरो बुझाइ थियो । तर, पार्टीले अहिले गरेको निर्णयले शुभचिन्तकहरूलाई निराश बनाएको छ ।’ भण्डारीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनी कांग्रेसको भूतपूर्व सैनिक संघबाट रास्वपा प्रवेश गरेका नेता हुन् । 

रास्वपाले धादिङ–१ मा अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ । भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–३ मा डा. तोसिमा कार्की उम्मेदवार भएका छन् । रास्वपाबाट ललितपुर–२ मा जगदीश खरेल उम्मेदवार बन्न चाहेका छन् । खरेलले रास्वपाबाट टिकट निश्चित भएपछि सोमबार मन्त्रीबाट राजीनामा दिएका छन् । तर ललितपुर–२ बाट रास्वपाका बुद्ध महर्जनले पनि आकांक्षा राखेका छन् । 

तेह्रथुममा ऋतुराज लिम्बूले टिकट पाएपछि रास्वपा जिल्ला र पालिका समितिले सामूहिक राजीनामा दिएका छन् । मधेश प्रदेशमा पनि उम्मेदवार चयनमा रास्वपाभित्र विवाद छ । उम्मेदवार चयनमा चलखेल भएको भन्दै सभापति लामिछाने र वरिष्ठ नेता शाह बसेको होटल बाहिर कार्यकर्ता र नेताहरूले विरोध गरेका थिए । विवाद भएका केही ठाउँका स्थानीय नेताले बागी उम्मेदवारीको घोषणा सामाजिक सञ्जालबाट गरिरहेका छन् । 

 रास्वपाले उम्मेदवार सिफारिस गर्न उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा नेताहरू शिशिर खनाल, सोबिता गौतम र बोधनारायण श्रेष्ठ रहेको समिति गठन गरेको थियो । बालेन्द्र शाह, विवेकशील साझा पार्टीका साथै उज्यालो नेपाल र थारू समुदायका नेता प्रवेश गरेपछि समितिलाई उम्मेदवार चयन गर्न कठिन भएको वाग्लेले बताएका छन् ।

उम्मेदवार चयन गर्न आइतबार बसेको केन्द्रीय समिति बैठकमा वाग्लेले धेरै आकांक्षीमध्येबाट सिफारिस गरिएको र आकांक्षीलाई कमभन्दा कम अन्याय हुने गरी निर्णय लिइएको बताएका थिए । २०७९ को चुनावमा रास्वपाका सांसदले जहाँ जितेका थिए, यस पटक सोही निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने कार्यविधि बनाइएको थियो ।

सप्तरी–२ मा सीके, ३ मा उपेन्द्र उम्मेदवार

मधेश प्रदेशबाट जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार बन्ने भएका छन् । जसपा नेपालले माओवादीबाट हालै प्रवेश गरेका उमेश यादवलाई सप्तरी–२ मा उम्मेदवार बनाउने भएको छ । जनमत पार्टी अध्यक्ष सीके राउत पनि सप्तरी–२ बाट उम्मेदवार बन्ने भएका छन् । राउतले गत निर्वाचनमा सोही क्षेत्रबाट जसपाका अध्यक्ष यादवलाई पराजित गरेका थिए । 

सप्तरी–२ मा मधेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंह पनि उम्मेदवार हुनेछन् । उनी जनमतबाट मुख्यमन्त्री भएका थिए । सिंहले सोमबार नै प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् । एमालेबाट टिकट पाए पनि सिंह आफ्नै दल स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका हुन् । मुख्यमन्त्रीबाट जनमतले जबर्जस्ती हटाएको आक्रोशमा सिंहले अध्यक्ष राउतविरुद्ध उनकै क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेका हुन् । जसपा नेपालका नेता शरतसिंह भण्डारी भने महोत्तरी–२ बाट निर्वाचन लड्ने भएका छन् । मधेशवादी दलहरूले उम्मेदवारको सूची टुंगो लगाइसकेका छैनन् ।

राप्रपामा कतै नयाँ कतै पुराना

राप्रपाले केही पुराना अनुहारलाई दोहोर्‍याएको छ भने केही क्षेत्रमा नयाँ उम्मेदवारलाई पनि स्थान दिएको छ । २०७९ मा चुनाव जितेका नेताहरू अध्यक्ष लिङ्देन झापा–३, विक्रम पाण्डे चितवन–३, ध्रुवबहादुर प्रधान नवलपरासी–२, दीपक सिंह मकवानपुर–१ र ज्ञानेन्द्र शाही जुम्लाबाटै उम्मेदवार भएका छन् । गत चुनावमा बाँके–२ बाट निर्वाचित भएका राप्रपा महामन्त्री धवलशमशेर राणाले यस पटक उम्मेदवारी नदिने भएपछि त्यहा नयाँ उम्मेदवारलाई मौका दिइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

रवीन्द्र मिश्रलाई काठमाडौं–१ बाट पुनः उम्मेदवार बनाइएको छ । गत निर्वाचनमा मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । काठमाडौं–२ मा यस पटक पनि कुन्ती पोखरेललाई उम्मेदवार बनाइएको छ । मकवानपुरबाट उम्मेदवार हुँदै आएका कमल थापा काठमाडौं सरेका छन् । उनी काठमाडौं–५ बाट उम्मेदवार भएका छन् । थापालाई उम्मेदवार बनाइएकामा स्थानीय नेता/कार्यकर्ताले विरोध गरेका थिए । 

त्यस्तै, काठमाडौं–३ मा सुन्दरसिंह बोहरा, ४ मा सुरेन्द्र भण्डारी, ६ मा उद्धव भेटुवाल, ७ मा लालकुमार लामा, ८ मा नवीन शाही, ९ मा दिलीप कार्की र १० मा बलराम थापालाई उम्मेदवार बनाइएको छ । स्वागत नेपालले झापा–२ बाट टिकट पाएका छन् । प्रवक्ता श्रेष्ठले उम्मेदवार छनोट गर्दा महिला, दलित, भूगोल, जनसंख्या र सबै वर्गको प्रतिनिधित्व गराउने कोसिस गरिएको दाबी गरे ।

कुलचन्द्र न्यौपाने

गंगा बीसी

जयसिंह महरा महरा विगत ९ वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी राजनीतिक घटनाक्रम तथा संसदीय मामिलाका समाचार लेख्छन् ।

Link copied successfully