निर्वाचन आयोगको निर्णय नेपालको संविधान, कानुन विपरीत भएको भन्दै त्यसविरुद्ध देउवा पक्षले कानुनी उपचार र सडक संघर्ष गर्ने उद्घोष गरेको थियो ।
काठमाडौँ — विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको शेरबहादुर देउवा पक्षले अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत भएको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार रिट दायर गरेका थिए ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबार नै राखिएको छ ।
निर्वाचन आयोगको निर्णय नेपालको संविधान, कानुन विपरीत भएको भन्दै त्यसविरुद्ध देउवा पक्षले कानुनी उपचार र सडक संघर्ष गर्ने उद्घोष गरेको थियो । खड्काले नवनिर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै आफैंले अदालतमा मुद्दा दायर गरेकाले नैतिकताका आधारमा चुनाव नलड्ने निर्णय लिएका छन् ।
मंगलबार मुद्दा पेसीमा चढ्नुअघि नै फिर्ता लिने तयारी गरिएको छ ।
* पूर्व सभापति देउवाको सचिवालयले भने रिट फिर्ता लिने विषयमा कुनै सहमति नभएको भन्दै खण्डन गरेको छ ।
सचिवालयले जारी गरेको विज्ञप्ति :
'रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही सञ्चारमाध्यमहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निष्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ ।'
