उम्मेदवारी दर्ताको समय सार्न आयोगलाई दबाब, सर्वोच्चकाे रिट लिएर पुग्यो देउवा समूह

कांग्रेस, एमाले लगायतका दलले मनोनयन दर्ताको समय माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका छन् ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Pressure on the Commission to postpone the date of candidacy registration, Deuba group reaches the Supreme Court with a writ petition

काठमाडौँ — आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ ।

माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । 

आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे पेसी पाएपछि शेरबहादुर देउवा पक्ष पनि आयोग पुगेको छ । देउवाका तर्फवाट सर्वोच्चमा पेस भएको रिटको कपी नै लिएर मीनबहादुर विश्वकर्मा नेतृत्वमा देउवा समूह निर्वाचन आयोग पुगेको हो । उनीहरुले प्रमुख आयुक्तसहितलाई भेटेर मनोनयन मिति सार्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको र त्यसमा चित्त नबुझेपछि आफूहरु अदालत गएकाले अदालतको पहिलो सुनुवाइपछि मात्र मनाेनयन गर्ने व्यवस्था मिलाउन देउवा पक्षले आग्रह गरेको छ । 

आयोगका अनुसार कांग्रेस, एमाले लगायतका दलले मनोनयन दर्ताको समय माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका छन् । यद्यपि आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  बताए । ‘यहाँ केही दलमा नेता पनि आउनुभएको छ । आयोगले हालसम्म केही निर्णय गरेका छैन,’ भण्डारीले भने ।

कान्तिपुर

Link copied successfully