राष्ट्रिय सभामा होला कांग्रेस-एमाले-नेकपा गठबन्धन ?

कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालले छुट्टाछुट्टै भेटवार्तामा गठबन्धनको प्रयास थालेका छन् ।

पुस २१, २०८२

कुलचन्द्र न्यौपाने, गंगा बीसी

Will there be a Congress-UML-NCP alliance in the National Assembly?

What you should know

काठमाडौँ — आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच गठबन्धनका लागि शीर्ष नेताहरूले वार्ता थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले छुट्टाछुट्टै भेटवार्तामा गठबन्धनको प्रयास थालेका हुन् ।

जेन–जी आन्दोलनपछि पहिलो पटक आइतबार भेट्दै ओली र दाहालबीच ‘वान अन वान’ (एक्लाएक्लै) संवाद भएको छ । ‘नेपाली समाज भारत’ को कार्यक्रमका लागि दिल्ली उड्नुअघि दाहालले ओलीसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य र राष्ट्रियता स्वाधीनताको मुद्दामा छलफल गरेका हुन् । दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनबारे दुई नेताबीच छलफल भएको बताए । ‘समसामयिक राजनीतिक विषय विशेषगरी राष्ट्रिय स्वाधीनता, राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा सहकार्य गर्नेबारे दुई शीर्ष नेताबीच कुराकानी भयो,’ उनले भने, ‘फेरि छलफल गर्ने कुरा भएको छ ।’

यसअघि १९ मंसिर र ७ पुसमा देउवालाई भेट्दै ओलीले सहकार्यबारे छलफल गरेका थिए । १७ असार २०८१ मा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीले तत्कालीन सातबुँदे सहमतिबाट एमाले पछि नहटेको भन्दै चुनावमा सहकार्य गर्न देउवालाई प्रस्ताव गरेका छन् । एमालेबाट ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन गर्ने प्रस्ताव आएको कांग्रेस नेताहरूको भनाइ छ ।

यस्तै नेकपाका नेताहरूले कांग्रेस र एमालेसँग सम्भावित सहकार्यबारे छुट्टाछुट्टै छलफल गर्दै आएका छन् । नेकपा नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियता र सम्भावित सहकार्यबारे एमाले र कांग्रेससँग छलफल भइरहेको बताए । ‘त्यस्तो ठोस निर्णय भइसकेको छैन,’ उनले भने, ‘देशको समग्र परिस्थितिबारे कुरा भएको हो । अहिले राष्ट्रियता खतरामा छ । त्यसैले कसरी सहकार्य गर्ने भन्ने विषय पनि प्रमुख छ ।’ उनले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउने विषयमा संयोजक दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने बताए ।

दाहालले प्रमुख तीन दलका अतिरिक्त राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने लोसपा र जसपा नेपाललाई समेत समेटेर लैजानुपर्ने प्रस्ताव गरेका छन् । त्यसमा ओलीले कुनै जवाफ नदिएको कांग्रेसका एक नेताले बताए । ‘दाहालले देउवा र ओलीलाई यही भनेर भारत गएका छन् । अब देउवा र ओलीको कुराकानीपछि भागबन्डालाई अन्तिम टुंगो लगाउने कुरा भएको छ’ कांग्रेसका एक नेताले भने ।

कांग्रेस, एमाले र माओवादीले प्रदेश सरकारमा सहकार्य गरेका छन् । केही दिनअघि मधेश सरकार निर्माणमा माओवादी र कांग्रेसबीच सहकार्य भएको हो । मधेश सरकारबाहेक अन्य प्रदेशमा कांग्रेस र एमाले सहकार्यमा छन् । कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा गठबन्धन गर्ने सवालमा तीन विकल्पमा छलफल भइरहेको बताए । कांग्रेस र एमाले, कांग्रेस र नेकपा, कांग्रेस, एमाले र मधेशी दलहरूबीचमा सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

पार्टी सभापति देउवा निवासमा आइतबार भएको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गठबन्धनका विषयमा भइरहेको छलफलबारे ब्रिफिङ गरेका थिए । खड्का र केन्द्रीय सदस्य रमेश लेखकले विभिन्न दलहरूसँग छलफल गरिरहेका छन् । ‘कार्यवाहक सभापतिले गरेको ब्रिफिङअनुसार सबै दलसँग छलफल भएको छ । तर, निष्कर्षमा पुगिसकेको छैन’ सिटौलाले भने । कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार छनोटका विषयमा सोमबार केन्द्रीय कार्यसम्पादन बैठकमा छलफल गर्ने भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि ११ माघमा निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा मधेश प्रदेशका ४, कोशी र लुम्बिनी प्रदेशका ३/३ तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका २/२ जना सदस्यको पदावधि २० फागुनबाट सकिन लागेको हो ।

ओली र दाहालको मिलनविन्दु ‘शारदाको घर’

एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालबीचको आइतबारको संवाद निर्माण व्यवसायी शारदा अधिकारीको ललितपुर मानभवनस्थित घरमा भएको छ । यो त्यही घर हो, जुन घरमा भएका वार्ताबाट २०७४ को निर्वाचनमा ओली र दाहालले सहकार्य सुरु गरेका थिए । अधिकारीको घरमा शृंखलाबद्ध वार्ताबाट एमाले र माओवादीबीच २०७४ को निर्वाचनमा सहकार्य गर्ने सहमतिमा पुगेका थिए । शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारी भने आफूले लिएको ठेक्का समयमै नसकेर विवादमा पर्दै आएका ठेकेदार हुन् ।

एमाले र तत्कालीन माओवादीबीच जेठ २०७५ मा पार्टी एकता गर्ने सहमति अधिकारीको त्यही घरमा भएको थियो । दाहाल कार्यकारी अध्यक्ष, ओली प्रधानमन्त्री, पाँचवर्षे कार्यकालमा दुवै आधा–आधा समय प्रधानमन्त्री हुने, एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेलगायत सहमति २०७४ को निर्वाचनअघि नै भएको थियो । त्यो निर्वाचनमा एमाले–माओवादी गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी १७४ सिट जितेको थियो ।

ओली प्रधानमन्त्री भएपछि दुई नेताबीच शक्ति संघर्ष सुरु भएको थियो । सर्वोच्च अदालतले नेकपासम्बन्धी एक निवेदनको सुनुवाइ गर्दै एमाले र माओवादीलाई अलग गरिदिएपछि उनीहरू विभाजित भएका थिए । २०७९ को निर्वाचनपछि फेरि ओली र दाहालबीच सहकार्य भयो । त्यतिबेला एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री भए । पुस २०७९ मा भएको यो सत्ता गठबन्धन दुई महिनापछि फागुनमै भत्किएको थियो ।

राष्ट्रपति कसलाई बनाउने विषयमा कुरा नमिलेपछि दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका थिए । २०८० असारमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएपछि दाहाल सरकार ढलेको थियो । त्यसपछि ओली र दाहालबीच तिक्तता बढ्दै गयो । जेन–जी आन्दोलनपछि यी दुई नेताबीच सम्बन्ध सुधार हुन सकेको थिएन ।

जेन–जी आन्दोलन अघिसम्म दाहाल खुमलटारस्थित अधिकारीकै घरमा बस्दै आएका थिए । उनी २०७४ मंसिरमा लाजिम्पाटबाट खुमलटार सरेका थिए । २४ भदौमा उनको निवासमा आगजनी भएपछि हात्तीवन बस्दै आएका छन् । अधिकारीको घरमा आइतबार ओली र दाहालबीच करिब आधा घण्टा संवादसँगै यी नेताबीच सम्बन्ध सुधार भएको छ ।

कुलचन्द्र न्यौपाने

गंगा बीसी

Link copied successfully