विभिन्न १७ घटक जोडेर बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहाललाई पार्टीका जिल्ला समितिहरूले विभिन्न ९ जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरेका छन् ।
What you should know
काठमाडौँ — २०७९ को प्रतिनिधिसभा चुनावमा उम्मेदवारको मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाटै चुनाव उठ्ने बताएका थिए ।
त्यही कुराको विश्वास दिलाउन उनले भरतपुर महानगर–१४, शिवनगरमा घर नै बनाएर सरे । पञ्चेबाजाको लश्कर नै लगाएर घर सरेपछि दाहालले चितवनसँगको आफ्नो साइनो झनै कसिलो भएको बताएका थिए । यस्तो भने पनि अन्ततः उनले चितवन–३ सुरक्षित देखेनन् र गोरखा–२ पुगे ।
त्यतिबेला चितवनबाट गोरखा सरेपछि भने दाहालले नयाँ–नयाँ स्थानबाट चुनाव लड्ने आफ्नो विगत भएको बताउँदै भनेका थिए, ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेशमा सिरहा र चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ ।’ के दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि यस्तै मनोदशा खेप्दै छन् ?
त्यसो त दाहालले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचन लडेका थिए । विद्रोहबाट संसदीय राजनीतिमा आइपुगेका दाहालले उक्त निर्वाचनमा दुवै स्थानबाट जीत हासिल गरे । २०७० मा दोस्रो पटक भएको संविधानसभा निर्वाचनमा दाहाल काठमाडौं–१० मा र सिराहा–५ बाट चुनाव लडे । काठमाडौंबाट पराजित दाहालले सिराहाबाट पनि निकै कठिनसँग जिते । २०७४ मा भने उनी गृहचजिल्ला चितवन-३ बाट विजयी भएका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर भरतपुर महानगरमा छोरी रेणु दाहाललाई मेयर बनाएपछि धेरैले आँकलन गरेका थिए, आउने निर्वाचनमा दाहाल चितवनबाटै चुनाव उठ्लान् । तर त्यस्ता आँकलनलाई गलत साबित गर्दै दाहाल पुगे, गोरखा–२ ।
यसपालि दाहाल कहाँबाट चुनाव उठ्लान् ? यो प्रश्नको उत्तर अहिले स्वयं दाहालसँग पनि छैन । विभिन्न समूह, उपसमूहका छरिएका १७ घटक जोडेर नेपाली कम्युनिस्ट पार्टी बनाएर त्यसको संयोजक बनेका दाहाललाई पार्टीका जिल्ला समितिहरूले विभिन्न ९ जिल्लाबाट उम्मेदवारका रूपमा सिफारिस गरेका छन् । दाहाल कालीकोट, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुम पूर्व र सुदूरपश्चिमको कैलाली–३ बाट सिफारिसमा परेका छन् ।
कास्की–३ स्थित अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर चितवन बसाइँ सरेका दाहाल अघिल्ला निर्वाचनमा जस्तै यसपालि पनि सुरक्षित निर्वाचन क्षेत्रको हिसाबकिताबमा छन् । गोरखा–२ बाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उठ्ने तयारी गरेपछि दाहाल चुनाव जित्ने क्षेत्र खोज्नै पर्ने भएको छ । नेकपा नेताहरूका अनुसार दाहालका लागि सबैभन्दा सुरक्षित क्षेत्र रुकुम पूर्व मानिएको छ । हालसम्म रुकुमबाट अन्य दलका उम्मेदवारले प्रतिनिधिसभामा चुनाव जितेका छैनन् ।
