पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ ।
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३–२४ भदौको घटनाबारे बुझ्न गठित जाँचबुझ आयोगले पत्र काटेको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले ओलीको गुन्डुस्थित निवासमै पुगेर पत्र बुझाएको पुष्टि गरे ।
पत्रमा सात दिनभित्र जवाफ दिनुपर्ने समयसीमा तोकिएको छ । आयोगले बयान लिन ओलीसँग मात्र बाँकी छ । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग गत बुधबार बयान सकेको थियो ।
आयोगले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाललाई पनि बयानका लागि पत्राचार गरिसकेको छ । आयोगले यसअघि फिल्डमा खटिएका सुरक्षाकर्मी हुँदै नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान लिइसकेको छ ।
आयोगले सुरुमा २४ भदौमा भएको क्षतिको विवरण संकलन गरेको थियो । त्यसपछि ६ असोजमा आयोगले प्रहरी प्रधान कार्यालयसँग २३ र २४ भदौमा फिल्डमा खटिएका जवानदेखि फिल्ड अधिकृतसम्म र आदेश दिने अधिकृतहरूको तहगत विवरण मागेको थियो ।
जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठित आयोगलाई २३ र २४ भदौका घटना (हिंसा, तोडफोड, लुटपाट, आगजनी) का कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने मुख्य जिम्मेवारी तोकिएको छ ।
सम्बन्धित समाचार
सुरक्षा र प्रशासन प्रमुखहरूले जाँचबुझ आयोगमा दिए एकनासको बयान
जाँचबुझ आयोगको अधिकांश काम सकियो, उच्च पदस्थसँग बयान अझै बाँकी
