गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा

कार्यवाहक सभापति खड्काले बोलाएको बैठकमा सम्भावित विकल्पबारे छलफल हुँदै

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Top leaders of the establishment party in discussion after Gagan-Bishwa calls for special general convention

काठमाडौँ — कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न संस्थापन पक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने निर्णय लिएसँगै दबाबमा रहेको संस्थापन पक्षले सहमतिका लागि सम्भावित विकल्पहरूका बारेमा छलफल गर्न बैठक बोलाइएको एक केन्द्रीय सदस्यले बताए । 

बैठक दिउँसो १ बजे बस्ने भएको छ ।  सभापति शेरबहादुर देउवाले आज बिहान आफूनिकट केही नेताहरूसँग पनि छलफल गरेका थिए। देउवाको जोड कुनै विकल्पबाट विशेष महाधिवेशन रोक्नुपर्ने भन्ने छ। तर त्यस्तो के विकल्प हुने भन्ने बारेमा कुनै प्रस्ताव उनले अघि सारेका छैनन् ।

यसअघि देउवाकै जोडबलमा निर्वाचन अगाडिको महाधिवेशनको तालिका आएको थियो। तर त्यो तालिकाअनुसार महाधिवेशन गर्न क्रियाशील सदस्यताको काम नसकिएपछि संस्थापन पक्ष निर्वाचन पछाडि महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएको छ। 

महाधिवेशनको कार्यतालिका संशोधनलगायतका विषयमा छलफल गर्न अझै ३ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बस्दैछ।

महामन्त्रीद्वय थापा र शर्माले विवरण निकालेको संयुक्त विज्ञप्तिमार्फत यसअघि तोकेको कार्यतालिका स्थगन भएको जनाएका छन्। पुस १६ गते वडा अधिवेशन सुरु गरी पुसको २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका गत १५ गतेको बैठकले तय गरेको थियो।

तोकिएको कार्यतालिकाअनुसार वडा अधिवेशन नभएपछि महामन्त्रीहरूले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएको भन्दै पुस २७-२९ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

कान्तिपुर

Link copied successfully