निधि भन्छन् : कांग्रेसमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

सबै दल निर्वाचनमा होमिइसकेकाले निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन हुन नसक्ने पनि उनको भनाइ छ

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Nidhi says: The rationale for a special general convention in Congress has ended

What you should know

काठमाडौँ — कांग्रेस नेता विमलेन्द्र निधिले विषेश महाधिवेशनको औचित्य समाप्त भइसकेकाले महामन्त्रीले बोलाएको भेलाको कुनै अर्थ नभएको बताएका छन्।  मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सर्वसम्मतिबाट नियमित कार्यतालिका पास भएपछि विशेष महाधिवेशनको औचित्य त्यसै  समाप्त भएको उनले बताए । 

'जुन दिन  पुस २६ देखि २८ सम्म नियमित महाधिवेशन हुन्छ भनेर सर्वसम्मतिले निर्णय भयो त्यसै दिनदेखि हो । विशेष महाधिवेशनको औचित्य समाप्त भएको हो,' उनले कान्तिपुरसँग भने, 'विशेष महाधिवेशन नगर्नेबारेमा १५ गते नै टुङ्गो लागिसकेको छ ।'

सबै दल निर्वाचनमा होमिइसकेकाले निर्वाचनअगाडि विशेष वा नियमित महाधिवेशन हुन नसक्ने पनि उनको भनाइ छ । महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन गैरजिम्मेवारपूर्ण काम भएको उनको प्रतिक्रिया छ । 

 'केन्द्रीय कार्यसमितिले जे निर्णय गरेको छ त्यसको कार्यान्वयन गर्नुको महामन्त्रीको काम हो। केन्द्रीय कार्यसमितिले त अहिले विशेष महाधिवेशन गर्ने भनेर निर्णय गरेको छैन,' उनले भने,' त्यसैले विशेष महाधिवेशनका लागि आह्वान गर्नु भनेको  केन्द्रीय कार्यसमितिको निर्णयविपरीतको काम हो ।'

सहमतिका लागि सभापतिसँग बसेर मिलाउने कुनै प्रयास भएको छ भन्ने प्रश्नमा नेता निधिले भने, 'त्यसबारे मलाई जानकारीमा छैन। उहाँहरूले त हामीलाई गर्नुभएको छैन । केको छलफल गर्नु ?' 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसम्पादन समितिमा रहेका संस्थापन पक्षका सदस्यहरूसँग आज दिउँसो छलफल गर्दैछन्। आजै बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा प्रस्तुत गर्ने धारणाका बारेमा पनि उक्त छलफलमा कुराकानी हुने बताइएको छ । 

महामन्त्रीद्वय गगन थापा र विश्विप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै पुस २७-२९ मा विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसमा तरंग पैदा भएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully