यो अंकमाल कहिलेसम्म ?

राप्रपाको ३५ वर्षे यात्रा, ६ पटक विभाजन, ७ पटक एकता

पुस १६, २०८२

दुर्गा दुलाल

How long will this hug last?

What you should know

काठमाडौँ — २८ फागुन २०७६। राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रम थियो। पोडियममा देखिएका कमल थापाको हातमा हिन्दु धार्मिक ग्रन्थ गीता थियो।

 उनले गीता देखाउँदै भने, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्न।’

थापाको गीता कसम करिब २ वर्षमै तोडियो। २०७८ मा भएको एकता महाधिवेशनमा पार्टी अध्यक्षमा राजेन्द्र लिङदेनसँग हारेपछि थापाले राप्रपा छाडेको घोषणा गरे। महाधिवेशनमा लिङदेनले १ हजार ८ सय ४४ मत ल्याएका थिए भने थापाले १ हजार ६ सय १७ मत प्राप्त गरेका थिए। २५ मंसिर २०७८ मा हेटौँडा पुगेर उनले राप्रपा नेपाल ब्युँताए।

यसरी अलग भएका थापा ९ पुसमा पुनः राप्रपामा फर्किए। राप्रपा र राप्रपा नेपालबीच पुनः एकीकरणको सहमति भयो, अनि एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुने भन्दै दुवैले अंकमाल गरे।

राप्रपाका निम्ति टुटफुट कुनै नयाँ कुरा भने होइन। बारम्बार फुट्ने अनि जुट्ने परम्पराको पछिल्लो दृष्टान्त मात्रै थियो यो। इतिहासतिर फर्केर हेर्ने हो भने स्थापना भएको ३५ वर्षमा राप्रपा ६ पटक विभाजन भएको छ भने पाँच पटक एकता भएको देखिन्छ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि पञ्चायतमा रजगज गरेकाहरू राजनीतिक दल बनाएर जाने निष्कर्षमा पुगे। उनीहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठन गर्ने र त्यसमै गोलबद्ध हुने निर्णय गरे। तर राप्रपाको इतिहास त्यसयता कहिल्यै सरल रेखामा बगेन। पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरू सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्दलगायत सो पार्टीमा समाहित भएका थिए भने उनीहरुकै टकरावका कारण कहिले जुट्ने अनि फेरि फुट्ने भइरह्यो।

यसरी पार्टी फोड्ने र जोड्नेका खेलाडी थिए— पञ्चायतकालमा प्रधानमन्त्री भइसकेका नेताहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै पञ्चायतका मन्त्रीहरू प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा लगायत। यीमध्ये केही नेता अहिले पनि सक्रिय राजनीतिमा छन्। सूर्यबहादुर थापा, रविन्द्रनाथ शर्मा, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीको निधन भइसकेको छ।

गठनदेखि नै विभाजन

पञ्चायत समाप्त भएर प्रजातन्त्र आएपछि उनीहरू राजनीतिमा सक्रिय हुनैपर्ने थियो। त्यसैले उनीहरूले पार्टीको नाम, विधान र झन्डा तयार गरे। यति गरेपछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवाद सुरु भयो। तत्कालीन समयमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच विवाद सतहमा देखियो। को अध्यक्ष हुने भन्ने विवादले पार्टी एक नभई दुई भयो।

२०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो। बहुदल स्थापनापछि भएको पहिलो चुनावमा यी दुवै पार्टीले भाग लिए। चुनावमा दुवै पार्टीले लज्जाजनक हार व्यहोरे। देशभरका २ सय ५ निर्वाचन क्षेत्रमा चन्द पक्षले तीन र थापा पक्षले एक सिट मात्रै जित्यो।

राप्रपा (चन्द) बाट पशुपति शमशेर राणा (सिन्धुपाल्चोक), प्रकाशचन्द्र लोहनी (नुवाकोट) र रामकृष्ण आचार्य (रसुवा) निर्वाचित भएका थिए। दार्चुलाका अकबरबहादुर सिंह राप्रपा (थापा) बाट जित्ने एक्लो सांसद बने। थापा आफैँ पनि धनकुटाबाट विजयी हुन नसकेपछि चन्द पक्षसँग निहुरिन बाध्य भए।

यसबाट पाठ सिक्दै उनीहरू एकताको प्रयासमा लागे। केही महिनाको प्रयासपछि उनीहरू पार्टी गठन गर्न सहमत भए। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने निर्णय भयो। चुनाव चिह्न हलो राख्दै नेतृत्व प्रजातान्त्रिक प्रक्रिया अनुसार प्रत्येक पाँच वर्षमा परिवर्तन गर्ने कुरामा उनीहरू सहमत भए। २०४८ माघमा एकीकृत पार्टी बन्यो। त्यसको अध्यक्ष सूर्यबहादुर थापा बने। थापा अध्यक्ष भए पनि चन्द र थापा गुट भने कायम नै रह्यो।

तेस्रो पार्टी हुँदा सत्ताको स्वाद तर दोस्रो भएपछि विभाजन

राप्रपाको यात्रा त्यसपछिका दिनमा पनि सरल बाटोमा बगेन। २०५१ सालमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भंग गर्दै मध्यावधि चुनाव गराए। यो एकताले राप्रपालाई संसदीय राजनीतिमा केही शक्तिशाली बन्ने अवसर प्रदान गर्‍यो।

देशभर १९ सिट जित्दै राप्रपा सत्ताको साँचो बोकेको पार्टी बन्यो। चुनावको प्रतिफलअनुरुप राप्रपा तेस्रो शक्तिको रुपमा उदाउनुका साथै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्पष्ट बहुमत नआउँदा सत्ताको साँचो बन्न पुग्यो।

मध्यावधि चुनावमा कुनै पार्टीले बहुमत नल्याएपछि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन गर्‍यो। यो सरकार नौ महिना मात्रै चल्यो। अधिकारीलाई हटाएर कांग्रेस नेता शेरबहादुर देउवा सत्ताको नेतृत्वमा आए। उक्त खेलको एक खेलाडी राप्रपा थियो। त्यसको नेतृत्व गरेका थिए सूर्यबहादुर थापाले।

थापाको प्रयासपछि देउवा प्रधानमन्त्री बने। देउवा प्रधानमन्त्री हुँदा थापाले आफूखुसी मन्त्री सिफारिस गरेको भन्दै पार्टीभित्र लोकेन्द्रबहादुर चन्द विरोधी भएर निस्किए।

केही महिनापछि देउवा सरकार ढाल्न एमाले नेताहरु सक्रिय भए। राप्रपाको त्यही असन्तुष्ट चन्द पक्षले एमालेलाई साथ दियो। लोकेन्द्रबहादुर चन्दले आफू प्रधानमन्त्री बन्न पाउने आश्वासन पाएसँगै एमालेलाई साथ दिए। २०५४ सालमा राप्रपा–एमालेको गठबन्धनबाट चन्द प्रधानमन्त्री बने।

आफैंले नेतृत्व गरेको सरकार आफ्नै साथीका कारण ढलेपछि थापा चन्दसँग आक्रोशित भए। तत्कालीन समयमा थापाले चन्दलाई ‘राजनीतिक नैतिकता नभएको अवसरवादी’ भन्दै पार्टीको बैठकमै झपारेका थिए।

चन्द र थापाको विवादले राप्रपाभित्र असन्तुष्टिको खाडल बढ्दै गयो। चन्दको कदमले अध्यक्ष थापा बदलाको भावना लिदै अघि बढे। उनी आफ्नै साथी चन्द नेतृत्वको सरकार ढालेर कांग्रेसको सहयोगमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगे। पार्टी गठन भएको एक वर्षभित्र पार्टी नेतृत्वको सरकार गिराउँदै राप्रपाले अर्को सरकार गठन गर्‍यो।

यो मतभेदले थापा प्रधानमन्त्री बनेपछि पार्टीले विभाजनको रूप लियो। सत्ताको जोडघटाउमा सुरू भएको राप्रपाभित्रको मनमुटावका कारण सूर्यबहादुर थापा प्रधानमन्त्री भएकै बेला पार्टी विभाजन भयो। एकता भएको ६ वर्षपछि पार्टीमा दोस्रो पटक विभाजन भएर एकतापूर्वकै अवस्थामा पुग्यो। २०५३ सालमा राप्रपा चन्द र राप्रपा थापाको रुपमा पार्टी विभाजन भयो।

२०४८ सालमा जस्तै यो फुट उनका लागि फलदायी भएन। २०५६ को आम निर्वाचनमा दुवै राप्रपाले नराम्रो हार व्यहोरे। थापा पक्षले ११ सिट जितेर चित्त बुझायो भने राप्रपा (चन्द) ले एक सिट पनि जित्न सकेन। पहिलो निर्वाचनमा चन्द पक्ष बलियो र थापा पक्ष कमजोर भएको थियो। तर, ६ वर्षपछि स्थिति ठिक उल्टो भयो।

यो हारपछि पुनः एकीकरणको दबाब सिर्जना भयो। उनीहरु तयारीमा जुटे। पहिलो एकीकरणको नौ वर्षपछि र विभाजनको तीन वर्षपछि २०५७ सालमा पार्टी एकीकण भयो।

ज्ञानेन्द्रको शासनमा तेस्रो विभाजन

दोस्रो पटक हारका कारण एक भएको यो पार्टीका नेताहरुले सच्चिने चेत देखाएनन्। एकीकरण भएको दुई वर्षमा उनीहरु भित्र फाटो आयो। यसको एकमात्र कारण पूर्व राजा ज्ञानेन्द्र शाहको आफैं सत्ता चलाउने चाहाना थियो।

जब राजाको हैसियतमा ज्ञानेन्द्रले निर्वाचित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५९ असोज १८ मा बर्खास्त गरे, यो घटनासँगै राप्रपामा पुनः फुटको बिजारोपण भयो। सूर्यबहादुर थापा राजा ज्ञानेन्द्रको हस्तक्षेपको विपक्षमा थिए। तर, राजाको प्रस्ताव स्वीकार गर्दै लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बनेपछि विभाजनले अंकुराउने मौका पायो।

दोस्रो विभाजनमा चन्द छोडेर थापा क्याम्पमा आएका कमल थापाले यतिबेला भने सूर्यबहादुरलाई छोडेर राजालाई साथ दिए। कमल थापाले राजालाई साथ मात्रै दिएनन्, पार्टी पनि विभाजन गरे। २०६२ पुसमा छुट्टै भेला बोलाएर ‘राप्रपा नेपाल’ गठन गरे अनि आफू अध्यक्ष भएको घोषणा गरे। राजालाई साथ दिन राप्रपाको तेस्रो फुटको नेतृत्व गरेका थापाले राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको जिम्मेवारी पाए।

चौथो फुटपछि राप्रपा तीन चीरामा

यसरी दुई वटा भएको राप्रपामा थापा र उनीसँगै रहेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी तत्कालीन अध्यक्ष पशुपति शमशेर राणासँग अलग भए। राणालाई अध्यक्ष स्वीकार गर्न नसकेपछि उनी आफैं ‘राष्ट्रिय जनशक्ति पार्टी’ नामको नयाँ पार्टी गठन गर्दै राप्रपा चौथो पटक फुटाए।

यसरी पार्टी स्थापनाको एक दशकमा पूर्वपञ्चहरू राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टी गरी तीन पार्टीका स्वरुपमा रहन गए। २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा यी तीनै पार्टीले भाग लिए। यो निर्वाचनमा पनि उनीहरु कमजोर बने। अध्यक्ष पशुपति शमशेर आफैं पराजित भए। उनी २५ वर्षपछि पहिलो पटक पराजित भएका थिए।

संविधानसभा निर्वाचनमा हार व्यहोरेसंगै पूर्वपञ्चहरूले एकताको तेस्रो प्रयास सुरु गरे। २०७० साल जेठमा यी दुई पार्टीहरूबीच एकता भयो। राणा र सूर्यबहादुर थापा एकै ठाउँमा आइपुगे। नयाँ पार्टीको नाम राप्रपा नै राखियो। यद्यपि थापा जीवित रहुन्जेल नेतृत्वका लागि विवाद भने चलिरहृयो।

२०७२ बैसाखमा थापाको निधन भयो। त्यसपछि लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाले आलोपालो गरी पार्टी पालै पालो हाँक्ने सहमति गरे। यसबीचमा उनीहरूले कमल थापालाई ल्याउने प्रयास गरे तर उनी राजासहितको राजनीतिक व्यवस्थाको पक्षमा रहे भने राणाहरु अब गणतन्त्रबाट फर्किन नसक्नेमा पुगे।

चौथो एकता

दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा र राप्रपा नेपाल दुई पार्टीले भाग लिए। उनीहरु हलो र गाई चिहृन लिई चुनावी मैदानमा होमिएका थिए। निर्वाचनको परिणाम राप्रपाले प्रत्यक्षमा ३ सिट जित्यो भने राप्रपा नेपालले प्रत्यक्षमा कुनै पनि सिट जितेन। कुनै सिट जित्न नसके पनि हिन्दू धर्म र संवैधानिक राजतन्त्रको मुद्दा बोकेको थापाको राप्रपा नेपालले समानुपातिकमा २४ सिट प्राप्त गर्न सफल भयो। राप्रपाले भने प्रत्यक्षमा तीन र समानुपातिकमा ९ सिट प्राप्त गर्‍यो।

यसरी विभाजन हुँदा आपसमा कमजोर भएको निष्कर्षसहित पुनः एकीकरण प्रक्रिया सुरु गरे। यी दुई पार्टीबीच २०७३ मंसिर ६ गते एकता भयो। कमल थापा पार्टी अध्यक्ष र राणा राष्ट्रिय अध्यक्ष बने।

पाँचौँ विभाजन

यो पार्टीको चौथो एकता थियो। तर, यो एकता पनि लामो समय टिक्न सकेन। २०७३ चैतमा डा प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरे। यसरी अलग पार्टी बनाउनुको पछाडीको कारण थियो लोहनीको कुनै भूमिका नै नभएको। स्थापनाकालदेखिका नेता लोहनीले अध्यक्ष नपाउनु अनि पार्टीमा कुनै भूमिका नहुँदा विभाजन गरेका थिए। पशुपति शमशेर राणाले २०७४ साउनमा पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) गठन गरे।

How long will this hug last?
२०७५ माघमा एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्रजातान्त्रिक) बीच एकता भई राप्रपा संयुक्त गठन गर्ने सहमती भयो। यसका लागि साउन २५ गते कार्यक्रम राखियो। तर २४ साउनमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले विज्ञप्ति निकाले।

एकताका लागि अन्तरिम विधानका अन्तरवस्तुमा थप छलफल र सहमति आवश्यक रहेकाले एकता प्रक्रिया सफल पार्न दुवै दलबीच सन्तुलित विधानमा सहमति नभएको राणाले उल्लेख गरे। यसरी एक दिनअघि मात्र भएको उक्त घटनाले मिलिसकेका पूर्वपञ्चहरुको पार्टी फेरि पनि जोडिन सकेनन्। उनीहरुबीच राजसंस्थालाई हेर्ने दृष्टिकोण र निर्वाचन चिहृनका बारेमा कुरा नमिल्दा एकता भाँडियो। यसरी पार्टी एकता भाँडेको आरोप दीपक बोहोरादेखि राणा र थापा स्वयंलाई पनि एक अर्काले लगाए।

त्यसको आठ महिनापछि २५ फागुन २०७६ मा उनीहरुबीच सहमती भयो अनि राप्रपा फेरी एक भयो।

How long will this hug last?

छैटौँ विभाजन

१९ मंसिर २०७८ मा राप्रपाको नयाँ नेतृत्वका लागि निर्वाचन भयो र अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भए। लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत ल्याएका थिए। यसरी पराजित भएपछि थापाले हार स्वीकार गर्न सकेनन्। लिङ्देनलाई बधाइ त दिए तर खुलेर दिएनन् थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाए।

‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका थिए। ‘मैले राहत र उन्मुक्ति पाएको छु।’ How long will this hug last?

अनि २५ मंसिर २०७८ मा हेटौंडा पुगेर उनले भारी मनका साथ राप्रपा छाडेको घोषणा गरे। उनले पुनः पुरानै दल राप्रपा, नेपाल ब्युताए।

सातौँ एकता

यसरी अलग भएका थापा ९ पुसमा पुनः राप्रपामा फर्किने सहमती गरेका छन्। अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गर्दै राप्रपा र राप्रपा नेपालबीच पुनः एकीकरणको सहमति भयो। एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुने भनिएको छ। यो सातौँ एकिकरण सभा हुने छ।

दुर्गा दुलाल दुर्गा दुलाल कान्तिपरका पत्रकार हुन् । उनी कानून, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully