राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनका २२ जनालाई समावेश गर्दा कांग्रेसको सूचीमा भने चितवन शून्य देखिएको छ ।
चितवन — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा चितवनबाट कोही परेका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनका २२ जनालाई समावेश गर्दा कांग्रेसको सूचीमा भने चितवन शून्य देखिएको छ ।
'आज बिहानसम्म चितवनबाट कम्तीमा एकजना पर्ने भन्ने सुनेको थिएँ । अहिले परेनन् अरे भन्ने सुनेको छु ।' कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भने ।
यसअघि चितवनबाट समानुपातिक तर्फबाट मात्रै चितवन कांग्रेसका दुई जना प्रतिनिधिसभामा सांसद थिए ।
प्रतिनिधिसभाको २०७४ र २०७९ को दुवै निर्वाचनमा चितवनमा प्रत्यक्षतर्फ कांग्रेसले जित्न सकेको थिएन ।
स्थानीय होस् या संसदीय निर्वाचन हरेक चुनावमा चितवन कांग्रेसभित्र अन्तर कलह सतहमा आउने गर्छ ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पञ्चायतकालदेखि बारम्बार मन्त्री र सांसद भइसकेका अर्जुननरसिंह केसीदेखि राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसम्मको नाम समेटिएको छ ।
कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पूर्वमन्त्री रोमी गौचन थकाली, भीष्म आङदम्बे र भीमसेनदास प्रधानलगायतका नाम पनि अटाएका छन्।
यस्तै, पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमती रीना उप्रेतीदेखि उनकी बहिनी गोमा केसीसम्मको नाम पनि सूचीमा समावेश गरिएको छ।
समानुपातिक सुची तयार पार्ने क्रममा विवाद भएपछि कांग्रेसले संस्थापन पक्ष र इतरपक्षबीच ६०/४० कोभागबण्डा लगाएको थियो । कांग्रेसले ०६४ सालदेखि समानुपातिक भएर अवसर पाइसकेकालाई यसपटक नदोर्याउने मापदण्ड बनाएको थियो । कांग्रेसले बनाएको मापदण्ड अनुसार प्रदेश सभाका सांसद, स्थानीय पालिकाका पदाधिकारी, प्रदेशसभामा समानुपातिक रहेका व्यक्तिसमेत सूचीमा रहने छैनन् ।
