जेन-जीले यो सहमतिमा खुसी व्यक्त गर्दै रास्वपाका शीर्ष नेताहरूसँग आन्दोलनको ‘म्यान्डेट’ पालना गर्ने गरी बेग्लै समझदारी गर्न खोजेका छन् ।
काठमाडौँ — वैकल्पिक राजनीतिका तीन प्रमुख समूह अब एउटै पार्टी र चिह्नबाट निर्वाचनमा होमिने भएका छन् ।
रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समेटिएको छ ।
रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको एकताको सहमतिपत्रमा बालेन्द्र साक्षी बनेका छन् । हस्ताक्षरका बेला कुलमान पनि उपस्थित थिए ।
एकतापछि पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, उसकै झन्डा र चुनाव चिह्न कायम रहने सहमतिपत्रमा उल्लेख छ ।
सभापति रवि नै रहने र उपसभापतिमा कुलमान, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने भनिएको छ ।
उज्यालो नेपाल अभियानलाई अपनत्व लिएर पार्टीका संगठनात्मक संरचना थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा भएका युवा अभियन्ता र अनुभवी विज्ञलाई समुचित समायोजन गरिने सहमतिपत्रमा उल्लेख छ । जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ ।
सहमतिपत्रमा उल्लेख नगरिए पनि केन्द्रीय समिति र आसन्न प्रतिनिधिसभा निर्वाचनमा कुलमान पक्षलाई करिब १७ प्रतिशत हिस्सा दिइने समझदारी बनेको नेताहरूले जनाएका छन् । त्यहीअनुसार कुलमान पक्षबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ १८ जना उम्मेदवारको सूची तयार गरिएको छ । ‘त्यहीअनुसार पार्टी पदाधिकारी र केन्द्रीय समितिमा हाम्रा साथीहरूलाई व्यवस्थापन गर्ने समझदारी भएको छ,’ कुलमाननिकट एक नेताले भने, ‘प्रत्यक्षतर्फ टिकट बाँडफाँट पनि लगभग त्यहीअनुसार हुनेछ ।’
रवि, बालेन्द्र र कुलमानबीच यसअघि पटक–पटक भएको छलफलमा शक्ति बाँडफाँटकै विषयमा सहमति हुन सकेको थिएन । रास्वपा र बालेन्द्रबीच एकताको सहमति भइसकेपछि पनि तीन नेता आइतबार मध्यरातसम्म संवादमा बसेका थिए । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको उक्त संवाद पनि निष्कर्षमा पुगेको थिएन ।
वार्तामा सहभागी स्रोतका अनुसार रास्वपाबाट कुलमानलाई समानुपातिक र प्रत्यक्षतर्फको टिकट र पार्टी संरचनामा १० प्रतिशत हिस्सा दिने प्रस्ताव गरिएको थियो । तर उनले ३० प्रतिशतको अडान कायम राखेका थिए । आफ्नो पार्टी संरचना रहेको र निकै अघि बढिसकेको तर्क गर्दै उनले सम्मानजनक उपस्थिति खोजेका थिए ।
रवि र बालेन्द्रको संवाद चलिरहेका बेला कुलमानले कार्यकारी भूमिकामा दाबी गरेका थिए । ‘पछि अध्यक्षमण्डल बनाएर जाऔं भन्ने प्रस्ताव पनि आएको थियो तर पछि पदभन्दा पनि म्यान्डेट ठूलो भएको विषयलाई मनन गरेर सबै पक्षले अलिअलि लचकता अपनाउने कुरा भएको थियो,’ रास्वपाका एक नेताले भने ।
रवि र बालेन्द्रसँग सहमति हुन नसक्ने देखेपछि कुलमान उज्यालो नेपाल पार्टीबाट निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूची बनाउन सोमबार बिहानदेखि जुटेका थिए । त्यसबेला रवि र बालेन्द्रले फेरि संवाद गर्न खोजे पनि कुलमानले इच्छा देखाएका थिएनन् । तर त्यहीबीचमा ‘द काउन्सिल अफ जेन–जी’ का सुधन गुरुङसहित जेम्स कार्की र ओजस्वी थापा कुलमान भएका ठाउँमा पुगेका थिए । उनीहरूले ‘तपाईंहरू तीन जना मिल्नुपर्यो, कुराकानी गर्न जानुपर्यो’ भन्दै कुलमानलाई आग्रह गरेका थिए ।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार पटक–पटकको भेटवार्ता असहमतिमा टुंगिएकाले दुई पक्षबीच दूरी बढेको थियो । ‘तर सबै एक भएर जानुपर्छ भन्ने दुवै पक्षको बुझाइ थियो । हिजो (आइतबार) राति साढे २ बजेसम्म हामी कुलमान सरकै घरमा थियौं र मिल्नुपर्ने अडान राखिरहेका
थियौं,’ उनले भने, ‘सुधनहरूले पनि मिल्नुपर्छ, जेन–जी आन्दोलनको भावनाअनुसार जानुपर्छ भनेर अनुरोध गरिरहनुभएको थियो ।’
सोमबार दिउँसो २ बजे भने सुधनले आफैं कुलमानलाई लिएर गएको भट्टराईले बताए । सुधनकै गाडीमा बसेर कुलमान कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालय पुगेका थिए । त्यहाँ रवि र बालेन्द्रसँग छलफल भएपछि सहमति जुट्यो । ‘सुधनसहितका जेन–जी साथीहरूले यो एकतामा एकदमै राम्रो भूमिका निर्वाह गर्नुभयो,’ भट्टराईले भने, ‘सहमतिको खाका तयार पार्न समय लाग्दा हस्ताक्षर हुन समय लाग्यो ।’
सहमतिपछि मेयर बालेन्द्रले जेन–जी अगुवा रिजन राना मगरसँग संक्षिप्त कुराकानी गरे । आफूले जेन–जीको चाहनाअनुसार समाधान दिने प्रयास गरेको उनले बताए । ‘म दुई वटा काम गर्छु, समस्याको समाधान सम्झाइदिनुभयो भने काम गर्नुपर्यो मैले । अर्को दाइ आफैं समाधान खोज्नु भन्नुपर्यो, त्यसमा मैले सक्ने भए सक्छु भन्छु । नसक्ने भए यसको समाधान मसँग छैन भन्दिन्छु,’ उनले मगरलाई भने ।
जेन–जीले भने यो सहमतिमा खुसी व्यक्त गर्दै रास्वपाका शीर्ष नेताहरूसँग आन्दोलनको ‘म्यान्डेट’ पालना गर्ने गरी बेग्लै समझदारी गर्न खोजेका छन् । नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार जेन–जी आन्दोलनलाई अपनत्व लिने प्रतिबद्धतासहित लिखित समझदारी गर्नेबारे कुराकानी भइरहेको छ । ‘दुवैतर्फबाट वार्ता टोली गठन गरेर मंगलबार छलफल गर्ने सल्लाह भएको छ,’ बमले कान्तिपुरसँग भनिन्, ‘जेन–जीलाई उम्मेदवार बनाउनेदेखि पार्टी संरचनामा राख्नेसम्मका विषय सुनिश्चित गर्नुपर्नेछ ।’
रास्वपा सभापति रविले जेन–जी आन्दोलनको अपनत्व मनैदेखि लिएको बताए । ‘जेन–जी आन्दोलनमा जे भयो, आन्दोलनमा घाइते हुनुभएका भाइबहिनी, सहिद हुनुभएका साथीहरूको बलिदानीलाई यत्तिकै खेर जान दिँदैनौं,’ रविको भनाइ उद्धृत गर्दै बमले भनिन्, ‘जेन–जी आन्दोलनको स्पिरिटबारे शंका गर्नुपर्ने स्थिति छैन ।’ रविले आफूहरू बलियो शक्ति बनिसकेको उल्लेख गर्दै केही जेन–जीलाई प्रतिपक्षी बनेर बसिदिन आग्रह गरेका थिए ।
