देउवा एमालेसँगको पूर्ववत् सहकार्यलाई निरन्तरता दिन सक्रिय छन्। त्यस्तै, राष्ट्रिय राजनीतिमा हुने छलफलमा समेत आफैं सहभागी हुँदै आएका छन्।
What you should know
काठमाडौँ — उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर कार्यकर्तामा सहानुभूति बटुलेका कांग्रेस सभापति शेरबहादुर देउवा फेरि राष्ट्रिय र पार्टी राजनीतिको केन्द्रविन्दुमा सक्रिय भएका छन् । देउवा सक्रिय हुँदा खड्का पार्टी बैठकको अध्यक्षता गर्ने भूमिकामा सीमित देखिएका छन् ।
सानेपा बैठकमा नगए पनि देउवाले निवासबाटै पार्टी हाँकिरहेका छन्, जसबाट असन्तुष्ट महामन्त्री गगन थापाले नाम मात्रको कार्यवाहक दिएर शक्ति आफैंले चलाइरहेको भन्दै आक्रोश पोखेका छन् । ‘सभापति बैठकमा आउनुभएको छैन, तर निवासबाटै शक्ति अभ्यास भइरहेको छ,’ गत बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएपछि थापाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए ।
जेन–जी आन्दोलनपछि २८ असोजमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमै देउवाले उपसभापति खड्कालाई कार्यवाहक सुम्पेर आफू सक्रिय राजनीतिबाट बिदा लिएको सन्देश दिएका थिए । त्यसपछि पार्टीभित्र नयाँ नेतृत्वको विषयमा बहस सुरु भएको थियो । उपचारका लागि सिंगापुर जानुअघि देउवाले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने संकेतसमेत दिएका थिए ।
त्यही संकेत पाएपछि नेविसंघका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय सदस्य नैनसिंह महर देउवाको ठाउँमा आफू चुनाव लड्ने सन्देश बोकेर डडेलधुरा पुगेका थिए । यसले कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको ठानिएको थियो । तर सिंगापुरबाट फर्केपछि देउवा फेरि शक्ति अभ्यासमा सक्रिय भएका छन् । पार्टीका दैनिक निर्णयदेखि रणनीतिक छलफलसम्ममा देउवाको सक्रियता बढ्दै गएको छ ।
यसले कार्यवाहक पदको औचित्यमाथि नै प्रश्न उठिरहेको छ भने नेतृत्व परिवर्तनको मुद्दामा पार्टीभित्र शक्ति संघर्ष चुलिएको छ ।कांग्रेसको केन्द्रीय कार्यसमितिमा २८ असोजदेखि उठेको नेतृत्व परिवर्तनको मुद्दा नटुंगिएपछि देउवाले सिंगापुरबाटै सक्रियता बढाएका थिए । उनले सिंगापुर छँदै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद थालेका थिए भने पार्टीभित्र असन्तुष्ट समूहसँग समन्वय र आगामी निर्वाचनको रणनीतिमा अग्रसरता बढाएका थिए । सिंगापुरबाट फर्किएपछि उनी लगातार भेटघाट, बैठक र रणनीतिक छलफलमा सक्रिय छन् ।
भूराजनीतिक मामिलाका जानकार विश्लेषक अरुणकुमार सुवेदी २३ भदौको घटनालगत्तै सरकारबाट नबाहिरिँदा ठूलो गल्ती गरेको कांग्रेसले परिवर्तनको सन्देशलाई नबोकेर अर्को गल्ती गर्न खोजिरहेको बताउँछन् । ‘समयमै महाधिवेशन गरेर नेतृत्व परिवर्तन र विगतमा असफल भएको अर्थ र परराष्ट्र नीतिलाई सुधार गर्ने सन्देशलाई अगाडि नबढाउने हो भने कांग्रेस ठूलो दुर्घटनामा पर्छ,’ उनले भने, ‘कम्युनिस्ट मोह र सहकार्यले सिर्जित विगतको असफल परराष्ट्र नीतिलाई निरन्तरता दिने नेतृत्व रहिरह्यो भने कांग्रेस अन्तर्राष्ट्रिय प्रजातान्त्रिक कित्ताबाट बाहिरिनेछ र वैकल्पिक प्रजातान्त्रिक शक्तिले त्यो ठाउँ लिने देखिन्छ ।’
उनले यतिबेला त्यसका लागि प्रयास भइरहेको बताए । अहिले निर्माण हुन लागिरहेको वैकल्पिक शक्ति नेपालको प्रजातान्त्रिक पक्षधर जनमत र कम्युनिस्टविरोधी जनमतका लागि स्पष्ट विकल्प हुने सम्भावना देखिएको उनले टिप्पणी गरे ।
‘तत्काल कांग्रेसको नियमित वा विशेष जे भए पनि महाधिवेशन गरेर नेतृत्व परिवर्तन भएन भने यो ध्रुवीकरण अझै बढ्ने देखिन्छ । कम्युनिस्टसँगको सहकार्यले कम्युनिस्टसँगै हार्ने र कम्युनिस्ट विरोधीहरूको ध्रुवको नेतृत्व अरू कसैकोमा पुग्ने सम्भावना बढ्दै गएको छ,’ उनले भने, ‘नेतृत्व परिवर्तन गरेर आफूलाई सुधार गर्न सक्यो भने अझै आशा गर्न सकिने केही ठाउँ छ । तर, त्यसका लागि अब धेरै समय छैन ।’
निर्वाचन अगाडि महाधिवेशन गराउन कांग्रेस नेतृत्वले नचाहनुका पछाडि तत्कालको स्वार्थ टिकट वितरण रहेको पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय बताउँछन् । पार्टी नेतृत्वमा नभए पनि सत्ता राजनीतिको केन्द्रविन्दुमा रहने देउवाको चाहनाले काम गरिरहेको उनको भनाइ छ ।
‘चुनाव कहाँ, कसले जित्छ जित्दैन, भोलि संसद्मा पार्टीको आकार कत्रो हुन्छ, सत्ता प्राप्त हुन्छ कि हुन्न भन्ने चिन्ता नेताहरूमा देखियो । तर यो चिन्ता पार्टी आफ्नो कब्जामा भइरहनुपर्छ भन्ने उद्देश्यले प्रेरित देखिन्छ,’ उपाध्यायले भने, ‘केपी शर्मा ओली जेजस्तो भए पनि उनले आफूलाई महाधिवेशनबाट अनुमोदन गराए, तर कांग्रेसका नेताहरूले जनतामा जानुअघि आफ्नो वैधानिकता किन नजाँच्ने ? यसका लागि न कार्यवाहक सभापति पूर्णजीले आँट गर्न सक्नुभयो, न त सभापतिले गम्भीरता देखाउन सक्नुभयो ।’
सभापति देउवा अहिले पार्टीको हितभन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकता दिएर निर्णयमा हाबी भएको विश्लेषक गेजा शर्मा वाग्ले बताउँछन् । ‘एकातिर निर्धारित समयमा महाधिवेशन नहुने अर्कोतिर कार्यवाहकको जिम्मेवारी दिए पनि पार्टीको निर्णयमा आफैं हाबी हुन थालेपछि कांग्रेसमा थप विवाद र संकट सिर्जना भएको छ,’ उनले भने ।
देउवाले एमालेसँगको पूर्ववत् सहकार्यलाई निरन्तरता दिनेतर्फ सक्रिय भएका छन् । अर्कोतर्फ राष्ट्रिय राजनीतिका विषयमा हुने छलफलमा समेत आफैं सहभागी भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ९ पुस र प्रधानमन्त्री सुशीला कार्कीले १२ पुसमा बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा कार्यवाहक सभापतिलाई नपठाएर देउवा आफैं उपस्थित भएका थिए ।
प्रधानमन्त्री कार्कीले शनिबार राखेको बैठकमा त देउवा हाबी नै भए । ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा बोल्न खोज्दा देउवाले धेरै पटक रोकेका थिए । राजनीतिक जानकारहरूका अनुसार देउवालाई प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा नबोक्न पार्टीभित्र र भूराजनीतिक दबाबसमेत छ । त्यही कारण देउवाले ओलीलाई रोकेको ठम्याइ उनी निकट नेताहरूको छ । सधैं सञ्चारकर्मीबाट तर्कने देउवा शनिबार भने सहजै सञ्चारकर्मीमाझ आएर सन्देशमूलक भनाइ राखेका थिए ।
देउवाले निर्वाचन पछाडि महाधिवेशन धकेलेर आफ्नो कार्यकाल लम्ब्याउन मात्रै खोजेका छैनन्, अझै एक पटक संसदीय राजनीति प्रतिस्पर्धा गर्ने तयारीसमेत अघि बढाएका छन् । आफू निकट नेताहरूसँग अन्तिम एक पटक चुनाव लड्ने उनले बताइसकेका छन् । त्यसपछि नै गृहजिल्ला डडेलधुराबाट उनको नाम एकल सिफारिस भएर आएको थियो ।
ओलीसँगको निरन्तर संवादपछि देउवाले प्रतिनिधिसभामा रिट हाल्नसमेत लगाएका थिए । देउवा र ओलीबीच १९ मंसिरमा भेट भएपछि प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर कांग्रेसका तत्कालीन संसदीय दलका मुख्य सचेतकसहित विघटित प्रतिनिधिसभाका आठ सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । दुवै नेताबीच ७ पुसमा भएको भेटपछि कांग्रेसका थप ५७ पूर्वसांसदले हस्ताक्षरसहित पूरक निवेदन दिएका थिए । दुई दल मिलेर अदालतमा बहुमत देखाएर संसद् पुनःस्थापनाको पक्षमा माहोल सिर्जना गर्न त्यसो गरिएको थियो ।
‘एमालेसँगको सहकार्यलाई निरन्तरता दिँदै प्रतिनिधिसभा पुनःस्थापनाका लागि निर्देशन दिनुका साथै आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधिसभा चुनावमा एमालेसँग गठबन्धनसम्मको भूमिगत शैलीमा एकल निर्णय गर्न थालेपछि कांग्रेसको नीति केन्द्रीय समितिले तय गर्ने कि देउवाले भन्ने गम्भीर प्रश्न उठेको छ,’ विश्लेषक वाग्ले भन्छन्, ‘देउवाको यस्तो प्रवृत्तिले कांग्रेसको बचे–खुचेको पहिचान र प्रतिष्ठा पनि समूल नष्ट हुने जोखिम देखिएको छ ।’
कार्यवाहक सभापतिले निर्णायक भूमिका निर्वाह गर्न नसकेपछि त्यसको फाइदा देउवाले उठाइरहेको उनले बताए । ‘कांग्रेस पुनर्गठन, रूपान्तरण तथा शुद्धीकरणको प्रस्ताव र पहल गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अब निर्णायक र परिणाममुखी संघर्ष गर्नुपर्ने घडी आएको छ । होइन भने कांग्रेसमा संकट थप गहिरिने निश्चित छ,’ वाग्लेले भने, ‘दुई महामन्त्रीका लागि अब अन्तिम मौका हो ।’
कार्यवाहक सभापति खड्कासँग नजिक रहेका केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टीभित्रकै केही नेताहरुले असफल बनाउन उद्देश्यबाट प्रयोग गर्न खोज्दा समस्या आएको बताउँछन्। ‘कार्यवाहक सभापतिले पार्टी मिलाउन शेखर कोइरालादेखि दुवै महामन्त्री र सभापतिसँग समोन्वय गर्दै आउनुभएको छ । तर, केही नेताहरु उहाँलाई प्रयोग गरेर नमिलाउने काममा सक्रिय भएका छन्,’ खतिवडाले भने, ‘कार्यवाहक सभापतिलाई असफल बनाउन खोज्दा पार्टीभित्र समस्या बढेको छ ।’
