सम्पत्ति विवरण सार्वजनिक किन नभएको भन्ने प्रश्नको स्पष्ट उत्तर नदिएका मन्त्री घिसिङले सुशासनका विषयमा भने आफूहरू कटिबद्ध रहेको तर्क गरे ।
What you should know
काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले आफूले सम्पत्ति विवरण क्याबिनेटमा बुझाइसकेको बताएका छन् ।
जेन–जी आन्दोलनको बलमा बनेको सरकारका मन्त्रीहरूले सय दिन बितिसक्दा पनि सम्पत्ति विवरण किन सार्वजनिक भएन भनेर पत्रकारले सोधेको प्रश्नमा घिसिङले भने, ‘मन्त्री भएपछि दुई महिनाभित्र क्याबिनेटमा सम्पत्ति विवरण पेस गरेका छौँ । सबैले पेस गरेका छन् । यसको सार्वजनिक गर्ने विषय उहाँहरूले नै गर्ने होला ।’ उनले ‘उहाँहरू’ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ संकेत गरे । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन् ।
सम्पत्ति विवरण सार्वजनिक किन नभएको भन्ने प्रश्नको स्पष्ट उत्तर नदिएका मन्त्री घिसिङले सुशासनका विषयमा भने आफूहरू कटिबद्ध रहेको तर्क गरे । उनले भने, ‘जेन–जी आन्दोलनबाट हामी आएका छौँ । त्यसैले सुशासनका विषयलाई कुनै पनि बहानामा तलमाथि गर्न सक्दैनौँ ।’ उनले कुनै पनि ठाउँमा सुशासनका विषयमा सम्झौता नगरेको भन्दै काम गर्ने क्रममा कहीँकतै समस्या आएका विषयमा कर्मचारीलाई कारबाहीसमेत गरिएको बताए ।
राजनीतिक दल खोल्ने अनि मन्त्री पनि बन्ने किन भन्ने प्रश्न पनि उनलाई पत्रकारहरूले सोधेका थिए । यस विषयमा पनि उनले संकेतमा मात्रै उत्तर दिए । उनले मन्त्री भएपछि आफूले राजनीतिमा आएको भनिसकेको तर्क गर्दै भने, ‘मन्त्रीको जिम्मेवारीलाई पनि बहन गर्दै अघि बढेको छु । उपयुक्त समय जुन बेला चुनावमा मनोनयनका लागि जान्छौँ, त्यतिबेला आवश्यक निर्णय गर्छौँ ।’
पत्रकारहरूसँगको प्रश्नोत्तरमा उनले अहिलेको सरकारको मुख्य कार्यभार चुनाव सम्पन्न गर्नु रहेको बताउँदै नयाँ शक्तिहरू मिलेर जानुपर्छ भन्नेमा आफू एकमत रहेको बताए । उनले भने, ‘देशका लागि अहिलेको परिवर्तन संस्थागत गर्न र चुनावपछिको सही नेतृत्व आउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्छ ।’
कुलमानसँग पत्रकारहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँगको भेटपछि सार्वजनिक गरिएको तस्बिरबारे पनि प्रश्न सोधेका थिए । तर यसमा पनि उनले उत्तर दिन चाहेनन् । उनले भने, ‘त्यसबारे पछि कुरा गरौँ ।’
