‘आन्तरिक एकताको जिम्मा ओलीको कोर्टमा’

प्रतिस्पर्धालाई आधार बनाई पक्षपात भए प्रतिवाद गर्ने इतर पक्षको भेलाले निर्णय गरेको हो ।

पुस ६, २०८२

गंगा बीसी

'Oli's court is responsible for internal unity'

What you should know

काठमाडौँ — एमालेमा आन्तरिक एकता कायम राख्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीको ‘कोर्टमा’ मा पुगेको ईश्वर पोखरेल नेतृत्वको इतर पक्षले निष्कर्ष निकालेको छ । शनिबार भएको इतर पक्षको भेलाले पार्टीभित्र नेतृत्वका लागि भएको प्रतिस्पर्धालाई आधार बनाई पक्षपात, गुटबन्दी, काखापाखा र भेदभाव गरे प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।

भेलामा पोखरेल पक्षले प्रतिस्पर्धामा अपेक्षित नतिजा नआए पनि पार्टीभित्र विधि, पद्धति र मूल्य मान्यता स्थापित गर्न आवाज उठाइरहने निर्णय गरेको छ । पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतान्त्रीकरणको मुद्दा निरन्तर उठाउने निर्णय पनि ईश्वर पोखरेल पक्षले गरेको छ ।

अध्यक्ष ओलीले भने महाधिवेशनपछि पार्टी झन् बलियो हुने अभिव्यक्ति दिएका छन् । ‘धेरैले एमाले फुट्ने अपेक्षा गरेका थिए, फुटोस् भनेर धुप बालिरहेका थिए । तर तिनीहरूको धुप अब खेर जान्छ, म नवनिर्वाचित अध्यक्षको हैसियतले यो भन्दै छु,’ बिहीबार अध्यक्षको शपथ लिएलगत्तै उनले भनेका थिए, ‘एमाले अझै मजबुत भएर जान्छ । एमाले यो लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्यो ।’

तर संस्थापनविरुद्ध प्रतिस्पर्धा गरेको पोखरेल पक्ष ओलीको भनाइबाट ढुक्क हुन सकेको छैन । पदाधिकारी र केन्द्रीय कमिटीमा जितेका इतर पक्षका नेताहरूले बिनापूर्वाग्रह उचित जिम्मेवारी पाउनेमा आशंका व्यक्त गरेका छन् । २७–२९ पुसमा हुने केन्द्रीय कमिटी बैठकले गर्ने नेताहरूको जिम्मेवारी बाँडफाँटले ‘पार्टीको आन्तरिक एकता’ सुरुवात हुने इतर पक्षको भनाइ छ । ओलीबाट फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता बलियो बनाउने प्रतिबद्धता आउनुपर्ने उनीहरूको धारणा छ । इतर पक्षले निर्वाचन परिणामलाई स्वीकार गर्दै पार्टीलाई गतिशील बनाउन प्रतिबद्ध भएको पनि जनाएको छ ।

एमालेको १९ पदाधिकारी र ३०१ केन्द्रीय कमिटीका लागि हालै भएको प्रतिस्पर्धामा संस्थापन पक्षको स्पष्ट बहुमत छ । १९ पदाधिकारीमध्ये पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र जितेका छन् । केन्द्रीय कमिटीमा पोखरेलको प्यानलबाट एक दर्जन केन्द्रीय सदस्य निर्वाचित भएका छन् । अध्यक्षका लागि प्रतिस्पर्धा गरेका पोखरेल, उपाध्यक्षको प्रतिस्पर्धी बिन्दा पाण्डे, सचिवका प्रतिस्पर्धीहरू कर्ण थापा, गोकुल बाँस्कोटा, रचना खड्कालगायत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेता पोखरेलले पार्टीमा नियन्त्रण र सन्तुलनलाई बलियो बनाउनुपर्ने बताए । ‘नियन्त्रण र सन्तुलनको जुन प्रबन्ध छ, जनताको बहुदलीय जनवाद (जबज) ले व्यवस्था गरेको विषय सबल बनाउनुपर्छ,’ उनले भने, ‘यो विषयमा हामीले आवश्यकताअनुसार पार्टीमा छलफल, बहस गर्छौं ।’ काठमान्डु पोस्टसँगको अन्तर्वार्तामा उपाध्यक्ष गोकर्ण विष्टले नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धापछि भावनात्मक एकता आवश्यक भएको बताएका छन् । न्याय र विधिमा आधारित एकताको खाँचो भएको उनको भनाइ छ ।

नेतृत्वका लागि भएको प्रतिस्पर्धाले पार्टीमा दरार सिर्जना हुन नदिनेबारे अध्यक्ष ओलीको भूमिका महत्त्वपूर्ण हुने विष्टको भनाइ छ । ‘कतै यो प्रतिस्पर्धाले दरार पैदा गर्छ कि भन्ने आशंका छ । त्यो नहुने गरी एउटा विधिमा, न्यायमा, औचित्यमा र सामूहिकतामा ध्यान दिनुपर्नेछ,’ उनले थपे, ‘यसमा हाम्रोतर्फबाट प्रयत्न हुन्छ । पार्टी प्रमुखको हैसियतले अध्यक्षको थप भूमिका जरुरी छ ।’

संस्थापन पक्षबाट सचिव निर्वाचित राजन भट्टराईले जित्ने र हार्ने सबैले जिम्मेवारी लिएर काम गर्ने बताए । ‘जित्नेले सबै जिम्मेवारी लिने, हार्नेले केही जिम्मेवारी पाउँदैन भन्ने होइन,’ उनले भने, ‘केन्द्रीय कमिटीका नेताहरूले योग्यता, क्षमताका आधारमा जिम्मेवारी पाउनु हुनेछ ।’ विगतमा प्रतिस्पर्धा गरेका नेताहरू माधवकुमार नेपाल, भीम रावल पार्टीबाट बाहिरिए पनि अब भने त्यस्तो अवस्था नआउने उनको भनाइ छ । सचिव पदमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित रचना खड्काले प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएर योग्यता र क्षमतामा आधारित जिम्मेवारी दिए मात्र पार्टी एकता मजबुत हुने बताइन् । ‘पार्टीले जे जिम्मेवारी दिन्छ, हामी शतप्रतिशत शक्ति लगाएर काम गर्छौं,’ उनले भनिन् ।                                                 

गंगा बीसी

Link copied successfully