एमाले महाधिवेशन : मतदान सकियो, साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने

२ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हाले, ३६ जना अनुपस्थित

पुस ३, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Voting ends, results to be announced by 10:30 am

What you should know

काठमाडौँ — एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सकिएको छ । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले मतदान प्रक्रिया सकिएको बताए ।

निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेको पनि सदस्य पोखरेलले जानकारी दिए । उनले भने, '२ हजार २ सय २७ मत खसेको छ । ३६ जना अनुपस्थित हुनु भएको छ ।'

बिहीबार बिहान साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने पनि उनको भनाइ छ । 'कुनै समस्या नआएका साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्छौँ । अहिले हामी मेसिन लक गरेर रुजु गर्ने काममा लागिरहेका छौँ । त्यसपछि प्रमाणीकरणसहित सिलबन्दी हुनेछ । अनि सबैको सहमतिपछि मतगणना सुरु गरिहाल्छौँ।'

बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन । जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको  हो। ३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन् ।

प्रतिनिधिले २ सय ९० लाई छान्नुपर्नेछ । यस पटक निर्धारित उम्मेदवारलाई मतदान नगरी अघि बढ्न नमिल्ने सेटिङ मेसिनमा भएकाले कुनै उम्मेदवारलाई मत नहाली अघि बढ्न नमिल्ने बनाइएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully