हर्क साम्पाङ : स्वतन्त्र नगर प्रमुखदेखि श्रम संस्कृति पार्टी अध्यक्षसम्म

खासगरी धरानमा व्याप्त खानेपानी समस्याको मुद्दालाई उठान गरी स्वतन्त्र उम्मेदवारका रूपमा प्रमुख बनेका साम्पाङ पछिल्लो समय पुनः चर्चामा छन् । श्रम, स्वच्छता र जनसहभागिताका नाममा सुरु भएको उनको यात्राले अहिले नयाँ मोड लिएको छ ।

मंसिर १९, २०८२

एलिना राई

Hark Sampang: From Independent City Mayor to Labor Culture Party Chairman

What you should know

धरान — धरान उपमहानगरका प्रमुख बन्नुअघि हर्कराज राई (हर्क साम्पाङ) सामाजिक अभियन्ता थिए । खासगरी धरानमा व्याप्त खानेपानी समस्याको मुद्दालाई उठान गरी स्वतन्त्र उम्मेदवारका रूपमा प्रमुख बनेका साम्पाङ पछिल्लो समय पुनः चर्चामा छन् । श्रम, स्वच्छता र जनसहभागिताका नाममा सुरु भएको उनको यात्राले अहिले नयाँ मोड लिएको छ ।

स्वतन्त्र नगर प्रमुखदेखि दलीय नेतासम्मको यात्रा उनले आरम्भ गरेका छन् । २०७९ को स्थानीय निर्वाचनमा साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा आए । त्यो उनीसँग कुनै बलियो संगठन थिएन । न त थियो, प्रचारको ठूला संयन्त्र नै । तर, मतदाताले ‘काम गर्ने मान्छे’ का रूपमा साम्पाङलाई पत्याए ।

स्वच्छ पानी, सरसफाइ र श्रमदान अभियानका दृश्यहरूले धरानका जनतामा नयाँ ऊर्जा भरे । त्यही धरातलमा टेकेर नगर प्रमुख बने । धरानमा ढुंगा बोकेर हिँड्ने, ढल सफा गर्ने, जनतासँगै घामपानी सयर गर्ने साम्पाङ अहिले जनतामाझ ‘सबैका मान्छे’ बनेका छन् । यसै कारण, उनका हरेक गतिविधिले राष्ट्रिय चर्चा पाउँदै आएको छ ।

नगर प्रमुखको कुर्सीले मात्र उनको लक्ष्य पूरा गरेको थिएन । उनले बारम्बार भन्ने गरेका छन्, ‘सिस्टम नै बिग्रिएको छ, व्यक्तिले मात्रै होइन, नीति–संरचना परिवर्तन चाहिन्छ ।’ यही सोचले उनलाई अब स्वतन्त्र बनिरहन दिएन, संगठित राजनीतितर्फ डोर्‍यायो ।

७ असोजमा उनले ‘श्रम संस्कृति पार्टी’ लाई निर्वाचन आयोगमा दर्ता गराए । पार्टीको चुनाव चिह्न ‘माटोको ढिस्को’ सहित । जसले उनको ‘धरातली राजनीति’ को प्रतीकको झल्को दिन्छ । २७ असोजमा मुलुकको पूर्वी नाका काँकडभिट्टामा सभा आयोजना गरेरै उनले स्वतन्त्रबाट दलीय राजनीतितिरको यात्रामा अग्रसर बनेको सन्देश प्रवाह गरेका थिए ।

‘श्रम अभियान घोषणासभा’ भनिए पनि उक्त सभाको मुख्य उद्देश्य जनतामाझ दल दर्ताको सन्देश प्रवाह गर्नु नै थियो । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण हात पारेपछि उनी विभिन्न जिल्लाहरूको सभामा व्यस्त छन् । पूर्वी तराईबाट सुरु यात्रा पूर्वी पहाडतिर केन्द्रित छ ।

पार्टीको संरचना र सन्देश

साम्पाङ स्वयं अध्यक्ष रहेको दलमा पाँच सदस्यीय केन्द्रीय पदाधिकारी र २३ सदस्यीय समिति प्रस्ताव गरिएको छ । अरू मूलधारका दलहरूको झैं उनको पनि दलको मुख्यालय काठमाडौंमै राखिएको छ । चाँडै सात वटै प्रदेशमा शाखा विस्तारको योजना साम्पाङको छ ।

दलको नाम नै ‘श्रम संस्कृति’ राखेर उनले राजनीतिलाई श्रम र जनसेवासँग जोड्न खोजेका छन् । उनका निकट सहयोगीहरू भन्छन्, ‘हामी सत्ताको होइन, जनसेवाको राजनीति गर्छौं ।’ साम्पाङले संगठन विस्तारलाई पनि तीव्रता दिएका छन् । पहिलो संगठनात्मक कदम धरानबाट चालेका छन् ।

Hark Sampang: From Independent City Mayor to Labor Culture Party Chairman

धरान–१६ जोरसखुवामा हालै आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीको धरान उपमहानगर समिति गठन गरे । दिनेश बान्तवा राईको नेतृत्वमा बनेको समिति अहिले संगठन विस्तारमा आक्रामक ढंगले अघि बढेको छ ।

साम्पाङका दलमा पुराना दलमा आबद्ध नेता तथा कार्यकर्ताहरूसमेत जोडिन थालेका छन् । कतिपय पहिचानवादी नेताहरू पनि उनीसँगै हिँड्न थालेका छन् । साम्पाङको ‘स्वच्छ शासन’ र ‘श्रमदान’ अभियानसँग जोडिँदै आएका धरानका धेरै युवाहरू दलसँग पनि स्वतः जोडिएका छन् ।

साम्पाङ सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छन् । उनी प्याच्च बोलिदिन्छन्, जसले समर्थकलाई ह्वात्तै आकर्षित गर्छ । सँगै आलोचकलाई उत्तिकै उत्तेजित पार्छ । कहिले काठमाडौंका मेयर बालेन साह, कहिले मन्त्रीहरूलाई लक्षित साम्पाङका पोस्टहरूले बहस र विवाद दुवै जन्माउँछन् ।

साम्पाङ शिष्ट भाषणभन्दा जनजीवनको भाषामा बोल्छन् । यही कारणले उनलाई जनताले आफ्नो ठानेका हुन् । स्वतन्त्रताको पहिचान लिएर अघि बढेको व्यक्तिले दल बनाउँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ, के हर्क साम्पाङ अब ‘स्वतन्त्र’ रहेनन् ? पार्टी चलाउने, नीति बनाउने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने जिम्मेवारीको बोझले उनको मौलिकता दबिन्छ कि ? राजनीतिक विश्लेषकहरू भन्छन्, ‘साम्पाङको राजनीतिक भविष्य अब उनको संगठनात्मक क्षमता र स्थिर रणनीतिमा निर्भर रहनेछ ।’

जनताको मन र मत जित्न सके भने श्रम संस्कृति पार्टी चाँडै नयाँ राजनीतिक शक्तिका रूपमा उदाउने निश्चित छ । यसले देशको राजनीतिलाई नयाँ मोड दिन सक्ला ? यो जवाफ समयले दिनेछ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully