संखुवासभाको खाँदबारीमा शनिबार आयोजितत संगठन विस्तार तथा जागरणसभालाई सम्बोधन गर्दै उनले देशले विगतका वर्षमा देखाएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र असफलताबाट जनताले विकल्प खोज्न थालेको बताए ।
संखुवासभा — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गरेका छन् ।
संखुवासभाको खाँदबारीमा शनिबार आयोजितत संगठन विस्तार तथा जागरणसभालाई सम्बोधन गर्दै उनले देशले विगतका वर्षमा देखाएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र असफलताबाट जनताले विकल्प खोज्न थालेको बताए । उनले श्रम संस्कृति पार्टी त्यसको विश्वसनीय विकल्प बन्ने दाबी गरे ।
उनले आगामी निर्वाचनमा शतप्रतिशत नम्बर ल्याएर श्रम संस्कृति पार्टी उत्तीर्ण हुने पनि बताए । उनले आफू प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको पनि बताए । 'भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ,' उनले भने, 'हाम्रो सरकार सुशासन र पारदर्शीको बन्नेछ । मितव्ययी सरकार बन्नेछ, भ्रष्टाचारी, देशद्रोही र विदेशी दलाललाई स्वीकार्ने छैनौं ।'
पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रूपान्तरणका लागि गाउँगाउँमा खटेर काम गर्ने उनको भनाइ थियो । 'उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको छ,' उनले भने, ‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म, त्यो काम हामीले गर्ने हो । कोठामा बसेर भाषणमा सीमित हुँदैनौँ, हामी हरेक गाउँमा पुग्छौं र काम गर्ने एउटा संगठन निर्माण गछौं ।'
