हर्क साम्पाङ नेतृत्वको पार्टीको नाम : श्रम संस्कृति पार्टी, चुनाव चिह्न : माटोको ढिस्को
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङले गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका छन् । आइतबार निर्वाचन आयोगले श्रम संस्कृति पार्टीलाई दिएको मान्यताको प्रमाणपत्र बुझ्दै मेयर साम्पाङले रोजगारी सिर्जनाको लागि उत्पादन बढाउनुपर्ने बताएका हुन् ।
श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक रुपान्तरण र आर्थिक रूपान्तरणका लागि फिल्डमा खटेर काम गर्ने उनको भनाइ छ । उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको उनले बताए ।
‘जुन काम आजसम्म भएन, यत्तिका वर्षसम्म । त्यो काम गर्ने हो । उत्पादन, निर्माण, सामाजिक रूपान्तरणका लागि, आर्थिक रूपान्तरणका लागि हामी अब फिल्डमा निस्केर काम गर्छौं । अफिसमा बसेर भाषणमा सीमित हुँदैनौँ । हामीचाहिँ पक्का फिल्डका काम गर्ने एउटा संगठन निर्माण गर्दैछौँ । पहिला त यो देशमा काम गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । हामी सबै बेरोजगार छौँ प्रायः । रोजगारीको सिर्जना गफले हुँदैन,' उनले भने ।
मेयर साम्पाङले आफूहरूले दलको झण्डा नराख्ने बताए । दलको चुनाव चिह्न भने माटोको ढिस्को राखिएको छ । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाइ छ । निर्वाचनका लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।
