रास्वपाले चुनावको ६ महिनापछि महाधिवेशन गर्ने भएको छ । जनमत र नागरिक उन्मुक्तिको टुंगो छैन । प्रगतिशील लोकतान्त्रिकले छिट्टै मिति तोक्दै छ ।
What you should know
काठमाडौँ — जेन-जी आन्दोलनपछि पुराना राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरणको मुद्दा उठेसँगै कांग्रेस र एमाले महाधिवेशनको तयारीमा जुटेका छन् ।
तत्कालीन माओवादी र एकीकृत समाजवादीलगायत दलबीच एकता भई बनेको नेकपामा भने महाधिवेशनको मितिमा अलमल देखिएको छ । अन्य साना राजनीतिक दलले पनि महाधिवेशनबारे टुंगो लगाएका छैनन् ।
महाधिवेशन निर्वाचन अगाडि कि पछाडि भन्ने डेढ महिना लामो रस्साकसीपछि कांग्रेसले २६–२८ पुसमा १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । सभापतिमा शेरबहादुर देउवाको दुई कार्यकाल पूरा भइसकेकाले कांग्रेसमा नयाँ उम्मेदवारबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नदिने व्यवस्था गरेको छ । कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो ।
गत भदौ तेस्रो साता विधान महाधिवेशन गरेको एमालेले अर्को वर्ष नेतृत्व चयन गर्ने कार्यतालिका थियो । तर जेन–जी आन्दोलनपछि एमालेले ‘अर्ली’ महाधिवेशन गर्ने निर्णय गरेको छ । एमालेको १०औं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो । ११औं महाधिवेशन यही २७–२९ मंसिरमा हुने भएको छ । पार्टीले यही साता महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ ।
यो महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि नेतृत्वमा आउन खोजेका छन् । विधान महाधिवेशनले ओलीलाई तेस्रो पटक अध्यक्ष हुने बाटो खुला गरेको थियो । उक्त महाधिवेशनले दुई कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान विधानबाट हटाएको छ । उनीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
पुष्पकमल दाहाल संयोजक रहेको नेकपाले भने महाधिवेशनको मिति टुंगो लगाएको छैन । १९ कात्तिकमा माओवादी, एकीकृत समाजवादी र अन्य साना घटकबीच एकता घोषणा हुँदा ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो । एकता कार्यक्रममा यही मंसिर अन्तिम साता महाधिवेशन गर्ने पनि घोषणा गरिएको थियो ।
एकतामा आउनुअघि माओवादीले केन्द्रीय समिति भंग गरी दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । पार्टी एकतापछि दाहाल संयोजक र तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक छन् । संयोजक दाहाल ३७ वर्षदेखि पार्टी नेतृत्वमा छन् । माओवादीमै रहँदा तत्कालीन उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेका थिए । पार्टी एकतामा असहमति जनाउँदै शर्माले अन्य नेतासँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन् । माओवादीको २०७८ पुसमा महाधिवेशन भएको थियो ।
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन भएकाले महाधिवेशनका लागि समय नपुग्ने नेकपाका प्रवक्ता अग्नि सापकोटाले बताए । ‘पार्टीको एकता महाधिवेशन आयोजक समिति बनिसक्यो । पार्टी चुनावमा केन्द्रित हुनुपर्ने भएकाले त्यसअघि महाधिवेशन सम्भव छैन,’ उनले भने, ‘चुनाव सकिएपछि महाधिवेशनको मिति तोकिनेछ ।’
गत आम निर्वाचनअघि २०७९ असारमा गठन भएको रास्वपाले हालसम्म महाधिवेशन गरेको छैन । २१ कात्तिकमा चितवनको सौराहमा भएको रास्वपाको विस्तारित बैठकले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन भएकाले त्यसको ६ महिनापछि मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ । ‘चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने विस्तारित बैठकले निर्णय गरेको छ,’ प्रवक्ता मनीष झाले भने, ‘चुनाव घोषणा हुनुअघि ७, ८ र ९ फागुनमा महाधिवेशन गर्ने तय गरेका थियौं । तर चुनाव घोषणा भएपछि पर सार्ने निर्णय भएको हो ।’
राप्रपाको यही महिना भइसक्नुपर्ने महाधिवेशन ६ महिना पछि सरेको छ । चुनावका कारण राप्रपाको महाधिवेशन सरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘पार्टी केन्द्रीय समितिको चारवर्षे कार्यकाल यही साता सकिन्छ । यही महिना महाधिवेशन गर्नुपर्ने तयारी थियो । तर चुनाव र नवीन समझदारीका लागि प्रदर्शन गर्नुपर्ने भएकाले ६ महिना पछि सार्ने निर्णय भएको छ,’ उनले भने ।
जसपा नेपालको २०८१ जेठमा जनकपुरमा महाधिवेशन भएको थियो । महाधिवेशनले उपेन्द्र यादवलाई पुनः निर्विरोध अध्यक्ष चयन गरेको थियो । उनी २०६४ देखि पार्टी अध्यक्ष रहँदै आएका छन् । जसपा नेपालको पाँच वर्षमा महाधिवेशन गर्ने प्रावधान छ । जसपा नेपालबाट २०८१ वैशाखमा विभाजन भई अशोक राईको नेतृत्वमा बनेको जसपाले हालसम्म महाधिवेशन गरेको छैन ।
नेमकिपाले आठौं महाधिवेशन फागुन २०८१ मा गरेको थियो । भक्तपुरमा भएको महाधिवेशनले नारायणमान बिजुक्छेलाई अध्यक्ष र प्रेम सुवाललाई सचिव चयन गरेको थियो । बिजुक्छे चार दशकभन्दा बढी समयदेखि पार्टी अध्यक्ष छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर पार्टी गठनदेखि अध्यक्ष रहँदै आएका छन् । लोसपाको गत भदौमा महाधिवेशन गर्ने तय भए पनि सर्दै आएको छ । लोसपाले आगामी ६–७ चैतमा महाधिवेशन गर्ने तय गरेको छ । २०७८ भदौमा ठाकुरले लोसपा गठन गरेका थिए । जसपाबाट अलग भएपछि लोसपा गठन भएको थियो ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले महाधिवेशन आयोजक समिति बनाएको छ । ७ मंसिरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), पूर्वमाओवादी उपमहासचिव जनार्दन शर्माको प्रगतिशील अभियान, रास्वपाका पूर्वप्रमुख सचेतक सन्तोष परियारबीच एकता भई प्रलोपा गठन भएको थियो । असोज पहिलो साता बसेको नयाँ शक्तिको केन्द्रीय समितिले ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टी एकतापछि महाधिवेशन आयोजक समिति कायम छ । आगामी केन्द्रीय समितिले महाधिवेशनबारे छलफल गर्ने नेता मानुषी यमी भट्टराईले बताएकी छन् ।
जनमत पार्टीको २०७७ चैतमा भएको महाधिवेशनले सीके राउतलाई अध्यक्ष चयन गरेको थियो । महाधिवेशन गर्ने बेला भए पनि चुनावका कारण पर सरेको महासचिव चन्दन सिंहले बताए । नागरिक उन्मुक्ति पार्टीको २०८० पुसमा भएको पहिलो महाधिवेशनले रेशम चौधरीलाई निर्विरोध अध्यक्षमा चयन गरेको थियो । तर, अध्यक्ष रहेकी रञ्जिता श्रेष्ठसँगको विवादका कारण महाधिवेशनले मान्यता पाएन । उजुरी परेपछि २०८० फागुनमा निर्वाचन आयोगले रञ्जिताको अध्यक्षतामा रहेको केन्द्रीय समितिलाई मान्यता दिएको थियो । हाल रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल नामको अर्को दल निर्वाचन आयोगमा दर्ता गरेका छन् भने रञ्जिताको नाममा नागरिक उन्मुक्ति पार्टी कायम छ ।
२०७७ चैतमा जनमोर्चाको राष्ट्रिय सम्मेलन भएको थियो । सम्मेलन गर्ने समय भए पनि २०८३ मंसिरमा सारिएको नेता मनोज भट्टले बताए । ‘चुनाव भएकाले अर्को वर्ष मंसिरमा सम्मेलन गर्ने निर्णय भइसकेको छ,’ उनले भने । चित्रबहादुर केसी २०४४ सालदेखि जनमोर्चाको अध्यक्ष रहँदै आएका छन् । ‘पाँच वर्षमा सम्मेलन गरिसक्नुपर्ने हो । निर्वाचनका कारण सारिएको छ,’ भट्टले भने ।
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी (पूर्वनेपाल कम्युनिस्ट पार्टी) को महाधिवेशन २०८० मा भएको थियो । प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक दर्ता भएको नेकपा माओवादीको विधानअनुसार २०८४ मा अर्को महाधिवेशन गर्नुपर्नेछ । माओवादीबाट २०६९ असारमा अलग भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन २०८१ मंसिरमा भएको थियो । महाधिवेशनले पूर्वमाओवादी उपाध्यक्ष मोहन वैद्यलाई महासचिव चयन गरेको थियो । उनले स्वास्थ्यका कारण देखाउँदै सीपी गजुरेललाई महासचिवको जिम्मेवारी दिएका छन् ।
