विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल
What you should know
काठमाडौँ — एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व सहज रूपमा हस्तान्तरण गर्न अनुरोध गरेका छन् ।
११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गर्दै पोखरेलले अध्यक्ष ओलीलाई सहज निकास दिन भनेका हुन् ।
अध्यक्षका लागि सोमबार उम्मेदवारी घोषणा गर्दै पोखरेलले लिखित रूपमा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न भनेका हुन् । 'पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्ने पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छ,' पोखरेलले भनेका छन्, 'अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।'
पार्टी पुनर्गठन र रुपान्तरणका लागि आफूले एमालेको नेतृत्व गर्ने घोषणा गरेको पोखरेलको भनाइ छ । आफूले नैतिक बल आर्जन गरेको र शक्तिमा विश्वास नगर्ने उनले बताएका छन् । 'विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु,' उनको भनाइ छ, 'पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।'
पार्टीका नेताहरूलाई योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्नका लागि आफूले नेतृत्वमा दाबी गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पोखरेलले पार्टी महाधिवेशन प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन आग्रह गरेका छन् ।
