पार्टी उत्पादनसँग जोडियो भने मात्र आर्थिक क्रान्ति गरेर अघि बढ्न सकिन्छ भन्ने लागेर कृषि क्रान्तिको अभियान चलाएको नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दको दाबी ।
What you should know
कपिलवस्तु — नेत्रविक्रम चन्द उमेरले ५८ वर्षका लागे । तर, उनको जोश र जाँगर भने युववयको जस्तै छ । कृषि क्रान्तिमार्फत समाजमा परिवर्तन ल्याउन उनी अहिले कम्मर कसेर लागेका छन् । साताअघि कपिलवस्तुमा भेटिएका उनी आलु रोप्दै थिए । उनले भर्खरै मात्र निर्वाचन आयोगमा नेकपा (माओवादी) नामको पार्टी दर्ता गरेका छन् र निर्वाचन चिन्ह गुलाबको फूल पाएका छन् ।
उनीसहितका नेकपा (माओवादी) नेता–कार्यकर्ताले कपिलवस्तुको शिवराज नगरपालिका–९, बिजगौरी दुई दिन लगाएर ५ कट्ठा खेतमा आलु रोपेका हुन् । जुन आलु चिप्स बनाउन प्रयोग हुनेछ ।
गत चैत/वैशाखमा पार्टीले उत्पादन गरेको आलु अहिले नेत्रविक्रम चन्दकी ५३ वर्षीया श्रीमती सुभद्राले हाटबजार चहार्दै बेचिरहेकी छन् । तीन सन्तानकी आमा उनी कपिलवस्तुको चन्द्रौटा, शिवपुर र हल्लानगरका साप्ताहिक हाटबजार पुगेर आलु बेचिरहेको बताउँछिन् । ‘करिब १८/१९ हजारको आलु बेचें,’ उनले भनिन्, ‘त्यो पैसा पार्टी कोषमा जम्मा भइसकेको छ ।’
पार्टीमा कोही ठूलो र सानोको विभेद छैन । सबै नेता–कार्यकर्तालाई उत्पादनसँग जोडने नीतिअन्तर्गत चन्दका श्रीमान/श्रीमती नै श्रमसँग जोडिएका हुन् । उनीहरू दुवै जना आफूले जानेको श्रम र पसिना खर्चिरहेका छन् । गोडमेल, खेतीपाती लगाउनेदेखि स्याहारसम्मका अधिकांश काम उनीहरू आफैं गर्छन् । तराईको लो–ल्यान्डदेखि हाइ–ल्यान्डसम्म उनीहरूको कृषि फसल लहलहाइरहेको छ ।
नेत्रविक्रम चन्दका अनुसार पार्टी नेता–कार्यकर्तालाई चलायमान बनाई टिकाई राख्न राजनीतिक अभियान र कृषि उत्पादनलाई सँगसँगै अघि बढाइएको हो । यसरी हुने आय आर्जनले पार्टीलाई जीवन्त बनाई राख्ने र नेता–कार्यकर्ताको व्यक्तिगत घर–व्यवहार चलेर राजनीतिक उद्देश्य पूरा हुन सहयोग पुग्ने अपेक्षा छ । नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै गत वर्ष ‘नयाँ आर्थिक मार्ग’को नयाँ प्रस्ताव पनि पारित गरेर मुलुकका विभिन्न जिल्लामा सामूहिक रुपमा खाद्यान्न, तरकारी बाली उत्पादन तथा गार्मेन्ट उद्योग संचालन गरेर राम्रो आय आर्जन गरिरहेको छ ।
श्रीमती सुभद्रा चन्द
गत वर्ष नेकपाले लेडी रोजेटा जातको २ लाख ९ हजार ५ सय केजी आलु उत्पादन गरेको थियो । आलु बेचेर ४० लाख बढी फाइदा गरेको उसको दाबी छ । विनोद चौधरीको सीजी फुड कम्पनीलाई चिप्स बनाउन २ लाख किलो आलु बिक्री गरेको थियो । प्रतिकिलो ४५ रुपियाँका दरले ९० लाखको आलु बचेको थियो । कम्पनीले चिप्स बनाउन ३२ लाखको आलुको बिउ खरिद गरिदिएकामा त्यो घटाएर ५८ लाख नगद भुक्तानी दिइसकेको छ । त्यस्तै यस वर्ष बीउका लागि ३ सय ५० क्विन्टन र स्थानीय पार्टी कार्यालयमा खानका लागि एक सय क्विन्टन आलु मौज्दात छ । त्यस्तै आलु खन्दै गर्दा स्थानीय पार्टी कमिटीले ५ सय क्विन्टन आलु बचेको रकम पार्टीलाई दिएको उत्पादन विभाग प्रमुख सन्देश सीले बताए । गत वर्ष १ करोड २० लाख बराबरको आलु उत्पादन भएको थियो ।
मुलुकका कैलाली, सुर्खेत, बाँके, दाङ, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, चितवन, कास्की, तनहुँ, काभ्रे र सिन्धुलीमा ५२ बिघा जमिनमा आलु लगाइएको थियो । सबैभन्दा बढी कैलाली र चितवनमा २०/२० बिघामा लगाइएको हो । यस वर्ष पनि ५२ बिघाभन्दा बढी जमिनमा आलु लगाउने काम भइरहेको छ । अहिले यति नै जमिनमा आलु लगाइयो भन्ने तथ्यांक आउन बाँकी रहेको पार्टी स्रोतको भनाइ छ ।
सीजी उद्योगले मात्र यस वर्ष ५ लाख केजी आलुको माग गरेको छ । बीउको रकम जोगिँदा गत वर्षभन्दा अझ बढी आम्दानी हुने भएपछि नेकपाका कार्यकर्ता कृषिकर्ममा हौसिएका छन् ।
आलु खेतीमा व्यस्त नेकपाका नेता-कार्यकर्ता
यता ६५ वर्षीय स्थायी कमिटी सदस्य सन्तोष बुढामगर पनि पार्टी हेडक्वार्टरको जग्गा रहेको शिवराज नगरपालिका–९, भोक्कर गाउँमा हरेक वर्ष धान रोप्न, बीउ काढ्न आइपुग्छन् । बुढ्यौली उमेरमा आराम गरेर बस्नुपर्ने बेला बुढामगर खेतमा पसिना चुहाउँदै रोपाइ गरिरहेका हुन्छन् । धान स्याहारिरहेका हुन्छन् ।
नेकपाले चार जिल्लाको एक सय रोपनी जमिनमा अकबरे खुर्सानीको खेती गरिरहेको जनाएको छ । यस वर्ष डेढ करोड बढीको अकबरे खुर्सानी उत्पादन हुने अनुमान गरिएको पार्टी उत्पादन विभाग प्रमुख सन्देश सीले बताए । वाईवाई चाउचाउ उद्योगबाट माग भएपछि अर्घाखाँची, नुवाकोट, चितवन र रोल्पामा अकबरे खुर्सानी लगाइएको हो । ‘दुई करोड बढीको अकबरे खुर्सानी उत्पादन हुने अनुमान छ । अहिलेसम्म १३ लाख ५० हजार रुपैयाँको बेचिसकिएको छ,’ पार्टी उत्पादन विभाग प्रमुख सन्देशले भने । अर्घाखाँचीमा सोचेजस्तो नभएको र भाउ पनि यस वर्ष केही घटेको उनले सुनाए । अहिले टिप्ने र बेच्ने काम भइरहेकाले यति नै उत्पादन भयो भन्ने यकिन तथ्यांक नआएको र उद्योगलाई प्रतिकिलो २ सय ४३ रुपैयाँका दरले अकबरे खुर्सानी बेचेको सन्देशले सुनाए ।
मुलुकमा बढ्दो भ्रष्टाचार, पार्टीका नेता–कार्यकर्ता जसरी हुन्छ कमाउधन्दामा लाग्दा जनतामा वितृष्णा र असन्तुष्टि बढ्दै गएर नराम्रो अवस्था आउन थालेपछि पार्टी उत्पादनसँग जोडियो भने मात्र आर्थिक क्रान्ति गरेर अघि बढ्न सकिन्छ भन्ने लागेर कृषि क्रान्तिको अभियान चलाएको नेकपाका महासचिव चन्दले बताए । ‘पार्टीका नेता दलाल र कार्यकर्ता बिचौलिया भई थर्काउने, धम्काउने गरेर कमाउधन्दामा लागेर बदनाम भए,’ उनले भने, ‘यसले हामी कता जाँदैछौं भन्ने लाग्यो । धेरै अध्ययन अनुसन्धान गरेँ । त्यसपछि अब सत्ताभन्दा उत्पादन मोह पहिलो बनाउनु पर्छ भन्ने लागेर यता लागेका हौं ।’
कृषि क्रान्तिमार्फत उत्पादनमुखी काम गर्दै पार्टी राजनीतिलाई अगाडि बढाउने नेत्रविक्रम चन्दको यो रणनीति कत्तिको सफल हुन्छ, आउँदा दिनहरूले नै देखाउने छन् ।चन्दा असुलेर होइन, कृषि क्रान्ति गरेरै पार्टी अहिले करोडौंको धनी भएको र आफैं पनि कृषि कर्ममा रमाउन पाउदा आनन्दित हुने चन्दले सुनाए । ‘माटोमा जीवनको हाँसो र खुसी देख्दा सबै दुःख र पीडा भुलेर रोमाञ्चित बन्छु,’ उनले भने ।
माओवादी द्वन्द्वका बेला बम, बारुद्ध र बन्दुक खेलाउने हातहरू अहिले माटो खेलाई उत्पादनमुखी काम गरेर उदाहरणीय बन्दै जाँदा खुसी लागेको अधिकारकर्मी महेन्द्र अर्यालले बताए । ‘अपार सम्भावना भएको कृषिकर्ममै मुलुक र जनताका लागि भविष्य खोज्नु निकै राम्रो हो,’ उनले भने, ‘यसले परनिर्भरता घटेर स्वाभिमानसाथ बाँच्न सिकाउँछ । यसले अन्य पार्टीका नेता–कार्यकर्तालाई उत्साहित गर्छ । पुँजीपतिविरुद्ध विद्रोह गरौं भन्दै हिँड्ने नेत्रविक्रम चन्द अहिले आफूले उत्पादन गरेका सामान तिनैलाई बेच्दै हिँड्नु जस्तो वैचारिक सिफ्ट र उनमा आएको परिवर्तनले चारैतिर सकारात्मक सन्देश गएको अधिकारकर्मी अर्यालले बताए ।
त्यस्तै पार्टीले आय आर्जनका लागि माछा र मौरी पालन पनि गरिरहेको छ । कपिलवस्तुमा एक बिघा, चितवनमा ५ बिघा र दाङमा ६ बिघामा खनिएका पोखरीमा माछापालन गरिएको छ । त्यस्तै चितवनको शक्तिखोरमा ६० घार मौरी पालन गरिएको छ । जुम्ला र कालीकोटमा १० हजार बोट स्याउ लगाइएको छ । कालीकोटको पाटनमा भेंडा फार्म संचालन गरिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको अञ्चलपुर आसपासका ठाउँ भोक्कर र बिजगौरीको ५ बिघा जमिनमा सामूहिक खेती गर्न पाउँदा निकै खुसी मिलेको पार्टी कार्यकर्ता गणेश सीले बताए । ‘काम गरेबापत पार्टीले उचित पारिश्रमिक दिन्छ,’ उनले भने, ‘सम्मान पनि उत्तिकै छ । यही कामले घरको चुलोचौको बलेको छ भने घर–व्यवहार पनि मज्जाले धानिएको छ ।’ खुसीले काम गर्दागर्दै दिन बितेको पत्तै नपाइने उनले सुनाए । ‘कृषिकर्ममै रमाएको छु,’ उनले थपे ।
बिजगौरीमा पार्टी सम्बद्ध सहकारीले गौशाला संचालन गरेको छ । त्यहाँबाट जम्मा भएको दुध पार्टी कार्यकर्तालाई खान भएको छ भने मल खेतीपातीका लागि उपयोगमा आएको छ । ‘यसले छाडा चौपाया नियन्त्रणमा पनि सहयोग पुगेको छ,’ गणेशले भने ।
सी गार्मेन्ट उद्योग
पार्टीले केन्द्रीय कार्यालयनजिक करिब १० लाख रुपैयाँ लगानीमा सी गार्मेन्ट उद्योग सञ्चालन गरेको छ । १४ महिनामा ४१ लख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ०८१ असारदेखि ०८२ साउनसम्म १० लाख बढी आम्दानी गरेको पार्टीको दाबी छ । पार्टीको आफ्नै गार्मेन्टमा तयार गरेका चिटिक्क परेका कालो कोट, पाइन्ट र कमिज लगाएर १ सय ४५ जना केन्द्रीय सदस्य शिवगढीमा गत वर्ष पुस पहिलो साता सम्पन्न ६ औं केन्द्रीय कमिटी बैठकमा सहभागी बनेका थिए । नेताको पोसाकमा देखिएको एकरूपताले समानता देखियोस् भनेर यसो गरिएको पार्टीको दाबी छ । गार्मेन्टले कोट, पाइन्ट, कमिज, ट्रयाकसुट, हाफ पाइन्ट, कुर्ता–सुरुवात, स्कुल ड्रेस र झुल सिलाएर बिक्री वितरण गरिरहेको छ । पार्टी केन्द्रका दुई र स्थानीय ९ जनालाई गार्मेन्टले रोजगारी दिएको छ ।
खासगरी पार्टीले दुई तरिकाले खेती गरिरहेको छ । एउटा पार्टीले नै सबै खर्च दिएर पार्टी संचालनका लागि संस्थागत खेती गरिँदैछ भने अर्को पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको समेत लगानीमा एकीकृत स्वमित्व, सामूहिक उत्पादन र व्यक्तिगत उत्तरदायित्वको नारा दिएर खेती गरिएको छ । संस्थागत खेतीको सबै आम्दानी पार्टीले लिन्छ भने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको आधी लगानी रहेको खेतीमा आम्दानीको ६० प्रतिशत व्यक्ति र ४० प्रतिशत पार्टीले लिने केन्द्रीय सदस्य तथा संचार विभाग प्रमुख पावेल सीले बताए । महासचिव चन्द आफैं संलग्न भएर गरेको उत्पादनको स्वामित्व पूर्णतः पार्टीको हुनेछ ।
पुस पहिलो साता कपिलवस्तुमा सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव चन्दले पार्टी उत्पादनसँग जोडिएपछि सफल परिणाम देखिएको उल्लेख गर्दै सकारात्मक सन्देश गएको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका थिए । ‘यसले पार्टीको ओज, गरिमा र सारतत्त्वलाई नयाँ उचाइमा पुर्याएकामा खुसी लागेको छ,’ उनले भनेका छन् ।
चन्द नेतृत्वको नेकपा (माओवादी)ले नेता र कार्यकर्तालाई कृषिकर्म गर्न हरेक वर्ष एक महिने बिदा दिने गरेको छ । नेकपाले कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै नवौं महाधिवेशनमार्फत ‘नयाँ आर्थिक मार्ग’ को नयाँ प्रस्ताव पनि पारित गरेपछि मुलुकभरका नेता–कार्यकर्ता धान रोपाइ लगायतका कृषिकर्ममा व्यस्त हुने गरेको पोलिटब्युरो सदस्य कृति सीले बताए । ‘त्यसका लागि पार्टीले असार १० देखि साउन १० सम्म एक महिने बिदा दिने गर्छ,’ उनले भने, ‘होलटाइमर, पार्टटाइमर कार्यकर्ता र शुभचिन्तक सबै कृषिकर्ममै लाग्दा पार्टीलाई नयाँ रक्तसंचार भएको छ ।’
पछिल्लो समय निर्वाचन आयोगमा नेकपा (माओवादी) पार्टी दर्ता गरेर नेत्रविक्रम चन्दले नयाँ सन्देश पनि दिन खोजेका छन् । पुष्पकमल दाहालले परित्याग गरेको माओवादलाई चन्दले ब्युँताएको पनि बताइँदैछ । आ–आफ्नो भूगोलमा जिल्ला, प्रदेश र केन्द्रीय कमिटीले कृषि क्रान्तिमार्फत उत्पादनमुखी काम गर्दै पार्टी राजनीतिलाई अगाडि बढाउने चन्दको यो रणनीति कत्तिको सफल हुन्छ, आउँदा दिनहरूले नै देखाउने छन् ।
थप सामग्री :
