गलत मान्यतालाई रूपान्तरण गर्न सक्छौं भनेर नै अघि बढेका हौं : चन्द (अन्तर्वार्ता)

'अहिलेचाहिँ हाम्रो पार्टी नेकपा एउटा स्वतन्त्र प्रतिनिधिमूलक संस्था हो । त्यस हिसाबले हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरौं भनेर निर्णय गरेको हो ।'

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

We have moved forward because we can transform wrong beliefs: Chand (Interview)

What you should know

काठमाडौँ — गलत संस्था र मान्यतालाई रूपान्तरण गर्न चुनावमा भाग लिन लागेको नेकपाका महासचिव नेत्रविक्रम चन्दले बताएका छन् । नयाँ पुस्ता, जसले अब जनताको बीचबाट एकदमै नयाँ तरिकाले सोचिराख्या छ, त्यसलाई जोडेर कम्युनिस्ट आन्दोलनलाई पुनर्गंठन गर्न पनि आफू लागिपरेको उनको भनाइ छ । प्रस्तुत छ, चन्दसँग ईकान्तिपुर संवाददाता गंगा बीसीले गरेको कुराकानी :

धेरै उतारचढावबीच दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भयो । अब कसरी अघि बढ्न्हुन्छ ?

यो चाहिँ नयाँ त नयाँ नै बाटो भयो । तर हाम्रो दृष्टिकोणअनुसारको नयाँ हो यो । परिवर्तनका सन्दर्भमा जनताको बीचबाट संसद्, जनता, सरकार सबैलाई एकीकृत ढंगले जोड्ने गरी हामीले यो निर्णय लिएको हो । 

कतिपयलाई नेकपा पनि माओवादीजस्तै फेरि संसदीय राजनीतिमा भुल्ने हो कि भन्ने आशंका छ । नेकपासँग नयाँ मार्गचित्र के छ ?

राज्यको रूपान्तरण आवश्यक छ । पुनर्संरचना आवश्यक छ भन्ने बहस त संसदभित्रै चलिराखेकै छ । हामीले जनताको बीचबाट चलाइराखेकै छौं । जेनजी आन्दोलनले त सडकबाट परिवर्तनको एउटा तहसम्म लग्यो । राज्यका संरचनालाई परिवर्तन गर्ने तहसम्म त लगिनै सक्यो । त्यसैले अबचाहिँ अहिलेको बदलिँदो सन्दर्भअनुसार एकीकृत ढंगले सबै मुद्दामा सबै क्षेत्रबाट, सडकबाट पनि जनताको बीचबाट पनि, संसदबाट पनि पुनर्संरचना गर्न सकिन्छ । यी काम गर्न सकिन्छ भनेरै दल दर्ता गरेर निर्वाचनमा जाने निर्णय गरेका हौं ।

नेकपाले निर्वाचनमा भाग लिएर कसरी विद्यमान समस्या समाधान गर्न सक्छ ? 

हामीले अहिले संसदलाई कसरी हेर्छौं भने जनताको प्रतिनिधित्व गर्ने संस्थामा जनताको भावनाअनुरूप सहभागी भएर त्यसलाई जनताको पक्षमा रूपान्तरण गर्ने पहल गर्न सकिन्छ । त्यो गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

माओवादीसँग पार्टी एकतै गरेर चुनावमा जाने भन्ने थियो । तर एक्लै पार्टी दर्ता गर्नुभयो नि ? 

हामीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता बढ्यो, नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि नेतृत्व तहबाट पहल हुनुपर्छ भनेर नै प्रस्ताव गरेका हौं । त्यसमा समाजवादी मोर्चाभित्रका दलहरूसँग पनि हामीले छलफल गरेका छौं । अरु विभिन्न मित्र पार्टीहरूसँग अरु कम्युनिस्ट, समाजवादी पार्टीसँग छलफल गरिराखेका छौं । त्यसको ठोस निष्कर्ष त आइसकेको छैन । त्यो एउटा क्रममा परिणाम आउला पनि । अहिलेचाहिँ हाम्रो पार्टी नेकपा एउटा स्वतन्त्र प्रतिनिधिमूलक संस्था हो । त्यस हिसाबले हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरौं भनेर निर्णय गरेको हो ।

तपाईंले पार्टी एकताको आधार पुरानाले छोडेर अब नयाँ ढंगले जानुपर्छ भन्दै आउनु भएको छ । त्यो सम्भव देख्नुहुन्छ ?

नयाँ कम्युनिस्ट केन्द्र एकदम आवश्यक भइसकेको छ । त्यसो गर्दा यो लामो समीक्षा आवश्यक छ । हाम्रा अग्रज नेताहरूसहित समीक्षा आवश्यक छ । यो उमेरको कुरा मात्रै पनि होइन । पुस्ताको कुरा मात्रै होइन । तर केही हो पनि । जस्तो कि, जो लगभग दुई, तीन, चार दशकदेखि नेतृत्वमा हुनुहुन्छ, यो सोचचाहिँ बदल्नैपर्छ । योचाहिँ हामीले पूरै बदल्नुपर्छ । यो हाम्रो एकदम स्पष्ट दृष्टिकोण हो । त्यो मात्रै होइन, नयाँ पुस्ता, जसले अब जनताको बीचबाट एकदमै नयाँ तरिकाले सोचिराख्या छ, त्यसलाई जोडेर कम्युनिस्ट आन्दोलनलाई पुनर्गंठन गर्नुपर्छ । अन्यथा त्यसैमा दोहोर्‍याई राख्ने, घुमाइराख्ने, पुरानैमा घुमाउने, पुरानैमा दोहोर्‍याउने हो भने कम्युनिस्ट आन्दोलन एकदमै एउटा जोखिममा छ ।

तपाईंहरूले कृषि क्रान्तिसँगै उत्पादनको कुरा पनि अगाडि बढाउनु भएको छ, अब चुनावमा कस्तो मुद्दा अघि सार्नुहुन्छ ?

हामीले त एकदमै अनुरोध गरेको कुरा के हो भने राज्यले आर्थिक दृष्टिकोण र खासगरी कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ । हामीले पुष्पकमल दाहाल कमरेड, केपी शर्मा ओली कमरेडसँग प्रस्ताव पनि गरेका थियौं । अब जनताको बीचमा हामी बसेकाले हामीले अनुभवका आधारमा यो क्षेत्रमा मिलेर काम गरौं, राज्यले थोरै सहयोग गरोस् भनेका थियौं । तर, त्यो हुन सकेन । हामीले उत्पादनका कामलाई अघि बढायौं । कृषिमा राज्यलाई अझै जोड्न पाइयो भने कर्मचारी क्षेत्रबाट, सरकारी क्षेत्रबाट, राजनीतिक क्षेत्रबाट जोड्न पाइयो भने राम्रो हुन्छ भनेका छौं । नेपालले कृषि क्रान्ति, आर्थिक क्रान्ति प्रतीक्षापूर्वक, एकदमै व्याकुलतापूर्वक पर्खिरहेको अनुभूति हुन्छ ।

नेकपा पनि संसदीय राजनीतिमा रमाउने हो कि भन्ने आशंका पनि छ नि ?

हामीसँग विभिन्न अनुभव छन् । त्यसमा भएका गलत चिजलाई रूपान्तरण गर्ने, गलत चिजमा गएर फस्ने भन्ने भन्दा पनि गलत चिजलाई रूपान्तरण गर्ने एउटा अगुवा भूमिका राजनीतिक शक्तिहरूले गर्ने हो । अहिलेसम्म यसमा त्यति धेरै सफलता देखिँदैन । तर त्यो चुनौती कसैले त उठाउनै पर्छ नि ! त्यसकारण गलत संस्थाहरू, गलत मान्यतालाई रूपान्तरण गरेर जनताको भावना र अपेक्षा अनुरूप जनताकै प्रतिनिधिले नयाँ निर्माण गर्ने हो । त्यस हिसाबले कम्युनिस्ट पार्टी भनेको एउटा श्रमजीवी जनता, स्वाभिमान, सिर्जनशील जनताको प्रतिनिधि संस्था हो । गलत मान्यतालाई रूपान्तरण गर्न सक्छौं भनेर नै हामी अघि बढेका हौं ।

कान्तिपुर

Link copied successfully