दाहालले छोडेको ‘माओवाद’ चन्दले ब्यूँताए

वैधानिक रूपमा नेकपा (माओवादी)को मान्यता नेत्रविक्रम चन्दले पाए ।

मंसिर २, २०८२

गंगा बीसी

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले माओवाद छाडे पनि माओवादीकै पूर्वनेता नेत्रविक्रम चन्दले त्यसलाई वैधानिक रूपमा ब्यूँताएका छन् । निर्वाचन आयोगमा दल दर्ता गरी आफूले माओवादी धारको ‘असली’ पार्टी बनाउन चाहेको उनले बताए । महासचिव चन्द रहेको नेकपा (माओवादी) लाई मंगलबार निर्वाचन आयोगले मान्यता दिएको छ ।

माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलगायत करिब एक दर्जन घटकसँग एकता गरेपछि नाम र माओवाद छोडेको हो । यसअघि मार्ग निर्देशक सिद्धान्त मान्दै आएको माओवादलाई उसले करिब करिब विसर्जन गरेको छ । अब दाहाल नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद भएको छ । जुन एमालेले तीसको दशकदेखि अँगाल्दै आएको छ । 

२०७५ जेठमा एमालेसँग एकता हुँदा पनि दाहालले माओवाद छाडेका थिए । सर्वोच्च अदालतले २०७७ मा एक मुद्दामा फैसला गर्दै एमाले र माओवादी अलग हुने फैसला गरेपछि दाहाल फेरि माओवादमा फर्किएका थिए । जेन–जी आन्दोलनपछि भएको उथलपुथलले पार्टीहरू मात्र बदलिएनन्, उनीहरूले विचारधारासमेत बदले । त्यही बाटोमा हिँडेका एक नेता दाहाल पनि हुन् । ‘नेपाली विशेषताको समाजवाद’ स्थापना गर्ने नवगठित नेपाली कम्युनिस्ट पार्टीको प्रमुख उद्देश्य छ । 

दाहालले माओवादलाई ‘बदनाम’ गरेको, संशोधनवादी बाटो लिएको भन्दै माओवादीबाट २०६९ असारमा अलग भएका मोहन वैद्यको नेतृत्वमा ‘क्रान्तिकारी माओवादी’ नामको अर्को पार्टी बनेको थियो । दाहाल नेतृत्वको माओवादी केन्द्रले संसदवादी बाटो लिएको निष्कर्षसहित वैद्य समूहले ‘जनविद्रोह’को कार्यदिशा पास गरेको थियो । जनविद्रोहबाट माओवादको रक्षा हुने विश्वास अहिले पनि वैद्य पक्षको छ । त्यो समूहले पनि दुई वर्षअघि माओवादी नाम छाडेर ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी (क्राकपा) गठन गरे पनि माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्दै आएको छ । क्राकपाले ‘जनविद्रोह’ को नीतिलाई कार्यान्वयन गर्न सकेको छैन । 

माओवाद माओले चीनमा गरेजस्तै सशस्त्र युद्धबाट गाउँदेखि सहर घेर्दै राज्यसत्ता कब्जा गर्ने सिद्धान्त हो । २०५२ मा नेपालको माओवादीले त्यही नीति लिएर १० वर्ष जनयुद्ध गरेको थियो । 

वैद्य नेतृत्वको माओवादीले जनविद्रोह नगरेको भन्दै नेत्रविक्रम चन्दको नेतृत्वमा २०७१ मंसिरमा अर्को पार्टी निर्माण भयो । नेपाल कम्युनिस्ट पार्टी नाम राखेर मंगलबारसम्म पनि चन्द यही नाम बोकेर अघि बढेका थिए । कात्तिक १९ मा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १० घटक मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनाएपछि चन्द पुरानै नाममा फर्केने निष्कर्षमा पुगेका थिए । माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्नुअघि २०५२ मा नेकपा एकता केन्द्रको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नाम राखेको थियो । त्यही नामबाट उसले १० वर्षे सशस्त्र युद्ध र १० वर्षे शान्ति प्रक्रिया पूरा गरेको थियो । दुई दशकपछि उसले कात्तिक १९ मा पार्टीको नाम र माओवाद छाड्यो । पुरानै नाममा फर्कनुको कारणचाहिँ माओवादीको विरासत बचाउनु रहेको नेता एवं पूर्वसांसद सन्तोष बुढामगरले बताए । 

'सिद्धान्त छोडेर दाहालसँग एकतामा जानु माओवाद समाप्त पार्ने काम हुन्थ्यो'

‘हिजोको माओवादीले १० वर्षसम्म चलाएको जनयुद्धको मर्म–भावना–लिगेसीलाई निरन्तरता दिने मात्रै हो । दाहाल कमरेडले माओवाद छोडेर मार्क्सवाद–लेनिनवाद भन्दै एमालेकरण हुनुभयो,’ उनले भनेका छन्, ‘मोहन वैद्य कमरेडको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पनि करिब–करिब माओवादबाट कता–कता हटिरहेको देखिन्छ । यस्तो अवस्थामा जनतामाझ रहेको माओवादी भावना, विचार हराउनेजस्तो अवस्था देखा परेपछि जनयुद्धको ऐतिहासिक भावभूमिलाई आधार मानेर हामीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनाएका हौं ।’

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेपछि नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द उत्साहित देखिन्थे । उनीलगायत नेताहरू हातमा गुलाबको फूल लिएर आयोग पुगेका थिए । 

उनले पार्टीले मान्यता पाएपछि नयाँ प्रतिबद्धता लिएर अघि जाने बताए । ‘नयाँ अठोट, नयाँ विश्वाससहित निर्वाचनमा जाने गरी दल दर्ता गरेका छौं,’ उनले भने, ‘एउटा अभियान सुरु भयो । हामी नयाँ अभियानमा अघि बढ्न चाहन्छौं । जनता नै इतिहासको निर्माता हो । हिजो पनि जनतामा, आज पनि जनतामा छौं ।’ उनले ‘देशलाई सुशासन दिने योग्य प्रतिनिधि बनाएर अघि जान’ निर्वाचनमा होमिएको बताए । 

माओवादीबाट ०६९ असारमा अलग भएपछि चन्दलगायतका नेताले मोहन वैद्यको नेतृत्वमा जनविद्रोह गर्ने रणनीति अघि सारेका थिए । अध्यक्ष दाहाल नेतृत्वको माओवादी केन्द्र २०६३ मंसिरमा विस्तृत शान्ति सम्झौता गरेपछि प्रतिस्पर्धात्मक संसदीय राजनीतिक यात्रामा अघि बढेको थियो । 

वैद्य जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि चन्दले ०७१ मंसिरमा वैद्यबाट अलग हुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । त्यसपछि अर्धसशस्त्र संघर्ष सुरु गरी चन्द लगायतको नेतृत्व दुई वर्ष (२०७५ देखि २०७७ सम्म) भूमिगत भएको थियो । 

सशस्त्र अवैधानिक गतिविधि गरेपछि तत्कालीन केपी शर्मा ओली सरकारले ०७५ फागुन २८ मा नेकपामाथि प्रतिबन्ध लगाएको थियो । नेकपाका नेता तथा कार्यकर्तामाथि धरपकड सुरु गरेको थियो । नेकपाको हिंसात्मक गतिविधिबाट प्रहरी, शिक्षक, सर्वसाधारणलगायत ६ जनाले ज्यान गुमाएका थिए । नेकपाका १५ कार्यकर्ताको मृत्यु भएको थियो । नेकपाका १ सय बढी कार्यकर्तालाई हिंसात्मक गतिविधि गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । हाल विभिन्न गम्भीर प्रकृतिका मुद्दामा नेकपाका १५ कार्यकर्ता जेलमा रहेका छन् ।

शान्तिपूर्ण प्रतिस्पर्धामा आउने प्रतिबद्धता जनाएपछि ओली सरकारले नै नेकपामाथिको प्रतिबन्ध हटाएको हो । सरकार र नेकपाबीच ०७७ फागुन २१ मा तीनबुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा पनि शान्तिपूर्ण राजनीतिमा सहभागी बनेको थियो ।

गंगा

Link copied successfully