जनतामाझ रहेको माओवादी भावना र विचार हराउने जस्तो अवस्था देखा परेपछि आफूहरूले जनयुद्धको ऐतिहासिक भावभूमिलाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनाएकाे नेता सन्तोष बुढा मगरको दाबी ।
What you should know
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता सन्तोष बुढा मगरले आफूहरू नै माओवादी जनयुद्ध, माओवादी विचार र माओवादी स्पिरिट पक्डेर बसिरहेको दाबी गरेका छन् । ‘हामी नै हिजोको असली माओवादीको उत्तराधिकारी हौं भन्ने हाम्रो ठम्याइ हो,’ उनले भने ।
उनै बुढामगरसँग नेकपाको नाम छाडेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनाउनुको कारणसहित समसामयिक विषयमा गंगा बीसीले गरेको संवादको सम्पादित अंश :
तपाईंहरूले नेकपा नाम छाडेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनाउनुको कारण के हो ?
हिजोको माओवादीले १० वर्षसम्म चलाएको जनयुद्धको मर्म, भावना र विरासतलाई निरन्तरता दिने नीति हो । पुष्पकमल दाहाल कमरेडहरूले माओवाद छोडेर मार्क्सवाद, लेनिनवाद भन्दै एमालेकरण हुनुभयो । संसदीय कमरेडहरू त कम्युनिस्ट पार्टीको बाटो छोडेर धेरै टाढा पुगिसक्नुभयो ।
मोहन वैद्य कमरेडको नेतृत्वमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पनि करिब–करिब माओवादबाट कता–कता हटिरहेको देखिन्छ । यस्तो अवस्थामा जनतामाझ रहेको माओवादी भावना र विचार हराउने जस्तो अवस्था देखा परेपछि हामीले जनयुद्धको ऐतिहासिक भावभूमिलाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बनाएका हौं ।
अब यसको अर्थ असली माओवादी हामी हौं भन्न चाहेको हो ?
अहिलेसम्मको अभ्यास, सिद्धान्त, विचार र व्यवहार हेर्दा हो– हामी नै माओवादी जनयुद्ध, माओवादी विचार, माओवादी स्पिरिट पकडेर बसिरहेका छौं । किनकि हामी आजसम्म संसदीय व्यवस्थामा गएर मिसिएका छैनौं । हिजो जनयुद्धले बोकेको उद्देश्य— जनता, सहिद, बेपत्ता, घाइते योद्धाहरूको आकांक्षा पूरा गर्ने प्रतिबद्धता— हाम्रो पार्टीको छ । त्यसैले हामी नै हिजोको असली माओवादीको उत्तराधिकारी हौं भन्ने हाम्रो ठम्याइ हो ।
२०५२ सालको माओवादी र अहिलेको माओवादीबीच के फरक छ ?
त्यसबेलाको माओवादी जनयुद्धमार्फत निरंकुश राजतन्त्र र जनतामाथिको शोषण–शासनलाई ढालेर जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्य लिएर अघि बढेको थियो । त्यसको पहिलो भाग सफल भयो— राजतन्त्र ढल्यो । तर, दोस्रो उद्देश्य- संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवादी व्यवस्था- त्यो मोर्चामा माओवादी असफल रह्यो ।
अब नयाँ नेकपा (माओवादी) को मुख्य उद्देश्य के हो ?
राजतन्त्र त गइसकेको छ । तर अहिले नेपालमा दलाल पुँजीवाद छ । त्यसलाई परिवर्तन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्छ । विदेशी हस्तक्षेप रोकेर नेपाललाई स्वाधीन बनाउनु छ । जनता अझै अधिकार सम्पन्न बनेका छैनन् । जनतालाई अधिकार सम्पन्न गराउनु छ । देशलाई आत्मनिर्भर बनाउने मोडेल विकास गर्नुपर्छ । यही अहिलेको माओवादीको कार्यदिशा हो ।
चुनावमार्फत नेपाली विशेषताको समाजवाद कसरी अगाडि सार्नुहुन्छ?
हामीले चुनाव मात्रै अन्तिम विकल्प हो भनेका छैनौं । चुनाव संघर्षको एउटा मोर्चा हो । हाम्रो कार्यदिशा एकीकृत जनक्रान्ति हो । जनतालाई दिन सक्ने उपलब्धि चुनावबाट पनि दिनुपर्छ । त्यो सम्भव नभए आन्दोलन– संघर्षको बाटोबाट जनताका चाहना र आकांक्षा पूरा गर्नुपर्छ ।
नेकपा (माओजवादी) को चुनाव चिह्न गुलाबको फूल प्रेमको प्रतीक कि क्रान्तिको रङ ?
गुलाब प्रेमको प्रतीक हो । हामी जनतासँग प्रेम गर्छौं । हार्दिकतापूर्वक सम्बन्ध गाँस्छौं- जस्तै दुई युवकयुवतीबीच हुने शुद्ध हार्दिक प्रेम जस्तै ।गुलाब प्रेमको प्रतीक हो । हामी जनतासँग प्रेम गर्छौं । हार्दिकतापूर्वक सम्बन्ध गाँस्छौं- जस्तै दुई युवकयुवतीबीच हुने शुद्ध हार्दिक प्रेम जस्तै । हिजो, आज, भोलि- हाम्रो जनताप्रतिको प्रेम उस्तै रहन्छ । यही प्रेम र हार्दिकता लिएर जनतासँग एकाकार भएर हामी चुनावमा जान्छौं ।
अहिले ठ्याक्कै भन्न सकिन्न, तर जनताले हामीलाई माया गर्छन् भन्ने विश्वास छ । १० वर्षको जनयुद्ध, त्यसपछिको १० वर्षको शान्ति प्रक्रिया, त्यसमा पनि दुई वर्षको प्रतिबन्ध भोग्दा पनि हामी जनताकै माझमा थियौं । पार्टी पुनःस्थापित गर्यौं । जेनजी आन्दोलनले पनि पुष्टि गरिदियो- भ्रष्टाचारमा डुबेका अन्य पार्टीहरूको भीडमा असली, जनमुखी, उत्तराधिकारी पार्टी हामी नै हौं । उनीहरूको कार्यालय जल्दा, नेता सेनाको सुरक्षामा बस्नु पर्दा हामी जनतामाझै थियौं । जनतासँग हातेमालो गर्दै कृषि, पशुपालन, उत्पादनम जनतासँगै थियौं ।त्यसैले अहिले जनताको आशा–भरोसाको केन्द्र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी बनेको छ ।
हालै नाम फेरेको माओवादीसँग एकता किन हुन सकेन ?
सबै कम्युनिस्ट एकताबद्ध हुनुपर्छ— यो हामीले नै प्रस्ताव गरेका थियौं । तर भ्रष्टाचारमा प्रमाणित पुरानो पुस्ताबाट अबको आन्दोलन र पार्टी निर्माण सम्भव छैन- यो पनि स्पष्ट थियो । पुराना पुस्ताले आ–आफ्नो पद-पोजिसन छोड्न मान्नुभएन । उल्टै एक व्यक्ति, एक पार्टी बनाउँदै १२–१२ वटा पार्टीसम्म पुगेर एकता गरेको भनियो । हामीले भनेका थियौं- पुराना नेताहरू सम्मानित ठाउँमा बसून्, तर नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ । जनता पनि यही चाहन्छन् ।
दाहालले माओवाद छोडिसकेपछि, नाम फेरेपछि, सिद्धान्त छोडेर एमालेकरण भएपछि, त्यो एकतामा जानु भनेको माओवाद समाप्त पार्ने काम हुन्थ्यो । यदि हामी त्यहाँ गएको भए नेपालमा कम्युनिस्ट आन्दोलन नै सिद्धिने थियो । त्यसैले हामी त्यो एकतामा गएनौं । बरु नयाँ ढंगले माओवादी बचाउनकै लागि अघि बढेका छौं ।
