जेन-जी विद्रोहपछि दल दर्ताका लागि निवेदन दिएकामध्ये बिहीबारसम्म ७ दलले प्रमाणपत्र बुझेका छन् भने अझै ३० वटा निवेदन आयोगमा दल दर्ताको प्रक्रियामा छन् ।
What you should know
काठमाडौँ — जेन-जी विद्रोहले सत्तापलट मात्रै भएन, राजनीतिक दलहरूलाई सुधारको सबक पनि सिकायो । पुराना दलमा आफू सुध्रिनुपर्ने र नेतृत्व हस्तान्तरणको बहस पनि हुन थालेका छन् ।
जेन-जी विद्रोहको जगमा सत्ता परिवर्तन र निर्वाचनको घोषणापछि नयाँ राजनीतिक दल दर्ताको लहर नै चलेको छ । जसमा नयाँ पुस्ताको निकै चासो देखिन्छ ।
जेन-जी विद्रोहयता निर्वाचन आयोगमा ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् । अझै ३० वटा दल दर्ता प्रक्रियामा छन्। २३ र २४ भदौमा भएको विद्रोहले भ्रष्टाचारको अन्त्य र सुशासन कायमपछि राजनीतिमा पुस्तान्तरण नै मुख्य माग थियो।
परम्परागत राजनीतिक दलहरूको विकल्प बन्न निर्वाचन आयोगमा तीन दर्जन निवेदन परेका छन्। धरानका मेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी, कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेश पोर्तेल नेतृत्वको राष्ट्रिय परिवर्तन पार्टीले प्रमाणपत्र पाइसकेका छन्।
त्यस्तै, रियाज अहमद शेषको नेतृत्वमा राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तथा अकबर खान नेतृत्वको राष्ट्र निर्माण दलले पनि दर्ता प्रमाणपत्र लिइसकेका छन्। निवेदन दिएका अन्य ३० राजनीतिक दलहरूले आवश्यक कागजात पुर्याउन बाँकी रहेकाले प्रमाणपत्र दिइएको छैन।
आयोगका अनुसार प्रमाणपत्र पाइसकेकामध्ये नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष कबिर सोप र राष्ट्रिय परिवर्तन पार्टीका राजेश पोर्तेल जेन-जी उमेर समूहका हुन्। बाँकी दलमा भने पुरानै ढर्राको नेतृत्व छ।
जेन-जी आन्दोलनपछि धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले सबैभन्दा पहिले दल दर्ता गराएका थिए। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएर नागर प्रमुखमा विजयी भएपछि उनी चर्चित भएका हुन् । जेन-जी आन्दोलन पछाडि उनले आफूलाई प्रधानमन्त्री पदका दाबेदारका रूपमा प्रस्तुत गरेका थिए । उनको पार्टीका प्रवक्ता अरुण गुरुङ काम र उत्पादनलाई जोड दिने पार्टीको प्रमुख उद्देश्य रहेको बताउँछन् ।
‘हामी गणतन्त्रवादी र संस्कृतिवादी हौँ । सबैको संस्कृतिलाई स्वीकार्ने र सम्मान गर्छौँ,’ उनले भने ‘सबै अटाउने गरी राष्ट्रव्यापी रूपमा पार्टीलाई विस्तार गर्ने अभियानमा जुट्दै छौँ ।’ आयोगको अभिलेखमा उल्लेख रहेको केन्द्रीय समितिमा अधिकांश व्यक्ति जनजाति समुदायबाट छन् ।
उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा आरेन राई, कोषाध्यषमा समिता राई र प्रवक्तामा अरुण गुरूङ्ग छन् । दल दर्ताको प्रक्रिया पूरा गर्नलाई मात्र २८ सदस्यीय तदर्थ समिति बनाएको प्रवक्ता गुरूङ्गले बताए । सबै भूभाग र जातजातिलाई समेटेर २ सय सदस्यीय कार्यसमिति बनाउन लागिएको उनले उल्लेख गरे । त्यसमा महिलाको उपस्थिति ५१ प्रतिशत रहने उनले दाबी गरेका छन् ।
व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको सक्रियतामा खोलिएको नयाँ दल हो–‘गतिशील लोकतान्त्रिक पार्टी । बुद्ध एयरका मालिक बस्नेत उड्डयन व्यवसाय क्षेत्रमा ख्याति कमाएका व्यक्ति हुन् । उनी पार्टीको केन्द्रीय सदस्यमा बसेका छन् । पार्टी पदाधिकारीले चुनाव लड्न नमिल्ने वैधानिक व्यवस्था गरेकाले उनी आफू नेतृत्व तहमा बसेका छैनन् । उक्त पार्टीमा उद्यमी व्यवसायी तथा विभिन्न विषयका विज्ञहरू जोडिएका छन् ।
पार्टी अध्यक्ष प्रसाईँ राजनीतिक समाजशास्त्रीका रूपमा चिनिन्छन् । उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गराएका छन् । व्यवसायी पीयूष कायस्थ महासचिव छन् । उनी कृषि क्षेत्रका विज्ञ मानिन्छन् । आरजु राईस उद्योगका एक जना साझेदार पनि हुन् । पाँच जना महासचिवमा दुई जना महिला छन् । उक्त दलले सक्रिय उच्च पदमा महिलालाई स्थान दिएको छ ।
पार्टीका केन्द्रीय सदस्य जगन्नाथ लामिछाने पार्टीको मुख्य उद्देश्य उद्यमशीलता र उत्पादनमुखी समाज बनाउने रहेको बताउँछन् । देशभित्रै रोजगारी बढाउने विषयलाई नै प्राथमिकतामा राखिएको उनले उल्लेख गरे । ‘समस्या देखाउने मात्रै होइन, त्यसको समाधानमा काम गर्ने उद्देश्य बोकेपछि पार्टीमा त्यसै अनुसार विषयका जानकारहरूलाई स्थान दिइएको छ,’ उनले भने, ‘पोपुलिस्ट मानिसलाई खोजेका छैनौँ । मुद्दामा काम गर्ने मानिस जोडिरहेका छौँ ।’ पार्टीमा उद्यम क्षेत्रमा लागेका, आन्टरप्रिनर, आईटी, कृषि, पर्यटन क्षेत्रका विज्ञहरू केन्द्रीय समितिमा रहेको उनले बताए ।
थारू हकहितका लागि आवाज उठाएर चिनिएका रेसम चौधरीको अगुवाइमा नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ । २०७२ सालमा प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूको हत्या भएको टिकापुर काण्डमा संलग्नता आरोपमा उनी जेल परेका थिए । उनी आफू पार्टीको संरक्षक बसेर जेन-जी उमेर समूहका कबिर सोपलाई अध्यक्ष बनाएका छन् । पार्टीको वरिष्ठ उपाध्यक्षमा पूर्व खानेपानी मन्त्री अब्दुल खान छन् । उनी सीके राउत नेतृत्वको जनमत पार्टी त्यागेर यता जोडिएका हुन् ।
महासचिव रहेका उमाशंकरप्रसाद चौधरी थारू आयोगमा सदस्य थिए । लोकतन्त्र, गणतन्त्र र समुदायमा आधारित समाजवादको पक्षमा आफूहरू रहेको उपाध्यक्ष खानले बताए । सांस्कृतिक तथा भगौलिक पहिचान सहितको संघीयताको मुद्दालाई बलियो गरी उठाउने उनले उल्लेख गरे । दलित समुदायलाई प्रतिनिधित्व गर्ने २५ वर्षका युवालाई पार्टी अध्यक्ष बनाएर नेतृत्वमा पुस्तान्तरण र समावेशिताको बलियो सन्देश दिन खोजिएको उनले दाबी गरे ।
बहुसङ्ख्यक जेन-जी उमेर समूहका युवाहरू रहेको दाबी गरिएको पार्टी राष्ट्रिय परिवर्तन पार्टी हो । पार्टीका उपाध्यक्ष अजयकुमार राई आफूहरूले जेन-जी आन्दोलनको भावना बोकेको दाबी गर्छन् । पार्टीको केन्द्रीय समितिमा अधिकांश कोसी प्रदेशका युवाहरू छन् । त्यसमा पनि जनजाति समुदायबाट प्रतिनिधित्व गर्नेको बाहुल्यता देखिन्छ ।
महासचिवमा अन्जु राई, सचिवमा सागर तामाङ र कोषाध्यक्षमा उषा लक्ष्मी तुम्वाहाङफे छन् । उपाध्यक्ष राईले जेन-जी आन्दोलनमा घाइते र सहिद परिवारका व्यक्तिहरू पनि पार्टीमा आबद्ध रहेको बताए । पार्टीका अध्यक्ष रहेका प्रतेल नै बिर्तामोडमा भएको जेन-जी आन्दोलनमा घाइते भएको उनले जानकारी दिए । पार्टीले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने र त्यसका लागि पनि आवश्यक प्रक्रियामा गइसकेको उनले बताएका छन् ।
पहिला जनमत पार्टीमा रहेका बाँकेका रियाज अहमद शेषले राष्ट्रिय जनमत पार्टी दर्ता गराएका छन् । उनको पार्टीका पदाधिकारी तथा सदस्यहरूमा अधिकांश बाँके र कपिलवस्तुका देखिन्छन् ।
माओवादी जनयुद्धमा सैन्य कमान्डर रहेका नेत्रविक्रम चन्द नेतृत्वले चुनावी राजनीतिमा भाग लिने गरी नेपाल कम्युनिस्ट पार्टी(माओवादी) दर्ता गराएका छन् । पुष्पकमल दाहालले माओवादीको पुरानो पहिचानलाई छाडेपछि त्यसलाई चन्दले ब्युँताएका छन् । उनले आफूलाई माओवादी धारको असली पार्टी दाबी गरेका छन् । विगतमा बन्दुक बोकेर युद्धमा होमिएका चन्दले चुनाव चिन्ह भने गुलाफको फुल लिएको छ । पार्टीमा पहिलेदेखि उनीसँग जोडिएका पूर्व माओवादीहरू आबद्ध भएका छन् ।
सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालय सम्हाली रहेका कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टी आयोगमा दर्ता प्रक्रियामा अन्तिम चरणमा छ । उनी मन्त्री रहेकाले औपचारिक रूपमा पार्टीको कुनै पदमा बसेका छैनन् । ऊर्जा मन्त्रालयका पूर्व सचिव अरुणकुमार उपाध्याय उक्त पार्टीको अध्यक्ष छन् । पार्टीको चुनाव चिन्हमा बलिरहेको बिजुलीको चिम माग गरिएको छ । डा. ताराप्रसाद जोशी, प्रा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह सदस्य छन् । ईन्जिनियरहरू पनि पार्टीको केन्द्रीय समितिमा छन् ।
त्यस्तै, अधिवक्ता रमणकुमार कर्णको संयोजकत्वमा जनादेश पार्टी नेपाल गठन गरिएको छ । आयोगमा दर्ता प्रक्रियामा उक्त दल छ । कर्ण सर्वोच्च अदालत बार एसोसिएसनका सचिव हुन् । पार्टीमा जेन जी युवा सहित अनुभवी पेसाकर्मी र अभियन्ताहरू रहेको कर्णले जनाएका छन् । जेन-जी आन्दोलनमा सहिद भएका परिवारका सदस्य, घाइते भएका र आन्दोलनमा हाँकेका जेन-जी युवाहरू पार्टीमा रहेको उनले बताए ।
‘नयाँ र युवा व्यक्तिहरू पार्टीमा जोडिनु भएको छ,’ कर्णले भने, ‘समावेशिता, लिबरल र सोसल डेमोक्रेसीको सिद्धान्त लिएको हामी पुँजीवादी पक्षधर हौँ । नेपालमा अद्यौगिक वातावरणको निर्माण हुनुपर्छ । नेपाली अब नेपालमै भन्ने हाम्रो नारा हो ।’ पार्टीमा जेन-जी आन्दोलनमा सहभागी जन्मिन ओझा, विप्लवी न्यौपाने, युवराज थापादेखि नागरिकताको विषयलाई उठाउँदै आएका इन्द्रजीत साफी समेत सहभागी छन् ।
त्यस्तै, सामाजिक मुद्दालाई उठाउँदै आएका दलित अभियन्ता खगेन्द्र सुनुवार हाम्रो पार्टी नेपाल दर्ता प्रक्रियामा छन् । पार्टीका पदाधिकारी तथा सदस्यहरूमा अधिकांश व्यक्ति दलित समुदायबाट रहेका छन् । ‘जाति उत्पीडनको विषयलाई नै हाम्रो मुख्य मुद्दा रहेकाले स्वभाविक रूपमै पार्टीमा दलित समुदायका मानिसहरू जोडिनु भएको छ,’ सुनुवारले भने ‘पीडा र घृणामा परेकाहरूको पार्टी हो । सडकबाट समस्याहरूलाई उठाइरहेका छौँ । सदनमा पुगेर उपेक्षा र उत्पीडनमा परहेकाहरुको सवाल उठाऔँ भन्ने उद्देश्य हो ।’ जेन-जी उमेर समूह तथा सामाजिक मुद्दामा बोलिरहेका व्यक्तिहरू पार्टीमा रहेको उनले बताए ।
उद्यम व्यवसाय गर्न कुनै लाइसेन्स नचाहिने र जनतालाई करको न्यून भार हुनुपर्ने मुद्दाहरू उठाउने गरी गोपाल न्यौपानेले नेपाल लिबरल पार्टी दर्ता गराउँदै छन् । नेपालमा पुँजीवादको विकास हुनुपर्ने पक्षमा आफूहरू रहेको न्यौपानेले बताए । इन्डष्ट्रियल म्यानेजमेन्टमा पिएचडी गरेका र विश्वविद्यालयमा अध्यापनमा संलग्न न्यौपानेले आफ्नो पार्टीले ‘लिबरल भ्यालु’ लाई बढावा दिने बताए ।
पूर्व प्रहरी प्रमुख आईजीपी सवेन्द्र खनालले समुन्नत नेपाल पार्टी, नागरिक अभियानमा सक्रिय रहने गणेशुमार मण्डलले सार्वभौम नागरिक पार्टी, पूर्व कम्युनिस्ट नेता तथा राजदूत रहिसकेका नवराज सुवेदीले जनयुग पार्टी दर्ताको निवेदन आयोगमा दिएका छन् । २३ भदौको जनेजी आन्दोलनमा घाइतेको उद्धार मा सक्रिय रहेकी किशोरी कार्कीले नवनिर्माण पार्टी तथा पूर्व सांसद योगेन्द्र मण्डल राष्ट्रिय उर्जाशील पार्टी दर्ता प्रक्रियामा छन् ।
