पूर्वआईजीपी खनाल कुनै बेला एमालेमा सक्रिय मात्रै थिएनन्, काठमाडौं-६ र तनहुँ-१ मा उठेर पराजित पनि भए
What you should know
काठमाडौँ — नेपाल प्रहीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफ्नै अध्यक्षतामा 'समुन्नत नेपाल पार्टी' गठन गरेका छन् । खनालले नवगठित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका हुन् ।
आफू सभापति रहने गरी ४१ सदस्य कार्यसमितिको प्रस्तावसहित पार्टी दर्ता गर्न आयोगमा निवेदन दिइएको खनालले बताए ।
पछिल्लो समय एमालेबाट राजीनामा दिएका उनी आउने चुनावमा भाग लिने गरी आफ्नै नेतृत्वमा नयाँ दल गठन गरेका हुन् । खनालले पार्टी दर्ताका लागि निवेदन दिइएको र आउने निर्वाचनमा सुशासन र समृद्धिको एजेन्डासहित प्रतिस्पर्धा गर्ने बताए ।
नेपाल प्रहरीमा ३० वर्षे सेवावधि पूरा गरेको ३ वर्ष नपुग्दै खनाल राजनीतिमा प्रवेश गरेका थिए । २०७९ असोज ६ गते उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका थिए ।
२०७९ को प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं-६ बाट रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । शिशिर खनालले १४ हजार २ सय ४ मत ल्याउँदा पूर्वआईजीपी खनालले भने ८ हजार ९ सय ११ मत मात्र प्राप्त गरेका थिए ।
काठमाडौं-६ मा हार बेहोरेको ६ महिनामै २०८० वैशाखमा भएको उपचुनावमा एमालेबाट उम्मेदवार बने । उक्त उपचुनावमा पनि उनले रास्वपा उम्मेदवारबाटै हार बेहोरे । रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले ३४ हजार ९ सय १८ मत प्राप्त गर्दा खनाल भने तेस्रो स्थानमा रहँदै ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए ।
तनहुँ-२ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि भएको उपचुनावमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले भने २० हजार १ सय २२ मत पाएका थिए ।
