चुनाव लड्ने नै हो : निर्देशक भाम

'म लामो समयदेखि काठमाडौं क्षेत्र नं ३ मा बस्दै आएँ । यहाँको समुदायसँग घुलमिल छु । मेरो पहिलो रोजाइ काठमाडौं ३ नै हो ।'

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

We will contest the election: Director Bham

What you should know

काठमाडौँ — 'शाम्बाला' निर्देशक मीन भामले '८४ को चुनाव लड्ने' कुरा पहिल्यैदेखि भन्दै आएका थिए । 'शाम्बाला' प्रदर्शनमा आउने समयमा मिडियामा खुलेरै उनले आफू चुनाव लड्न तम्तयार भएको बताएका थिए ।

तर, जेन-जी आन्दोलनले देशको परिस्थिति फेरिएको छ । अन्तरिक सरकारले २१ फागुनमा चुनाव मिति घोषणा गरेपछि मीन पूर्ण रुपमा यतिबेला चुनावी तयारीमा होमिएका छन् । 

हुन त यसअघि उनी ८४ को चुनावसम्म एउटा फिल्म गरिसक्ने ध्याउन्नमा थिए । तर, अवस्था बद्लियो । अहिले त्यो फिल्मको काम त्यसै छाडेर उनी चुनावको तयारीमा लागेका छन् ।

उनलाई काठमाडौं क्षेत्र नं ३ बाट चुनाव उठ्ने रहर छ । 'म लामो समयदेखि काठमाडौं क्षेत्र नं ३ मा बस्दै आएँ । यहाँको समुदायसँग घुलमिल छु । मेरो पहिलो रोजाइ काठमाडौं ३ नै हो,' मीनले भने, 'तर पार्टीको आफ्नो संयन्त्र छ । भोलि टिकट दिने समितिले मेरो अगुवाले पुर्ख्यौली घर मुगुमै पठाउनुभयो भने म जान तयार हुनुपर्छ । म चुनावको लागि एकदम तयार छु ।'

अधिवेशनमा पदाधिकारी तहमै उठ्ने तयारी छन् उनी । 'जेन-जी आन्दोलनले गर्दा ८४ होइन ८२ मै तातिनुपर्‍यो । म त फिल्मको तयारी गर्दै थिएँ,' उनी भन्छन्, 'पछिल्लो समय कलाकारहरू राजनीतिमा होमिएजसरी म राजनीतिमा आएको होइन । मेरो पहिल्यैदेखिको तयारी हो, अलि स्पिडअप भयो ।'

चुनाव उठ्ने तयारी त छँदै छ । तर, मीनको अहिलेको ध्यान दल सुध्रिनुपर्ने पक्षमा छ । यसबीच उनले २/४ वटा कार्यक्रम गरेरै यसको पहल कदम सुरु गरिसके । जेनजी आन्दोलनपछि पार्टीमा 'ल्याट्ल इन्ट्री' हुनुपर्छ । नेपाली कांग्रेसमा युवा पुस्ता र जेनजीको सहभागिता र समावेशी हुनुपर्छ भनेर आवाज उठाउँदै आएको छन् उनी ।

‘आन्दोलनपछि यही कुराको सुनुवाइ हुनेगरी पार्टी रिफर्मको कुरामा मेरो भूमिका छ । अलि बढी यता भिडिरहेको हो,’ उनले भने ।

भाम निर्देशित 'शाम्बाला' बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको प्रमुख प्रतिस्पर्धामा पर्ने पहिलो नेपाली फिल्म हो । भामले 'शाम्बाला'सँगै 'कालो पोथी', 'बाँसुल्ली' निर्देशन गरिसकेका छन् । 

कान्तिपुर

Link copied successfully