पुराना दलका कलाकार : कोही चुनाव लड्दै, कोही चुपचाप

मीन भाम, रेखा थापा र कोमल वलीजस्ता चर्चित कलाकारले दलभित्र सुधार र समावेशिताका सवालमा आवाज उठाउँदै राजनीतिक सक्रियता बढाएका छन् ।

मंसिर ५, २०८२

रीना मोक्तान

Artists from old parties: Some contesting elections, some silently

What you should know

काठमाडौँ — कलाकार र राजनीतिक दलको साइनो पुरानै हो । के नयाँ, के पुराना, धेरैजसो कलाकार कुनै न कुनै दलको छातामुनि पुगेकै छन् ।

जेन-जी विद्रोहपछिको परिदृश्यमा पनि दलको छातामुनि नपुगेका बाँकी कलाकार पनि धमाधम नयाँ दल प्रवेशमा लागेका छन् ।

कलाकारहरू किन दलको छातामुनि पुग्छन् ? के उनीहरूको राजनीतिक सक्रियताले कला क्षेत्रलाई फरक पार्छ ? राजनीतिक दलहरू गम्भीर प्रश्न र आत्मसमीक्षाको चौबाटोमा उभिरहेका बेला दलमा लागेका कलाकारहरू दलगत सुधारका विषयमा के भन्छन् त ?

हामीले यही विषयमा विमर्श गर्न नेपाली कांग्रेसमार्फत राजनीतिमा सक्रिय मीनबहादुर भाम र राप्रपामा सक्रिय रेखा थापा र एमाले राजनीतिमा सक्रिय कोमल वलीसँग कुराकानी गरेका छौं । 

मीनबहादुर भाम

Artists from old parties: Some contesting elections, some silentlyमीन भामको परिचय नेपाली कथालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने निर्देशकका रूपमा मात्रै छैन, उनी सामाजिक र राजनीतिक विमर्शमा पनि बारम्बार बोलिरहेका भेटिन्छन् । फिल्म क्षेत्रको समस्या पनि उत्तिकै खरो रूपमा बोलिरहने यिनै मीन आगामी चुनावमा उम्मेदवारका रूपमा मैदानमा आउने तयारीमा लागिपरेका छन् । त्यो पनि पुरानै दल कांग्रेसबाट । तर उनको एउटै सर्त छ, दल सुध्रियो भने मात्रै कांग्रेसबाट ।

चुनावमा उठेर फिल्म क्षेत्रको सबै समस्याको जरासम्म पुग्ने र नीतिगत तहमा काम गर्ने उनको योजना छ । यही योजनाअनुसार उनले यसबीच एउटा फिल्मको काम छिटोछिटो सक्दै थिए । तर, जेनजी आन्दोलनले फिल्मी शैलीमा अकस्मात् मीनको जीवनमा यस्तो ट्विस्ट ल्याइदियो कि उनी फिल्मको काम थाँती राखेर चुनावको तयारीमा जुटिसके । अहिले उनी पार्टी 'रिफर्म'मा लागिपरेका छन् ।

फिल्मकर्मी बन्नुअघि पनि राजनीतिमै थिए, मीन । मीनका सबै परिवारै पनि राजनीतिमा । तर फिल्मकर्मीको उनको सार्वजनिक व्यक्तित्वले उनको यो पृष्ठभूमि ओझेलमा थियो । मीनले पनि नेविसंघको राजनीति गरेर जिल्लाको सचिव भएका थिए । कलेजमा आएर पनि उनले नेविसंघकै राजनीति गरे । विश्वप्रकाश शर्माको टिममा बसेर सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य बने । २०७९ को चुनावमा कांग्रेसको घोषणापत्र लेखे । समानुपातिक बन्द सूचीको उम्मेदवार नै थिए उनी ।

'हुन नसकेको माननीय हो म । त्यतिबेला ७ नम्बरमा नाम थियो । पुरुषमा तीन नाम गयो, बाँकी महिला । मेरो नाम गएन,' मीनले भने, '०८४ को चुनावमा र यो वर्ष हुने अधिवेशनमा भिड्छु भनेर सोचेरै बसेको थिएँ । शाम्बाला प्रदर्शनअगाडिदेखि नै मैले मिडियालाई यसबारे भनेको थिएँ ।'

चुनाव उठ्ने तयारी त छँदै छ । तर, मीनको अहिलेको सबैभन्दा ठूलो भूमिका हो, पार्टी ‘रिफर्म’ हुनुपर्ने विषय । अहिलेसम्म २/४ वटा कार्यक्रम गरेरै यसको पहलकदमी सुरु गरिसके । जेनजी आन्दोलनपछि दलमा 'ल्याट्ल इन्ट्री' हुनुपर्छ । नेपाली कांग्रेसमा युवा पुस्ता र जेनजीको सहभागिता हुनुपर्छ र समावेशी हुनुपर्छ भनेर आवाज उठाउँदै आएका छन् उनी । 'आन्दोलनपछि यही कुराको सुनुवाइ हुनेगरी पार्टी रिफर्मको कुरामा मेरो भूमिका छ । अलि बढी यता भिडिरहेको हो । अधिवेशनमा पदाधिकारी तहमै उठ्ने तयारी छ,' मीनले भने, 'जेनजी आन्दोलनले ८४ मा हुनुपर्ने आन्दोलन ८२ मै हुने भयो, त्यसैले अलि छिटो तातिनुपर्‍यो ।'

पुराना दल सुध्रिएर आउनुपर्छ भन्ने सवालमा मीन सहमत छन् । नेपाली कांग्रेसलगायत केही पुराना ठूला दलमा विकृति छ भन्ने मीनलाई सधैं लाग्थ्यो । त्यसैले उनलाई लाग्छ, उम्मेदवार उठ्ने, समावेशी र पुस्तान्तरणको सवालमा सुधार नहुँदा देशले जेनजी आन्दोलन देख्नुपर्‍यो । 'पुराना दल नसुध्रिएरै भद्रगोल भइरहेको हो । भ्रष्टाचार कार्यकर्तामुखी हुने । पार्टीभित्र युवा पुस्ताको आवाज सुनुवाइ नहुने । त्यो सबै कुरा सुध्रिनुपर्छ भनेर मैले आफ्नोतर्फबाट प्रयास गरेको छु । कार्यकर्तालाई बोकेर मात्रै पार्टी रिफर्म भएन भने देशले दु:ख पाउँछ भन्ने नै थियो,' उनले भने, 'फेरि यो पुराना दलहरू रिफर्म भएनन् । कार्यकर्तामुखी हुने कुराबाट उम्किएनन् भने फेरि पछि देशले दु:ख पाउँछ ।'

पुराना दलहरू रिफर्म भएनन् र कार्यकर्तामुखी हुने कुराबाट उम्किएनन् भने फेरि देशले दु;ख पाउँछ -मीन भाम ।हामीले उनलाई सोध्यौं, नेपाली कांग्रेस के कुरामा सुध्रिनुपर्छ ? 'सुध्रिनुपर्छ होइन, सुध्रिन्छ भन्नेमा मेरो दृढ विश्वास छ । जस्तै, पार्टीको इन्टरनल मेकानिज्म कार्यकर्ता, नेतामुखी हुनु भएन । एउटै मान्छे टाँसिरहने हुनुभएन । पार्टीको चुनाव चिह्न लिएर पो उम्मेदवार हुने होला, सांसद हुने होला । मन्त्री हुने होला, मेयर हुने होला । त्यसपछि जनताको प्रतिनिधि हो नि,' मीनले भने, 'कुशासन, भ्रष्टाचार, उम्मेदवारमा हुने चलखेलदेखि समावेशीमा नाम पठाउने प्रकृयामा सुध्रिनुपर्छ । युवा पुस्ता र जेनजीको सहभागिता हुनुपर्‍यो दलभित्र ।'

फागुनमै चुनाव हुन्छ भन्ने विश्वाससहित मीनले तयारी अगाडि बढाइसकेको देखिन्छ । उनको पहिलो रोजाइ काठमाडौं क्षेत्र नं ३ बाट चुनाव लड्ने हो । करिब १० वर्षदेखि उनी यसै क्षेत्रमा बस्दै आएका छन् । तर, पार्टीको संयन्त्रले 'मुगुबाटै चुनाव उठ्' भन्यो भने उनी त्यता जान पनि तयार छन् । 'महाधिवेशन भएर रिफर्मेसन भएको पार्टीबाट मैले उम्मेदवारी दिने हो । पुरानै अवस्थामा उम्मेदवारी दिँदा मैले धेरै कुरा सोच्नुपर्छ । म त यसअघि पार्टी रिफर्मेसन भएन भने स्वतन्त्र उम्मेदवारी दिने कि भन्नेमा थिएँ,' मीनले भने, 'अब मलाई पूरा विश्वास छ, पार्टी रिफर्म हुन्छ । धेरै युवा पुस्ता, महिला, जनजाति, जेनजी, मधेशी, सबै किसिमको अनुहार अब आउँछ ।'

चुनाव जितिहाले, मीनलाई आफू सम्बन्धित क्षेत्रका नीति बदल्नुछ । फिल्मलाई सञ्चार मन्त्रालयबाट संस्कृतिमा गाभ्ने होस् या चलचित्र विकास बोर्डलाई आयोगमै परिणत गर्ने ! अन्तर्राष्ट्रिय फिल्मसँग सन्धि गर्ने कुरा होस् या नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुर्‍याउने, उनको मुख्य चाहना फिल्म क्षेत्रको सुधार नै हो । 'मलाई राजनीतिमा गएर अहिले जे भइरहेको छ त्यो सबै सुधार गर्छु, १० ठाउँमा हात हाल्छु भन्ने लोभ छैन । तर, कम्तीमा म जुन पेसामा छु, त्यहाँको समस्या त मलाई थाहा छ नि, त्यहाँको सुधारका लागि राजनीतिमा आएको हो । हामीले बहसमा त कति कुरा उठायौं, तर कानुनी तहमै सुधार भएन भने हुँदैन रहेछ । मलाई पनि फिल्म चटक्कै छाडेर यता हामफाल्नु पर्ने नै थिएन नि !'

रेखा थापा

अभिनेत्री रेखा थापासँग राजनीतिको लामो बाटो हिँडेको अनुभव छ । सशस्त्र आन्दोलनबाट संसदीय राजनीतिमा आएको तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सडक आन्दोलनका क्रममा सँगै नाचेपछि उनको राजनीतिक सक्रियताबारे चर्चा सुरु भएको थियो । पछि उनले आफ्नै राजनीतिको मार्ग तय गरिन् र राप्रपामा पुगिन् ।

Artists from old parties: Some contesting elections, some silentlyराप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नै बनेकी उनी यतिबेला वर्तमान राजनीतिक परिस्थितिको अध्ययन गरिरहेकी छन् । तर चुनाव लड्नेबारे भने उनले अझै खुलेर बोलिसकेकी छैनन् । 'जनतालाई केही कुरा मन पर्दैन भने म जनताकै पक्षमा छु । म भिडको पछाडि दौडने होइन, भिडलाई लिड गर्ने व्यक्ति हुँ । म पार्टीको दासी भएर बस्ने मान्छे होइन । म जनताको मुखपत्र हुने व्यक्ति हुँ,' कान्तिपुरसँगको कुराकानीमा रेखाले भनिन्, 'त्यसैले त करिअरको उर्वर समयमा पनि नडराई सिंहदरबारमा प्रचण्डसँग हातेमालो गर्न गएँ । त्यो नितान्त जनताप्रति चाहेको मेरो धारणा हो । यो पार्टी, त्यो पार्टी भन्ने छैन ।'

 सधैं एउटै अनुहार दोहोरिनु भएन । परिवर्तनका लागि शीर्ष नेताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न डराउनु भएन -रेखा थापारेखा सबै दल परिमार्जित हुनुपर्ने धारणा राख्छिन् । 'परम्परागत धारबाट हिँड्नु भएन । पुराना दल सुध्रिनुपर्छ । उनीहरूले सबै नराम्रो काम गरे, अथवा राम्रो काम गरे भन्ने होइन । यो व्यवस्थासम्म आइपुग्न उनीहरूले गरेको ठूलो त्याग तपस्या हामीले भुल्नु हुँदैन,' रेखा भन्छिन्, 'आज जुन नयाँ आन्दोलन भए त्यो पनि यही व्यवस्थाले गर्दा हो । पुरानो दललाई अहिले पनि सुध्रिने मौका छ ।'

पुरानो दलमा एउटै अनुहार दोहोरिरहने प्रणालीले मानिसमा निराशा छाएको उनी बताउँछिन् । 'एउटा सच्चा लिडरले त नयाँ लिडर जन्माउँछ । तर, त्यस्तो त छैन । यदि म राम्रो नेता हो भने मैले राम्रो नयाँ नेता जन्माउन सक्नु पर्‍यो नि, जसले देशमा परिवर्तन ल्याउन सकोस् । मनमा सेवा भाव भएकाहरू जन्माउन सकोस् !'

२०७९ सालमा राप्रपाबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनाव लडिरहँदा रेखाले त्यतिबेला पनि आफूभित्र राजनीतिबारे विभिन्न प्रश्न भएको स्मृति सुनाइन् । 'चुनाव जितेपछि म जनतासँगै पाँच वर्ष बस्न सकूँला त । त्यसरी काम गर्न त सेवाभाव आफूमा हुनुपर्‍यो । आफ्नो सबै पृष्ठभूमि भुलेर जनताको सेवामा लाग्नुपर्छ । राजनीति त नितान्त समाजसेवाको उत्कृष्ट स्वरूप हो नि त,' रेखाले भनिन् ।

अहिले धमाधम खुलिरहेका दलका अगुवासँग रेखाको एउटै प्रश्न छ- के तिमीहरू साँच्चै सेवा गर्न तयार छौ ? 'साँच्चै नै सेवा गर्न चाहेको हो भने सेवक भएर आउनुपर्‍यो । पार्टी खोल्यो अध्यक्ष बन्यो, नेता बन्यो, सांसद भयो भन्ने मात्रै होइन नि ! अहिले मनदेखि देशलाई पुन:निर्माण गरौं भन्ने भाव अहिलेका अगुवामा हुनुपर्‍यो नि,' रेखा थप्छिन् ।

नयाँ पुस्ताले पछ्याउन सक्ने अगुवाको कमी भएको रेखाको अनुभव छ । 'भुइँबाट, जराबाट आएको मान्छे सेवक बन्न सक्छ । तर, कुनै पदमा रहेको व्यक्तिलाई अचानक उठाएर ल्याएर ऊ राम्रो नेता बन्छजस्तो लाग्दैन । देश भुँइबाटै उठ्नुपर्‍यो । नयाँ पार्टी आउनु समस्या होइन, तर पुरानोलाई गाली मात्रै गरेर आफू राम्रो देखिन्छ भन्ने त होइन नि,' रेखाले भनिन् ।

जनताको मतभेद भएको एजेन्डामा पुराना दलले आफूलाई पुन:विचार गर्नुपर्ने रेखा सुनाउँछिन् । 'राप्रपाभित्रै पनि कुनै एजेन्डा ५० प्रतिशतलाई मन परिरहेको होला, कतिलाई मन नपर्ला । त्यस्तो कुरा जनतालाई स्वीकार छैन भने सुधार गर्नुपर्‍यो । आखिरमा गर्ने त जनताको सेवा नै हो,' रेखाले भनिन्, 'सधैं एउटै अनुहार दोहोरिनु भएन । सधैं एउटै अनुहार देखिएर त फ्रस्टेसन भएको हो । दलभित्रको सिद्धान्त जोगाइरहन, देश परिवर्तनका लागि शीर्ष नेताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न डराउनु भएन ।'

कोमल वली
कोमल वलीको परिचय गायिकाका रूपमा जति छ, राजनीतिक नेतृका रूपमा पनि उत्तिकै छ । किनकि राप्रपा हुँदै एमालेमा पुगेकी उनी गीत र संगीतबारे जति कुरा गरिरहेकी हुन्छिन्, राजनीतिबारे पनि उत्तिकै मुखर भइरहेकी हुन्छिन् ।

प्रतिनिधिसभा २०७९ मा दाङ क्षेत्र नं ३ बाट एमाले उम्मेदवार बनेकी र एमालेको केन्द्रीय सदस्य रहेकी वली यतिबेला महाधिवेशनको तयारीमा जुटेकी छिन् । गृहजिल्ला दाङमा रहेकी उनले त्यहीँ बसेर जनताको सेवा गरिरहेको बताइन् ।

Artists from old parties: Some contesting elections, some silentlyहालैको जेनजी आन्दोलनमा उनको घर, कोमल वली फाउन्डेसन र उनले लगानी गरेको होटलमा समेत आगजनी भयो । राजनीतिमा सक्रिय भएकैले यो सबै भएको बताउने वलीले संसदीय व्यवस्था भएको मुलुकमा दलहरूबिना लोकतन्त्र सम्भव नभएको बताउँदै भनिन्, 'दल बलियो भए भने देश बलियो हुन्छ, सरकार बलियो हुन् । त्यसकारण पनि म पार्टी एकतामा काम गरिरहेकी छु ।' गायिका भएकै कारण राजनीतिमा होमिँदा सुरुवातमा आफूले धेरै दुर्व्यवहार सहेको र कतिपयले अपशब्दले होच्याउन खोजेको अनुभवसमेत उनले सुनाइन् । भनिन्, 'यो गायिका पनि के राजनीतिमा लागेको भन्थे । अहिले त अरू पेसाबाट आएकाहरूलाई नै जनताले विश्वास गर्न थाले । यिनीहरूले भ्रष्टाचार गर्दैनन् भन्ने कुरा आमजनतामा विश्वास छ ।'

राजनीतिमा एकै अनुहार लामो समय हेरिराख्यौं, दिक्क भयौं भन्ने कुरा भ्रम हो । मोदीदेखि ट्रम्पको उमेर हेरौं, उमेरले निर्धारित गर्छ जस्तो लाग्दैन -कोमल वलीअहिले पुराना दललाई 'नराम्रो' भन्ने भ्रम फैलाइएको वलीको मत छ । उमेरले कसैलाई राम्रो वा नराम्रो भन्ने निर्धारण नगर्ने तर्क गर्दै उनले भनिन्, 'विश्वभर नै हेर्‍यौं भने राजनीतिमा विकासप्रेमी नेता कमै हुन्छन् । उनीहरू लामो समय टिक्छन् । उमेरले होइन, भिजनले उनीहरूलाई टिकाउने हो ।'

सार्वजनिक मञ्चहरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेरले ज्येष्ठ नागरिक भइसकेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदाहरण दिँदै राजनीतिमा उमेर गौण कुरा रहेको बताइरहन्छन् । त्यही शैलीमा उनले भनिन्, 'राजनीतिमा यो अनुहार लामो समय हेरिराख्यौं, दिक्क भयौं भन्ने कुरा भ्रम हो । मोदीदेखि ट्रम्पको उमेर हेरौं, उमेरले निर्धारित गर्छ जस्तो मलाई लाग्दैन ।'

जेन-जी आन्दोलनपछि पुराना दल सुध्रिनुपर्छ भन्ने बहस चलिरहेको छ । के एमाले पनि सुध्रिएर आउला ? कान्तिपुरको प्रश्नमा उनले आफूहरू आत्मसमीक्षा गर्न तयार रहेको बताउँदै भनिन्, 'हामी त्यति बिग्रिएका छैनौं । देशको मुद्दामा, जनताको मुद्दामा पार्टीको नीति, कार्यक्रम र निर्णय कार्यान्वयन सही छ हाम्रो पार्टीको । बहुदलीय जनवाद मान्ने पार्टी भएकाले नेकपा एमालेले आफ्नो विगतलाई आत्मसमीक्षा गर्दै दृढतापूर्वक अघि बढ्ने नीति लिएको छ ।' 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully