'शाम्बाला' उत्कृष्ट फिल्म, राष्ट्रिय चलचित्र पुरस्कारमा कसले के पाए ?

असार ३०, २०८२

रीना मोक्तान

'Shambala' best film, who got what in National Film Award?

काठमाडौँ — मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ । २०८१ मा प्रदर्शनमा आएका फिल्मबाट ९ विधामा वितरण गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा निर्देशक भामले नै ‘उत्कृष्ट निर्देशक’को सम्मान प्राप्त गरे ।

भामको अनुपस्थितिमा फिल्मका कलाकार कर्मा र उनकी छोरी अक्षता भामले ‘शाम्बाला’को सम्मान उचाले ।

‘राष्ट्रिय चलचित्र पुरस्कार’तर्फ ‘छक्का पञ्जा ५’बाट कलाकार दीपकराज गिरीले उत्कृष्ट लेखन/पटकथाको सम्मान पाए । छायाकार पुरुषोत्तम प्रधानले ‘पिताम्बर’बाट उत्कृष्ट छायांकनको सम्मान पाउँदा भरत रेग्मीले ‘पुजार सार्की’बाट उत्कृष्ट सम्पादनको सम्मान पाए । त्यस्तै, ‘खुस्मा’बाट उपासनासिंह ठकुरी उत्कृष्ट अभिनेत्री घोषित हुँदा उत्कृष्ट अभिनेताको सम्मान विजय बरालले ‘पूर्णबहादुरको सारङ्गी’बाट प्राप्त गरे । त्यस्तै, उत्कृष्ट आदिवासी जनजाति फिल्मको सम्मान नेवारी भाषाको ‘गालय् वन’ले जित्यो ।

राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्नेहरुले ट्रफीसहित नगद २५ हजार प्राप्त गरेका छन् । अभिनेता प्रदीप खड्काले  ‘पुजार सार्की’बाट निर्णाय समितिले प्रदान गरेको ‘निर्णायक समिति प्रोत्साहन पुरस्कार’ उचाले ।

राष्ट्रिय चलचित्र पुरस्कारको निर्णायकमा कलाकार रमेश बुढाथोकी, एनबी महर्जन, करण थापा, सुचित्रा श्रेष्ठ र दीपेन्द्र के खनाल थिए । 

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मालाई कार्यक्रममा दीर्घसाधना सम्मान (लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरिएको छ । थुप्रै फिल्म तथा पुस्तक लेखिसकेका शर्मालाई यो क्षेत्रप्रतिको निरन्तरको योगदानका लागि नगद ३ लाख ७५ हजारसहित सम्मान गरिएको हो । ‘मनको बाँध’बाट सहायक निर्देशन हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका शर्माले ‘भाइटीका’, ‘बरपिपल’, ‘साथी’लगायत थुप्रै फिल्म निर्देशन गरेका छन् । 

'Shambala' best film, who got what in National Film Award?

कार्यक्रममा फिल्म क्षेत्रमा विशेष योगदान दिने १० व्यक्तित्वलाई ‘विशेष योगदान सम्मान' (२०८१) प्रदान गरिएको छ । कलाकार प्रेम सुब्बा, पार्श्व गायिका देविका बन्दना, छायाकार दीर्घ गुरुङ, निर्देशक/कलाकार अनुप बराल, प्राविधिक परशुराम चौधरी, कलाकार सुरक्षा पन्त, प्रदर्शक/वितरक नकिम उद्दिन, कलाकार उत्तम केसी, कलाकार अञ्जु रञ्जितकार र कलाकार निखिल उप्रेतीलाई यो सम्मान प्रदान गरियो ।

'विशेष चलचित्र पुरस्कार' (२०८१) बाट भने दुई फिल्मकर्मीलाई सम्मान गरिएको छ । लिम्बू भाषाको फिल्म ‘चिने’बाट निर्माता सागर केरुङ र मगर भाषामा बनेको ‘दिलसरा’बाट निर्माता तारामाया थापाले सम्मान प्राप्त गरे । 

कार्यक्रममा फिल्म ‘चिनो’को छायांकनका क्रममा पानीमा डुबेर ज्यान गुमाएका प्राविधिक श्रवण मास्केलाई ‘मरोणोपरान्त विशेष योगदान सम्मान’ प्रदान गरिएको छ । श्रवणका भाइ सञ्जीव मास्केले सम्मानमार्फत नगद  ५० हजार प्राप्त गरे ।

राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विभिन्न शीर्षकमा सम्मान वितरण गरेका हुन् । राष्ट्रपति पौडेलले सम्मानितलाई बधाई दिँदै नेपाली फिल्मकर्मीले मौलिक फिल्म बनाउँदै विश्वका दर्शकसामु पुग्नुपर्ने धारणा राखे । ‘गुणस्तरमा जोड दिएर नेपाली फिल्मको अन्तर्राष्ट्रिकरणमा ध्यान दिन जरुरी छ,’ पौडेलले भने ।

सञ्चारमन्त्री गुरुङले चलचित्र क्षेत्रले एआईसँगै प्रविधिमा फड्को मार्दै फिल्म क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले आफ्नो कार्यकालको ९ महिनामा छायांकनस्थल ‘सिनेपा’को स्थापना गर्दै चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता भएको, रियल टाइम बक्स अफिस सञ्चालनदेखि विकास बोर्डले प्रदान गर्दै आइरहेको सेवालाई अनलाइन प्रणालीमा रुपान्तरण गरिएको जानकारी दिए । त्यस्तै ‘आमा’ फिल्मको हुलाक टिकटसहित सर्वाधिक कमाउने २५ फिल्मलाई सम्मान गरिएको बताए ।

‘यो वर्षबाट हामीले अन्तर्राष्ट्रिय जगत्‌मा नेटवर्क फैलाउनेछौं,’ दाहालले भने,’ अवार्ड समावेशीको आधार दिइएको छैन । निर्णायकले निर्णयबाट नै अवार्ड दिइएको हो ।'

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully