देउवा दुई पटक कांग्रेसको सभापति, पाँच पटक प्रधानमन्त्री र सात पटक निर्वाचित सांसद भए । अहिले सक्रिय राजनीतिबाट विश्राम लिने अवस्थामा पुगेका देउवापछि अब सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा कसले स्थान बनाउँला भन्ने चर्चा हुन थालेको छ ।
What you should know
धनगढी — २०२८ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सर्वसम्मत सभापति भएका शेरबहादुर देउवाको राजनीतिले त्यसपछिका वर्षमा निरन्तर उचाइ लियो । ०४८ मा गृहमन्त्री र ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएपछि त निरन्तर रुपमा देउवाको वरिपरि सत्ता घुमिरह्यो ।
गृहजिल्ला डडेलधुरालाई संसदीय राजनीतिको आधार बनाएका देउवा लगातार सात पटक निर्वाचित भए । उनले डडेलधुराबाट कहिल्यै पराजय ब्यहोर्नु परेन । सुदूरपश्चिमबाट कांग्रेसभित्र उनले बढाउन चाहेका नेताले मात्रै प्रायः अवसर पाए ।
उनी दुई पटक पार्टी सभापति, ०५२, ०५८, ०६१, ०७४ र ०७८ गरी पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद निर्वाचित भए । अहिले सक्रिय राजनीतिबाट विश्राम लिने अवस्थामा पुगेका देउवापछि अब सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा कसले स्थान बनाउँला भन्ने चर्चा हुन थालेको छ ।
सुदूरपश्चिमबाट उपप्रधानमन्त्री र पार्टी राजनीतिको दोस्रो तहमा पुगेका अर्का नेता हुन्, भीम रावल । हालै नेपाली कम्युनिष्ट पार्टीमा संगठित भएका एमालेका पूर्वउपाध्यक्ष समेत रहेका रावललाई सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभावशाली रुपमा देखिन सक्ने आँकलन गर्न थालिएको छ ।
राष्ट्रियताका पक्षमा अडान राख्ने नेताको पहिचान बनाएका रावलले एमालेको दशौं महाधिवेशनमा केपी ओलीबिरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेपछि पार्टीबाट पाखा लाग्दै गएका थिए । अध्यक्ष ओलीले उनलाई गत निर्वाचनमा टिकटबाटै बञ्चित मात्र गराएनन्, गत वर्ष पार्टीबाटै निष्कासित गरिदिए । त्यसपछि भने रावलको राजनीति करिब एक वर्ष अलमलमा फस्यो । त्यसयता उनले न कुनै अर्को पार्टीमा प्रवेश गरे, न आफैले पार्टी गठन गरेर अघि बढ्ने हिम्मत गरे ।
मातृभूमि जागरण अभियान सञ्चालन गर्दै एमाले अध्यक्ष ओलीको निरन्तर आलोचना गरिरहे । यही उतारचढावका बीच रावलले हालै नेपाली कम्युनिष्ट पार्टीमार्फत पार्टी राजनीतिमा पुनरागमन गरेका रावललाई पुरानो राजनीतिक पृष्ठभूमिले सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रभाव देखाउन सक्ने नेताको रुपमा देखिने धेरैको बुझाइ छ । उनी विगतमा एमाले उपाध्यक्ष हुँदै उपप्रधानमन्त्री, रक्षा, गृह, पर्यटन मन्त्री भइसकेका छन् ।
कांग्रेसतर्फ देउवाको एकल नेतृत्व भएझै बाम राजनीतिमा ०५१ सालदेखि ०७८ सम्म सुदूरपश्चिममा रावल नै नेतृत्वदायी भूमिकामा थिए । त्यस पृष्ठभूमिमा पनि विगतमा सुदूरपश्चिमका कांग्रेस, कम्युनिष्ट कार्यकर्ता देउवापछि राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्न सक्ने अर्को नेताका रुपमा रावललाई नै हेर्ने गर्थे । अहिले रावल सहभागी भएको नेपाली कम्युनिष्ट पार्टीमा संयोजक पुष्पकमल दाहाल र माधवकुमार नेपालले सक्रिय नेतृत्वबाट अवकाश लिने भनिरहेका बेला उनीनिकट कार्यकर्ताहरु पार्टी नेतृत्वमै रावलको सम्भावनाको आँकलन गर्न थालेका छन् ।
अर्कोतिर कांग्रेस र एमालेमा सुदूरपश्चिमबाट तत्कालै राष्ट्रिय राजनीतिको नेतृत्व तहमा पुग्न सक्ने नेता देखिएका छैनन् । कांग्रेसमा देउवाको उत्तराधिकारीका रुपमा कसले स्थान प्राप्त गर्छ भन्ने स्पष्ट देखिइसकेको छैन ।
सुदूरपश्चिमबाट कांग्रेसभित्र एनपी साउद, रमेश लेखक, बीरबहादुर बलायर, दिलेन्द्रप्रसाद बडू, बद्री पाण्डे र नैनसिंह महर पार्टीभित्र आपसी प्रतिस्पर्धाको मैदानमा पनि छन् । यहाँका कांग्रेस नेता कार्यकर्ताको बुझाइमा देउवाले अब कसलाई अगाडि बढाउँछन् भन्नैमा धेरैको चासो छ ।
कांग्रेस नेता साउद, लेखक र बलायर विगतदेखि नै देउवाको दृढ समर्थक हुन् । नेविसंघका अध्यक्ष भइसकेका डडेलधुराका महर पनि देउवाकै निकट हुन् । हाल सहमहामन्त्री रहेका पाण्डे र बडू भने इतर पक्षीय नेता हुन् । सुदूरपश्चिमको प्रतिनिधित्व हुने गरी कांग्रेस राजनीतिको प्रभावशाली स्थानमा पुग्नका लागि साउद र बलायरबीच हानथाप हुने कार्यकर्ताहरुको अुनमान छ । पटक–पटक मन्त्री भइसकेका साउद, बलायर, पाण्डे, बडू र लेखक पनि देउवाको विरासत लिने कसरतमै छन् ।
जेनजी आन्दोलन अघिसम्म सभापति देउवाले नेता लेखकलाई नजिक राखेर काम गराउँदै आए पनि आन्दोलनले उनलाई धक्का दिएको छ । अर्कोतिर पाण्डे र बडू इतर समूहका भएकाले उनीहरुले कुन बाटोबाट आफ्नो राजनीतिक स्थानलाई सुरक्षित राख्लान् भन्ने यकिन छैन ।
अर्कोतिर सभापति देउवालाई समर्थन गर्दै आएका डडेलधुराकै नैनसिंह महर पनि पार्टीको महामन्त्रीका लागि कसरतमा देखिन्छन् । तर उनले कुन समूहबाट त्यो स्थान प्राप्त गर्न सक्लान् भन्ने संकेत प्रष्ट भइसकेको छैन । यस पृष्ठभूमिमा धेरैजसो कांग्रेस नेता कार्यकर्ता साउदले नै स्थान सुरक्षित गर्न सक्ने आँकलन गर्न थालेका छन् ।
नेविसंघको सभापति भइसकेका, कार्यकर्ता बीचको सञ्जालका कारण पनि साउद सुदूरपश्चिममा देउवाको उत्तराधिकारीको रोजाइमा पर्नसक्ने कांग्रेसभित्रका सबै पक्षधरको आकलन छ । केही समयअघि नेता साउद शेखर कोइराला निकट गएको भन्ने चर्चा पनि चलेको हो । तर देउवानिकट सुदूरपश्चिमका एक नेताले भने, ‘हिजो मात्रै हामीले उहाँलाई सोधेका थियौं, उहाँले सबैसँग सम्पर्कमा मात्र बस्न चाहेको तर देउवा टीम नछाडेको प्रस्ट पार्नुभयो ।’
ती नेताका अनुसार कांग्रेसको अहिलेको उल्झन्को निकासका लागि देउवा स्वदेश फर्केर ज्ञानेन्द्र कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँड र एनपी साउदलाई पहिलो चरणमा भेटेर परामर्श गरेका छन् ।
‘सभापतिजीले त्यसपछि मात्र महामन्त्रीलाई भेट्नु भएको हो,’ ती नेताले भने । साउद महामन्त्रीको तयारीमा रहेको र देउवाको समर्थन पनि उनलाई नै हुने शेखर कोइराला निकट अर्का कांग्रेस नेताले आँकलन गरे । साउद महामन्त्री भएको अवस्थामा हाल प्रदेश सभापति रहेका बलायर अन्य पदाधिकारीमा जान सक्ने ती नेताको बुझाइ छ ।
सुदूरपश्चिममा एमालेभित्र राष्ट्रिय राजनीतिको केन्द्रमा प्रभाव देखाउन सक्ने नेतृत्वको शून्यता देखा परिरहेको एमालेकै नेता कार्यकर्ताको बुझाइ छ । लेखराज भट्ट, कर्णबहादुर थापा, दामोदर भण्डारी एमालेमा सुदूरपश्चिमबाट नेतृत्वदायी स्थानका नेता हुन् । विगतमा माओवादीबाट एमालेमा आएका भट्ट एमालेको प्रदेश नेतृत्वमा छन् । तर उनलाई पुराना एमाले कार्यकर्ताको अपनत्व न्यून रहेको धेरैको बुझाइ छ । अझै, जेनजी आन्दोलनका क्रममा भट्टको अत्तरियास्थित घर तोडफोड तथा आगजनीमा एमालेकै कार्यकर्ता पनि संलग्न रहेको चर्चाले भट्टको मन कुँडिएको उनका निकटस्थ बताउँछन् ।
अर्कोतिर, अहिलेकै अवस्थालाई हेर्दा थापाको आगामी राजनीतिको स्थान सुरक्षित छैन । हाल सुदूरपश्चिम एमालेमा भट्ट, भण्डारी र थापा बीच त्रिपक्षीय शक्ति संघर्ष छ । भट्ट र भण्डारी अध्यक्ष ओलीका समर्थक हुन् । तर थापा भने अध्यक्ष ओलीसँग भिडिरहेका छन् । त्यही कारण उनी महाधिवेशनपछि कहाँ पुग्ने हुन् भन्ने यकिन छैन । महाधिवेशनअघि अध्यक्ष ओलीसँग थापाको नयाँ समझदारी भएको अवस्थामा भने एमाले सुदूरपश्चिमको आगामी नेतृत्व उनलै गर्न सक्ने आँकलन पनि कार्यकर्ताको छ ।
यता नेपाली कम्युनिष्ट पार्टीभित्र सुदूरपश्चिममा रावलको नेतृत्व सर्वस्वीकार्य जस्तै देखिएको छ । त्यही कारण पनि उक्त पार्टीका नेता कार्यकर्ता उत्साहित छन् । रावलका कारण सबैभन्दा ठूलो धक्का एमालेलाई नै लाग्ने छ । अर्कोतिर एमाले र कांग्रेसभित्रको आन्तरिक किचलो र नेपाली कम्युनिष्ट पार्टीभित्र रावलको आन्तरिक प्रतिस्पर्धी कोही नदेखिएको छैन ।
विगतमा पनि देउवापछि सुदूरपश्चिको राजनीतिक नेतृत्वमा रावललाई हेरिन्थ्यो । अहिले देउवाले सक्रिय राजनीतिबाट विदा लिएपछि रावलको पुनरागमनले उनका लागि यो समय निकै महत्वपूर्ण देखिएको छ । यसरी सुदूरपश्चिमको आगामी राजनीतिको नेतृत्वमा बाम धारबाट रावल र प्रजातान्त्रिक धारबाट साउद रहन सक्ने धेरैको आकलन छ ।
बाजुरास्थित बडिमालिका क्याम्पसका उपप्राध्यापक बीरबहादुर कटुवाल देउवाले सक्रिय राजनीतिबाट बिश्राम लिएको अवस्थामा राष्ट्रिय राजनीतिको केन्द्रमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्नसक्ने पात्रका रुपमा रावललाई पनि त्यति सहज नदेखिएकाे तर्क गर्छन् ।
कटुवाल भन्छन्, ‘तुलनात्मक रुपमा कम विवादित, प्रष्टवक्ता र यसअघि पनि राजनीतिको शीर्ष तहमा पुगिसकेको पृष्ठभूमिका कारण रावलको सम्भावना निकट देखिन्छ । तर अहिलेकै अवस्थामा रावल आबद्ध नेपाली कम्युनिष्ट पार्टी नै संग्लो रहला या नरहला, पार्टीमा रहने उनको प्रभावले पनि त्यसको निर्क्याैल गर्ला ।’
अर्कोतिर सुदूरपश्चिकाे युवा पुस्तामा तत्काल केन्द्रीय नेतृत्व प्राप्त गर्न सक्ने राजनीतिक अनुहार देखा परिनसकेकाले पनि अहिले पुरानै अनुहारबाट मात्रै सम्भावना रहेकाे उनकाे बुझाइ छ ।
कैलालीका नागरिक अगुवा प्रमोद पाठक नेपालको राजनीतिमा कुन बेला को नेतृत्वमा आउन सक्छ भन्ने एकिन गर्न नसकिने बताउँछन् । 'यद्यपि सुदूरपश्चिमबाट देउवाको विश्रामपछि कांग्रेसमा राष्ट्रिय राजनीतिमै नेतृत्वमा पुगिहाल्न सक्ने ब्यक्ति तयार भइसकेको देखिइसकेकाे छैन । एमालेमा त नेतृत्वको शून्यता नै छ । यस अवस्थामा आफ्नो राजनीतिक उर्जा कायम राखेका र आफ्ना अडानमा अडिग देखिने भीम रावल सुदूरपश्चिमबाट नेतृत्वदायी स्थानमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।’
