संसदीय दलको नेता बनेपछि देउवाले जब पहिलो पटक २०५२ भदौ २७ मा मनमोहन अधिकारी नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने अवसर पाए, त्यो नै उनको राजनीतिक जीवनको महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ थियो ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसको दुईपटक सभापति निर्वाचित भएका शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भएर मुलुकको बागडोर सम्हाले । कांग्रेसमा पुराना, धेरै वर्ष जेलनेल भोगेका नेता–कार्यकर्ताको लर्को छ । देउवाभन्दा धेरै वर्ष जेल बसेका, संघर्षशील र क्षमतावान् नेताहरूको कांग्रेसमा कमी छैन ।
देउवाले त एकपटक कांग्रेस नै फुटाएर नयाँ पार्टी पनि खोले । उनका समकालीनहरू बल्लबल्ल मन्त्री बन्न पाएकामा सन्तुष्ट छन् । समकालीनमध्ये रामचन्द्र पौडेल अन्तिममा देउवाकै समर्थनमा राष्ट्रपति बने । तर, संसदमा १६ पटकसम्म मतदान हुँदा पनि एकपटक प्रधानमन्त्री हुने उनको चाहना पूरा भएन ।
देउवा २०४६ को परिवर्तनपछि लगातार सत्तामा बस्ने मात्र होइन, पाँचपटक प्रधानमन्त्री बन्ने अवसर पनि पाए । २०४८ मा गिरिजाप्रसाद कोइरालाले आफ्नो मन्त्रीपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी दिनु देउवाको राजनीतिक जीवनमा शक्ति आर्जन गर्ने पहिलो खुड्किलो बनेको थियो । त्यसपछि कांग्रेस संसदीय दलको नेता निर्विरोध निर्वाचित हुनु नै उनका लागि पाँचपटक प्रधानमन्त्री हुने बाटो खुला भएको हो । उनका समकालीन, सिनियर र संघर्षशील नेताहरूलाई पछि पार्दै उनले पार्टीबाट आफूलाई निर्विरोध संसदीय दलको नेता हुने अवसर २०५१ मंसिर १६ मा पाएका थिए । त्यही समयदेखि शक्ति संचय गर्दै उनले अघि बढ्ने अवसर पाए ।
गिरिजाप्रसादले प्रतिनिधिसभामा कांग्रेसको सुविधाजनक बहुमत हुँदाहुँदै ताजा जनादेशको महत्त्वाकांक्षा राखेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए । तर २०५१ कात्तिक २९ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेस सत्ताबाट बाहिरियो । निर्वाचनमा एमाले ८८ स्थानमा जितेर सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले ८३ सिट जितेको थियो । ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउने र कांग्रेस प्रतिपक्षमा बस्ने परिस्थिति निर्माण भएको थियो ।
कांग्रेसले सत्तामा नजाने निर्णय गरेपछि त्यतिबेलाका निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसादले संसदीय दलको नेता बन्ने इच्छा गरेनन् । ४० भन्दा बढी सांसदले कोइरालालाई नै संसदीय दलको नेता बन्न सुझाएका थिए । तर कोइरालालले अनिच्छा देखाएपछि संसदीय दलको नेता बन्न चाहनेहरू धेरै जना निस्किए । देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्य, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, ढुण्डीराज शास्त्री दलको नेताका लागि दाबी गरिरहेका थिए ।
रामचन्द्र र शैलजाले दलको नेतामा सबैभन्दा बढी अडान लिएका थिए । अर्का सशक्त उम्मेदवार शास्त्री थिए । तर पार्टी सभापति कृष्णप्रसाद भट्टराई, नेता गिरिजाप्रसाद कोइरालासहितका शीर्ष नेताले एक जनाबाहेक सबैलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । सुरुमा वाग्ले, केसी र जोशीले नाम फिर्ता लिएका थिए । सशक्त प्रत्यासी भनिएका मध्ये शास्त्रीले नाम फिर्ता लिएपछि स्थिति सर्वसम्मतर्फ उन्मुख भएको थियो । अन्तिम समयसम्म दलको नेता दाबी गरिरहेका मध्ये देउवा र रामचन्द्र बाहेक सबैले उम्मेदवारी फिर्ता लिएका थिए । अन्त्यमा पौडेल र देउवाको मात्र प्रतिस्पर्धा हुने अवस्था बनेको थियो । तर नेताहरूको दबाबमा पौडेलले पनि उम्मेदवारी फिर्ता लिएपछि देउवा सर्वसम्मत रूपमा दलको नेता चुनिए । ![[Archive] The 'turning point' of Deuba's political life](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/2051-8-17-28102025071115-1000x0.jpg)
शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउन ‘लबिइङ’ गरेका तत्कालीन सांसद बलबहादुर केसी सम्झन्छन्, ‘त्यतिबेला रामचन्द्र र शैलजाले आँट गर्न सक्नुभएन । शेरबहादुर अवसर लिन जान्ने हुनुहुन्थ्यो । तर गिरिजाप्रसादको खिलापमा जानुपर्ने भएकाले रामचन्द्र र शैलजाले हिम्मत नगरेको बुझ्न सकिन्थ्यो ।’ केसीका अनुसार गिरिजाप्रसादलाई त्यतिबेला शेरबहादुरलाई संसदीय दलको नेता बनाउने विषयमा केसी, वाग्ले र प्रदीप गिरीले प्रतिबद्धता जनाउन लगाएका थिए ।
नेतृ शैलजाले शीर्ष नेताको दबाबमा उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया नै दिएकी थिइन् । यसबाट पनि देउवालाई दलको नेता बनाउन नेताहरूकै चाहना भएको देखिन्थ्यो । संसदीय दलको नेता चुनिएपछि सभापति कृष्णप्रसादले देउवालाई बधाई दिँदै निष्पक्ष र योग्यता बढाएर प्रजातन्त्रको सुदृढीकरणमा लाग्न सुझाएका थिए । उनले भनेका थिए, ‘कांग्रेस धेरै अल्पमतमा छैन, एमालेले सरकार चलाउन सकेन भने हामीलाई राजाले बोलाउनुपर्छ ।’ २००३ मा जन्मेका देउवा ४९ वर्षमा कांग्रेस संसदीय दलको नेता चुनिएका थिए । उनको चयनले कांग्रेसमा २०१७ पछि राजनीतिमा प्रवेश गरेको पुस्ताको विधिवत् स्थापना भएको टिप्पणी भएको थियो ।
देउवा दलको नेता बनेपछि कांग्रेस पार्टीमा पुस्तान्तरण सुरु भएको सकारात्मक प्रतिक्रिया आउन थालेको थियो । पार्टीका कतिपय नेता–कार्यकर्ताले भने नेतृत्व फितलो हुने चिन्ता गरेका थिए ।
संसदीय दलको नेता बनेपछि देउवाले जब पहिलो पटक २०५२ भदौ २७ मा मनमोहन अधिकारी नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने अवसर पाए, त्यो उनको राजनीतिक जीवनको अति महत्त्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ थियो । जानकारहरूका अनुसार २०४८ को निर्वाचनपछि गिरिजाप्रसादले रामचन्द्र, देउवा र शैलजालाई मन्त्रालय रोजाएका थिए । त्यतिबेला देउवाले गृह मन्त्रालय, रामचन्द्रले स्थानीय विकास र शैलजाले कृषि मन्त्रालय रोजेका थिए । गृह मन्त्रालय रोज्नु, २०५१ मा संसदीय दलको नेता चुनिनु र २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्नुले नै देउवाका लागि पाँचपटक प्रधानमन्त्री र दुई पटक पार्टीको सभापति हुने अवसरको ढोका खुलेको उनी निकटहरू बताउँछन् ।
‘त्यतिबेला संसदीय दलको नेता उनीबाहेक अरू नै निर्वाचित भएको भए सायद उनले शक्ति सञ्चय गरेर अहिलेको ‘प्रोफाइल’ बनाउन सक्ने थिएनन्,’ कांग्रेसका एक पुराना नेताले भने, ‘पार्टी फुटाएर गए, फर्केर आएर फेरि त्यही पार्टीको दुईपटक सभापति भए । त्यसैले संसदीय दलको नेता बन्ने अवसर पाउनु पनि उनको राजनीतिक जीवनको एउटा ‘टर्निङ प्वाइन्ट’ हो ।’
२०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो पार्टी बनेपछि देउवा कसरी बने संसदीय दलको नेता ? अन्य नेताहरूले उनैलाई किन गरे समर्थन ? लगायतका विषयमा केन्द्रित भएर पत्रकार तारानाथ दाहालले तयार गरेको समाचार कान्तिपुर दैनिकले ‘देउवा नेका संसदीय दलको नेता’ शीर्षकमा २०५१ मंसिर १७ मा प्रकाशित गरेको थियो ।
प्रस्तुतिः ऋषिराम पौड्याल
![[Archive] The 'turning point' of Deuba's political life](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/deuba-2472025040639-1000x0.jpg&w=1001&h=0)