एमालेबाट अलग्गिएका रावल नेकपामा जोडिँदै

रावलको नेकपा प्रवेशको निर्णयले छिन्नभिन्न भएका उनका समर्थक र शुभेच्छुकहरू उत्साहित, सुदूरपश्चिममा एमालेको राजनीतिमा पर्ने असरको जोडघटाऊ पनि सुरु

कार्तिक २६, २०८२

अर्जुन शाह, गंगा बीसी

Rawal, who left UML, is joining the NCP.

What you should know

काठमाडौँ, धनगढी — माओवादी पूर्वअध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा एमाले पूर्वउपाध्यक्ष भीम रावल सामेल हुने भएका छन् । एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए ।

बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रममा अभियान नेकपामा समाहित भएसँगै उनी नयाँ नेकपाको सचिवालय सदस्य चयन हुनेछन् । नेपाली कम्युनिस्ट पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने यसअघि नै सहमति भइसकेको छ । दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताले रावलको वरीयता निर्धारण हुने नेताहरूको भनाइ छ ।

छलफलमा सहभागी एक नेताका अनुसार रावल छैटौं वरीयतासहित पार्टीको ‘हाइकमान्ड’ (केन्द्रीय सचिवालय) मा रहने सम्भावना छ । नेकपाका सचिवालय सदस्य देव गुरुङले भने तीन नेता (दाहाल, नेपाल र रावल) बीच हुने सहमतिका आधारमा वरीयता निर्धारण हुने बताए । ‘विगतको पृष्ठभूमि, पार्टीको आवश्यकताका आधारमा नेताहरू जिम्मेवारीमा रहनुहुनेछ,’ उनले भने ।

रावलनिकट नेता हर्कबहादुर कुँवरका अनुसार दाहाल–नेपालसँग पाँचबुँदे समझदारी भएको छ । कुँवरका अनुसार पार्टीमा छैटौं वरीयता कायम हुने, पार्टीका दस्ताबेज लेखनको नेतृत्व गर्ने, ६ महिनाभित्र महाधिवेशन गर्ने, रावल समर्थक नेता–कार्यकर्ताहरूलाई उचित स्थान प्रदान गर्नेलगायत समझदारी भएका छन् । 

गत कात्तिक १६ मा सम्पन्न एकता राष्ट्रिय सम्मेलनमा नेता बेदुराम भुसालको संयोजकत्वमा तयार पारिएको नेकपाको विधानमा केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, सचिवालय र केन्द्रीय कार्य संयोजन समिति (हेडक्वार्टर) रहने प्रावधान छ । नेता भुसालका अनुसार केन्द्रीय सचिवालयमा रहने नेताबाहेक अरू नेताको सूची वर्णानुक्रमअनुसार रहनेछ । 

करिब अढाई दशक एमालेको सुदूरपश्चिम क्षेत्रलाई नेतृत्व गरेका पूर्वउपाध्यक्ष रावललाई एमालेले ०८१ पुस १० गते पार्टी अनुशासनविपरीत अभिव्यक्ति दिएको भन्दै साधारण सदस्यबाट निष्कासित गरेको थियो । चितवनमा सम्पन्न दसौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेदेखि पार्टी गतिविधिबाट किनारातिर धकेलिएका रावल अन्ततः निष्कासनमा परेका थिए ।

अछाम निर्वाचन क्षेत्र १ बाट पाँच पटक निर्वाचन लड्दा तीन पटक जित र दुई पटक हार बेहोरेका रावलले मातृभूमि जागरण अभियान घोषणा गरे लगत्तैदेखि गृहजिल्ला अछाममा भेटघाट तथा भेलाहरू आयोजना गरेर आफ्ना समर्थकहरूलाई संगठित गरेका थिए ।

जसका कारण अछाम एमालेको संगठन अहिले पनि प्रभावित छ । मातृभूमि जागरण अभियानमा आबद्ध नेताहरूका अनुसार अछामका सात हजार संगठित सदस्यमध्ये करिब तीन हजार सदस्य एमाले त्यागेर रावलले सञ्चालन गरेको अभियानमा जोडिएका थिए । तर, मातृभूमि जागरण अभियानलाई देशव्यापी पनि बनाउन सकेनन् । उनले सुदूरपश्चिमेलीको ठूलो संख्या रहेको भारत प्रवासका मुम्बई, पुना, बैसुर लगायतका ठाउँमा आयोजित भेला पनि गरे । 

यसबीचमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका छन् । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबीच उनले दाहाल नेतृत्वमा नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने निर्णय गरेका हुन । बुधबारको एकता घोषणा कार्यक्रमसँगै उनको नेकपा प्रवेशले औपचारिकता पाउनेछ । 

गत जेठ पहिलो साता सुरु गरेको मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानका क्रममा अछामको सभालाई सम्बोधन गर्ने क्रममै दाहालले रावललाई मञ्चबाटै सहकार्यको प्रस्ताव गरेका थिए ।

त्यसबेला दाहालले भनेका थिए, ‘यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखें, उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो । मैले तपाईं किन अरू ठाउँ भौंतारिरहनुभएको छ । आउनुस् समय खेर नफाल्नुस्, हामी बसेर कुरा गरौं, सहकार्य गरौं ।’ तर रावलले भने दाहालको प्रस्तावलाई अछाम पुगेका बेला व्यक्त गरिएको राजनीतिक शिष्टाचार मात्र भन्दै प्रतिक्रिया दिएका थिए । तर, त्यसयता पनि दाहाल र रावलबीच अनौपचारिक कुराकानी भने भइरहेको थियो । 

रावल निष्कासनमा परेपछि सुदूरपश्चिममा एमालेलाई धक्का लाग्ने अनुमान गरिएको थियो । ०७९ को निर्वाचनमा एमालेले प्रतिनिधिसभातर्फ १६ सिटमा दुई र प्रदेशतर्फका ३२ सिटमा तीनवटा मात्र जित्न सक्यो । एमालेको निराशाजनक नतिजामा रावललाई निष्कासन गरिनुको असरका रूपमा अर्थ्याइएको थियो । रावललाई टिकटसमेत नदिएर दलले पन्छाएपछि चुनावमा पनि उनी निष्क्रिय बसेका थिए । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

गंगा

Link copied successfully