४ देखि ६ महिनामा पर्यटनमार्फत देश कायापलट गर्न सकिन्छ : वीरेन्द्र बस्नेत

बस्नेतले बाध्यताले राजनीतिमा आउनु परेको जनाउँदै आफ्नो नयाँ दलले पर्यटन, कृषि र गुणस्तरीय शिक्षालाई तीन मुख्य आधार मानेर अवधारणा तयार पारेको बताए।

कार्तिक २०, २०८२

सुरज कुँवर, दीपेन्द्र बडुवाल

The country can be transformed through tourism in 4 to 6 months: Birendra Basnet

भैरहवा — बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतको नयाँ दल गतिशील लोकतान्त्रिक पार्टीले देशको सेवा गर्ने जिम्मेवारी पाएपछि चारदेखि छ महिनाभित्र पर्यटन, कृषि र प्राविधिक शिक्षामार्फत देशलाई कायापलट गर्न सकिने दाबी गरेको छ।

‘जेन–जी आन्दोलन’पछि गठन भएको यो नयाँ राजनीतिक दलले तिहारअघि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो।

बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टीले भैरहवामा पहिलो अवधारणा सार्वजनिक गर्दै आफ्नो दीर्घकालीन भिजन प्रस्तुत गरेको हो।

बस्नेतका अनुसार हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २४ लाख अन्तर्राष्ट्रिय यात्रु वार्षिक आवतजावत गर्छन्, जसमा ११ लाखजति मात्र पर्यटक हुन्।

उनी भन्छन्, 'पर्यटन उद्योग नेपालको सबैभन्दा ठूलो सम्भावनायुक्त क्षेत्र हो। अहिले सात लाख भारतीय पर्यटक नेपाल आउने गरेका छन्। हाम्रो लक्ष्य आगामी वर्षहरूमा वार्षिक ५० लाख पर्यटक ल्याउने र ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने हो। यसबाट देशको अर्थतन्त्रमा १२ खर्ब २० अर्ब रुपैयाँ बराबरको योगदान दिन सकिन्छ।'

बस्नेतले बाध्यताले राजनीतिमा आउनु परेको जनाउँदै आफ्नो नयाँ दलले पर्यटन, कृषि र गुणस्तरीय शिक्षालाई तीन मुख्य आधार मानेर अवधारणा तयार पारेको बताए।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानहरूको केन्द्र बनाउने योजनाबारे उनले विस्तृत जानकारी दिए।

एयरबसको प्राविधिक अध्ययनअनुसार भैरहवाबाट अमेरिका र क्यानडासम्म १५ घण्टामा उडान गर्न सकिने उनले बताए।

'जसरी दिल्लीबाट संसारभरका उडान सञ्चालन भइरहेका छन्, त्यसैगरी भैरहवाबाट पनि गर्न सकिन्छ,' बस्नेतले भने।

उनले नेपाल वायुसेवा निगमलाई पुनर्संरचना गरी ३० प्रतिशत सरकार र ७० प्रतिशत जनताको लगानीमा सार्वजनिक लिमिटेड कम्पनीका रूपमा लैजानुपर्ने प्रस्ताव राखे।

'तीनदेखि छ महिनाभित्र वायुसेवाको पुनर्संरचना सम्भव छ। नेपाललाई १३ वर्षदेखि युरोपेली युनियनले राखेको ‘कालो सूची’बाट पनि तीन महिनाभित्र हटाउन सकिन्छ। त्यसको कारण र समाधान दुवै थाहा छ,' उनले जोड दिए।

पार्टीका केन्द्रीय सदस्य तथा पर्यटन विज्ञ ज्ञानेश्वर महतोले सिरक ओढेर सपना देखेको नभई योजनासहित नयाँ दल ल्याएको बताए।

'यो सपना सिरक ओढेर देखिएको होइन, अध्ययन र विश्लेषणका आधारमा तयार गरिएको हो। हामीले स्पष्ट बिजनेस प्लान बनाएका छौं। नेपालको पर्यटन सम्भावना विगत ७५ वर्षदेखि चर्चा मात्र सीमित छ, अब त्यसलाई व्यवहारमा उतार्ने बेला आएको हो,' उनले भने।

महतोका अनुसार पार्टीले विश्व पर्यटनका मापदण्डअनुसार तथ्यांक संकलन गरी योजना तयार गरेको छ।

'हामी अहिले चारवटा जहाज सञ्चालन गरिरहेका छौं। जब हामी ५० जहाजको कुरा गर्छौँ, त्यो योजनासहितको लक्ष्य हो, हावा होइन,' उनले थपे।

पार्टीका केन्द्रीय सदस्य तथा लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले देश विकासका लागि आवश्यक पूँजी जुटाउन कुनै कठिनाइ नभएको बताए।

'नेपालको बैंक प्रणालीमा अहिले नै खरबौँ रुपैयाँ निष्क्रिय छ। समस्या लगानीको होइन, योजनाको स्पष्टताको हो। पर्यटनका लागि मात्र १२ खर्ब र समग्र योजना पूरा गर्न २१ खर्ब रुपैयाँ आवश्यक पर्छ,' पन्तले भने।

उनका अनुसार भैरहवा क्षेत्रमा मात्रै २२ हजार नयाँ बेड थप्नुपर्ने र दुई खर्ब ८० अर्ब बराबरको लगानी आवश्यक पर्छ।

'नेपालभरका होटलमा ७५ हजार नयाँ बेड थप्नुपर्छ। विश्व स्तरीय सात–स्टार रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ,' उनले बताए।

राजमार्ग र पूर्वाधार सुधारमा पनि पार्टीले ध्यान केन्द्रित गर्ने उल्लेख गर्दै पन्तले भने, 'पर्यटक अहिले औसतमा १० दिन नेपाल बस्छन्। उनीहरूको बसाइ बढाउन ४ खर्ब २० अर्ब राजमार्ग सुधारका लागि छुट्याउनुपर्छ।'

यी सबै योजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा कार्यान्वयन गरिने र यसबाट वार्षिक २२ खर्ब ४० अर्ब रुपैयाँ आम्दानी गर्न सकिने अनुमान गरिएको छ।

गतिशील लोकतान्त्रिक पार्टीको मुख्य नारा ‘आर्थिक रूपान्तरण र सुशासन’ हो। दलले आगामी चरणमा जनकपुरमा कृषि क्षेत्रका चुनौती र सम्भावना विषयक बहस र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शिक्षा तथा विकास खाका प्रस्तुत गर्ने तयारी गरेको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

दीपेन्द्र

Link copied successfully