नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसाे १ बजे सुरू हुने बैठकले ८ दलबीच भएकाे एकता सहमतिलाई अनुमाेदन गर्नेछ ।
काठमाडौँ — नेकपा एकीकृत समाजवादी (एस) लगायत दलसँग एकता अनुमोदन गर्न नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति बैठक आज बस्दै छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसाे १ बजे सुरू हुने बैठकले ८ दलबीच भएकाे एकता सहमतिलाई अनुमाेदन गर्नेछ ।
आइतबार माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकता सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।हस्ताक्षर गर्नेमा माओवादी केन्द्र (पुष्पकमल दाहाल), नेकपा एस (माधवकुमार नेपाल), नेपाल समाजवादी (महिन्द्रराय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले), नेकपा (चिरण पुन), माओवादी समाजवादी (कर्णजीत बुढाथोकी) र नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) छन् ।
आठै दलका केन्द्रीय समितिहरू सहभागी भएर १९ कात्तिकमा एकता राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको छ । उक्त सम्मेलनले नै पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्नुका साथै केन्द्रीय समितिको गठन गर्ने लगायतका सहमति भएको छ ।
