निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १ सय २५ पुग्यो ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन घोषणा भएयता पुरानादेखि नयाँ पुस्तासम्मले दल खोलेर चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । निर्वाचन घोषणा भएपछि ३ नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट विभाजित राष्ट्रिय जनमुक्ति पार्टी र जनमत पार्टीबाट विभाजित जनस्वराज पार्टी आयोगमा दर्ता भएका हुन् ।
यी पार्टी थपिएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय २५ पुगेको छ । यस्तै, गत आर्थिक वर्ष र जेन–जी आन्दोलनयता गरी दल दर्ताका लागि आएका १७ निवेदन आयोगमा विचाराधीन छन् । गत आर्थिक वर्षमा दल दर्ताका लागि परेका ९ निवेदनमा आयोगले निर्णय गर्न बाँकी छ । आवश्यक कागजातहरु पूरा नगरेकाले ती निवेदनमाथि प्रक्रिया अगाडि बढेको छैन ।
यस्तै, जेन–जी आन्दोलनयता परेका १० निवेदनमा राई नेतृत्वको पार्टीले प्रमाणपत्र पाएको हो भने अर्को एक पार्टीले प्रक्रिया अघि नबढाउन निवेदन दिएको छ, जसका कारण ८ निवेदनमा मात्र आयोगले निर्णय गर्न बाँकी छ । धरानका प्रमुख राई नेतृत्वको श्रम संस्कृति पार्टीले आइतबार दल दर्ता प्रमाणपत्र पाएको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ताका लागि निवेदन दिएकामा उनले प्रक्रिया अगाडि नबढाउन अर्को निवेदन दिएपछि आयोगले त्यसलाई स्थगन गरेको छ । नयाँ थपिएका २ दल भने पार्टी विभाजनपछि आयोगमा दर्ता भएका हुन् ।
आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ भट्टराईले अहिले नयाँ दल दर्ताका लागि आएका ८ निवेदनको अध्ययन र आवश्यक कागजात मगाउने कार्य भइरहेको बताए । नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा कम्युनिस्ट पार्टी नेपाल, बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतको पहलमा दिनेशराज प्रसाईं अध्यक्ष रहने गरी गतिशील लोकतान्त्रिक पार्टी र गोपीलाल न्यौपानेको नेतृत्वमा नेपाल लिभर पार्टी दर्ता प्रक्रियामा छन् ।
त्यस्तै, अजयकुमार राईले राष्ट्रिय परिवर्तन पार्टी, हीराप्रसाद सेतीले राष्ट्रिय जेन–जी पार्टी, रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता प्रक्रिया अगाडि बढाएका छन् । नागरिक उन्मुक्ति पार्टीको विवाद नथामिएपछि उनले नयाँ दल दर्ताको प्रक्रिया थालेका हुन् । जनमोर्चाका पुराना नेता पूर्वराजदूत नवराज सुवेदीले नवयुग पार्टी दर्ताका लागि निवेदन दिएका छन् । यसअघि साउनमा ज्ञानबहादुर तामाङले उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन दिएका थिए ।
नयाँ थपिएका दल
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई दल दर्ताको माग गरेर आएका निवेदनमाथि आयोगका तर्फबाट द्रुतगतिमा काम भइरहेको बताउँछन् । ‘एउटा दलले प्रमाणपत्र पाइसकेको छ । निवेदन आएकाको नपुगेका कागजात मागिएको छ । आइसकेका कागजातको अध्ययन भइरहेको छ,’ उनले भने ‘अब समय कम छ । आगामी निर्वाचनमा भाग लिन्छु भन्ने चाहना राख्नेले छिट्टो दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने हुन्छ ।’
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने दलका लागि आयोगले दल दर्ता गराउन कार्यतालिका प्रकाशित गरिसकेको छ । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि १ देखि १० मंसिरसम्म दल दर्ता गर्नुपर्नेछ । त्यसका लागि ३० कात्तिकभित्रै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने प्रवक्ता भट्टराईले बताए ।
