यसकारण रोकियो मन्त्रीमा सिफारिस श्रेष्ठको नियुक्ति

पहिले सिफारिस गरेको एक घण्टापछि श्रेष्ठलाई भूमिमन्त्रीमा नियुक्ति गर्न संशोधित सिफारिस राष्ट्रपति कार्यालय पठाइएको थियो ।

कार्तिक १०, २०८२

कान्तिपुर संवाददाता

This is why Shrestha's appointment as a minister was stopped

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा आइतबार सिफारिस गरेका चार जनामध्ये गणपतिलाल श्रेष्ठको पनि नियुक्ति रोकिएको छ ।

श्रेष्ठलाई पर्यटनमन्त्रीमा सिफारिस गरिएको थियो तर केही मन्त्री र आफ्नो सचिवालयका अधिकारीसँग छलफल गरेर कार्कीले श्रेष्ठलाई पर्यटनमन्त्री नभई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको जिम्मेवारी दिने निष्कर्षमा पुगिन् । पहिले सिफारिस गरेको एक घण्टापछि श्रेष्ठलाई भूमिमन्त्रीमा नियुक्ति गर्न संशोधित सिफारिस राष्ट्रपति कार्यालय पठाइयो । तर त्यसमा श्रेष्ठले असन्तुष्टि जनाएपछि प्रधानमन्त्रीकै आग्रहमा उनको नियुक्ति स्थगन गरियो ।

एकाएक मन्त्रालय परिवर्तन गरिएपछि आफ्नो नियुक्ति रोकिएको सम्पदा संरक्षण अभियन्ता श्रेष्ठले बताए । ‘मलाई संस्कृति, पर्यटन मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । हिजो प्रधानमन्त्री, गृह र उर्जामन्त्रीसँग पनि त्यही कुरा भएको थियो । आज (आइतबार) एकाएक मन्त्रालय हेरफेर गरियो, मसँग एकचोटि पनि सल्लाह पनि गरिएन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि चित्तबुझ्दो जवाफ दिनुभएन ।’ सम्बन्धित मन्त्रालयको काम गर्न दक्ष हो कि होइन भन्ने बुझेर जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ ।

श्रेष्ठ उपत्यकाको सम्पदा बचाउने अभियानमा एक दशकदेखि सक्रिय युवा हुन् । झोंछेका रैथाने उनले हनुमानढोका क्षेत्र व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिने तत्कालीन काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध आवाज उठाएका थिए । भूकम्पपछि रानीपोखरी पुनर्निर्माण, पशुपति क्षेत्रमा कंक्रिट प्रयोग गर्न खोज्दा पनि उनले खबरदारी गरेका थिए । उनले बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रड प्रयोग गर्न नदिन सार्वजनिक दबाब बढाएका थिए । खुलामञ्चको व्यापारीकरण गर्ने कदमविरुद्ध उनी सडकमै आइपुगेका थिए ।

कान्तिपुर

Link copied successfully