गणपतिलाललाई मन्त्रीको रुपमा किन सिफारिस गरिएको थियो र फेरिएको जिम्मेवारीमा जान उनी किन तयार भएनन् ?
What you should know
काठमाडौँ — झोंछेका रैथाने गणपतिलाल श्रेष्ठको नाम आइतबार बिहानैदेखि चर्चामा आयो । जेन-जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने समाचार सार्वजिनक भएपनि एकैछिनमा उनलाई दिने भनेको मन्त्रालयको फेरिएको खबर सार्वजनिक भयो । पछि उनको नाम भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरियो । तर यसमा गणपतिलालले असन्तुष्टी जनाए ।
एक दशकभन्दा लामो समयदेखि काठमाडौं उपत्यकाको सम्पदा बचाउने अभियानमा सक्रिय श्रेष्ठलाई मन्त्रीको रुपमा किन सिफारिस गरिएको थियो र किन उनी फेरिएको जिम्मेवारीमा जान तयार भएनन् भन्ने विषयमा इकान्तिपुरले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :
तपाईंलाई मन्त्रालय दिने विषय कसरी टुंगो लागेको थियो ?
मलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने भनिएको थियो । हिजो ऊर्जामन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीले बेलुका निवासमा बोलाएर फाइनल गरेर आज बिहान सिफारिस र सपथ एकैचोटि गर्ने कुरा थियो । बिहान एक घन्टामा मन्त्रालय चेन्ज गरियो ।
यसबारे तपाईंलाई विस्तृत जानकारी गराइएन ?
यस विषयमा मलाई विस्तृत जानकारी गराइएन । मैले गएर प्रधानमन्त्रीसँग फेस टु फेस कुरा गर्न जाँदा उहाँले चित्तबुझ्दो जवाफ दिनुभएन ।
तपाईंले के कुरा गर्नुभयो अनि जवाफ के पाउनुभयो ?
मैले हिजोको कमिटमेन्ट के हो ?, अनि आज एक्कासि चेन्ज किन भनेर प्रश्न सोधेँ । भूमि सुधार मन्त्रालयमा मेरो नाम राखियो । यसबारे मलाई सोध्नुभयो त भनेर मैले सोधेँ । मैले यसबारे सञ्चारमाध्यमबाट मात्रै थाहा पाएँ । अर्को कुरा भनेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय त उहाँहरुले नै मेरो बारेमा रेकी गरेर यो मन्त्रालयमा नेतृत्व गरिदिनुपर्यो भनेर सबैको सामू अनुरोध गर्नुभएको थियो । उहाँले त मेरो भावना र त्यति धेरैको भावनासँग खेलीदिनुभयो नि त ।
फरक मन्त्रालय लिन चाहिँ तपाईंले किन अस्वीकार गर्नुभयो ?
राजनीतिक पार्टीहरुले हिजो कित्ता, कित्ता छानेर आफ्नो पार्टीहरुलाई बाँड्न लागेको जस्तो यो सरकार हैन नि त । त्यस्तो हुनु पनि हुँदैन । मन्त्रालय छानेर दिने भन्दा पनि त्यो मन्त्रालय अनुसारको दक्ष हो कि हैन भनेर पनि हेर्नुपर्छ नि त । हिजो बेलुका एउटा निर्णय गर्ने अनि एकाएक चेन्ज गरेपछि त मसँग एक चोटि सल्लाह पनि गर्नुपर्छ नि त ।
सम्बन्धित समाचार
