झोंछेको पोजेटिभ ड्रिम

कुनै समय हिप्पीहरुको थलो झोंछेले युवाहरुको पहलमा आफ्नो परिचय बदलिएको सन्देश दिन खोज्दै छ ।

Jestha 19, 2074

Damodar Neupane

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

झोंछेलाई हिप्पी कल्चरले कति राम्रा कुरा दियो त कति अति नराम्रा पनि । हिप्पी युग सकिएको झन्डै आधा शताब्दी हुन लाग्यो । र, त्यसका अवशेषहरू पनि टड्कारा छन् ।

झोंछेलाई हिप्पी कल्चरले कति राम्रा कुरा दियो त कति अति नराम्रा पनि । हिप्पी युग सकिएको झन्डै आधा शताब्दी हुन लाग्यो । र, त्यसका अवशेषहरू पनि टड्कारा छन् । 
संसारमा नेपाललाई एक किसिमले चिनाएकै मान्नुपर्ने यो लिगेसीलाई स्थानीय युवाले फरक अनि सकारात्मक ढंगले हेर्न थालेका छन् । भनिन्छ, विगतसँग खेद राख्दा वर्तमानप्रति विश्वास र भविष्यप्रति आस हुँदैन । यसै भएर झोंछेलाई ‘वल्र्ड फ्रिक स्ट्रिट’ बनाउने अभियान नै सुरु भएको छ । 
........
झोंछेका गणपतिलाल श्रेष्ठको परिवार हिप्पीले ल्याएको नराम्रो संस्कृतिको सिकार भयो । केही सदस्य लागूऔषधको दुव्र्यसनमा फसे । जसका कारण २०५७ मा जेठा दाइ प्रतीक त्यतिबेला गणपतिलाल सानै थिए । दाजुहरू दुव्र्यसनमा फसेपछि गणपतिले आफूचाहिँ त्यसबाट टाढै बस्ने अठोट लिए । उनले पनि सत्र वर्ष पुगेपछि झोंछेलाई कुलत मुक्त बनाउने अभियान सुरु गरे । अहिले २९ वर्षका भए । झोंछेलाई दुव्र्यसनमुक्त बनाउने र सकारात्मक प्रगतिको दिशामा लैजाने उनको अभियान जारी छ । 
पेसाले शिक्षक थिए उनका बुबा उपकारलाल श्रेष्ठ । गोरखाको भीमोदय माविमा पढाए । प्रधानाध्यापक भए । यता झोंछे पर्यटकीय केन्द्र भएको थियो । हिप्पीहरूको भीड लाग्न थाल्यो । यही मौकामा उनले पनि पर्यटन व्यवसाय चलाउने निधो गरे । जेठो छोराको नाममा खोले प्रतीक होटल । 
त्यतिबेला चल्तीका मेनु थिए– गाँजा मिल्क कफी । गाँजा मिल्क टी । गाँजा ब्ल्याक टी । गाँजा मिल्क कफी । हासिस लसी । हासिस टोस्ट एग । हासिस लस्सी । हासिस हट चकलेट । हासिस अरेन्ज स्क्वास । हासिस लेमोन स्क्वास आदि इत्यादि । 
लागूऔषध मिसिएका यी सबै आइटम खुबै लोकप्रिय थिए झोंछेमा । उपकारलालको प्रतीक होटलमा पनि यी मेन्यु नरहने कुरै भएन । व्यापार त फस्टायो तर त्यसैले परिवारलाई नै भित्रभित्र खाइरहेको पत्तो भएन । ‘माइलो दाइलाई पनि पुन:स्थापन केन्द्रमा राख्नुपर्‍यो,’ गणपति भन्छन्, ‘परिवारले एकपछि अर्को विपत्ति सहनु पर्‍यो ।’
समाजसेवीको छवि बनाएका थिए उपकारलालले । हिँडेरै मेची–महाकाली गर्ने पनि उनै हुन् । १० वर्ष लगाएर मेची–महाकाली पैदल यात्रा पूरा गरे । तान्त्रिक विद्यामा पनि पारंगत थिए । झारफुक गर्थे । जडीबुटीको पनि ज्ञाता थिए । गोरखामा जडीबुटीको पसल थियो । ‘एचआईभी एड्सको समेत जडीबुटीबाट उपचार गर्नुहुन्थ्यो,’ गणपतिलाल भन्छन्, ‘जनकल्याण संस्था थियो । त्यो संस्थाले बेवारिसे लास जलाउने कामसमेत गथ्र्याे । ठूल्दाइको मृत्युपछि बुबा गल्दै जानुभयो । २०६१ सालमा उहाँको पनि देहावसान भयो ।’
श्रेष्ठ परिवार उदाहरण मात्रै हो । दुव्र्यसनकै कारण यस्ता विपत्ति र पीडा बेहोर्ने थुप्रै छन् यहाँ । 
............
सन् १९६० को दशकबाट सुरु भयो हिप्पी संस्कृति । त्यतिबेला अमेरिकाले भियतनाममाथि युद्ध छेडेको थियो । भियतनाम युद्ध निकै झन्डै १९ वर्ष चल्यो । त्यसको विरोधमा घरबार अनि मुलुकै त्यागी संसारभर घुम्न थालेका हुन् हिप्पीहरू । उनीहरूले विश्वका विभिन्न १० मुलुकलाई आफ्नो गन्तव्य बनाए– स्पेन, अर्जेन्टिना, अस्ट्ेरलिया, डेनमार्कको क्रिस्टिनिया, ब्राजिल, भारतको गोवा, ग्वाटेमाला, क्यानाडा र नेपालको काठमाडौं । 
आफू मस्त रहने र आफैंमा हराउने जीवन दर्शन थियो हिप्पीहरूको । १९६० देखि ७० को दशकसम्म नेपाल छिरेपछि हिप्पी संस्कृति यहाँ पनि फैलियो । उनीहरूले मुख्य केन्द्र झोंछेलाई बनाए । त्यसबाहेक ठमेल, मरुहिटी, वसन्तपुरका चोक, डबलीलगायत स्थानलाई पनि उनीहरूले जक्सन बनाए । उनीहरू मन्दिर, सत्तल, देवल लगायतको दायाँबायाँ बसेर कंकटमा भरेर गाँजा, चरेस तान्थे । हातमा गितार बोक्थे । गाउँथे । रमाइलो गर्थे । 
वसन्तपुर दरबार क्षेत्रको नौतले मन्दिरबाट दक्षिणतिर पर्छ झोंछे । त्यतिबेला विकसित ठाउँ थियो यो । १९९० सालमा भुइँचालो गएपछि जुद्धशमशेरले यो क्षेत्र पुनर्निर्माण गरेका थिए । सडक फराकिला बनाएका थिए । सम्पदै सम्पदाको यो क्षेत्रलाई हिप्पीले आफ्नो प्रवेश क्षेत्र बनाए । पहिलो पटक मरुहिटी भयो । गणेशस्थानमा होटल व्यवसाय सुरु भयो । त्यहाँबाट विस्तारै सांस्कृतिक रूपमा सम्पन्न झोंछेमा हिप्पी पर्यटकका रूपमा भित्रिए । 
पारिवारिक वातावरणमा राखिन्थ्यो उनीहरूलाई । मुलुकमै पहिलोपल्ट होमस्टेको अवधारणा सुरु भयो । होटल हिमालयन, सेन्चुरी लज, अन्नपूर्ण लज जस्ता होटल खुले । 
हिप्पीलाई लक्षित गरेर चिया पसल खोल्न थालिए । बेकरी पसल खोलिए । गाँजा, चरेस पसल खोलिए । खासमा हुनेखाने थिएनन् हिप्पी । ‘आफ्ना लुगा समेत बेचेर खान्थे,’ हिप्पी कल्चर बुझेका सानो दरबार होटलका दिनेश सुवाल भन्छन्, ‘आर्थिक रूपमा कमजोर भए पनि तिनीहरूले नेपालमा पर्यटनको जगचाहिँ बसाइदिए ।’
बेढंगका लुगा लगाउने, गाँजा तान्ने, चरेस खाने, खुला यौन सम्बन्धमा विश्वास राख्ने, जीउमा जताततै ट्याटु खोपेका, लट्टा परेका कपाल भएका, संगीतमा झुम्मिने परिचय बनाएका थिए हिप्पीले । 
खासमा हिप्पी संस्थापनलाई चुनौती दिँदै संगठित भएका हुन् । जुन संस्कृति समाजमा विद्यमान छ, त्यसको विपरीतप्रति सांस्कृतिक क्रियाकलाप सुरु गर्‍यो यो समुदायले । हिप्पी काठमाडौं छिरेपछि झोंछेको गल्लीलाई फ्रिक स्ट्रिट भन्न थालियो । 
हिप्पी कल्चरले सांगीतिक माहोल बढ्यो । झोंछे फिल्म सुटिङ स्थल समेत बन्यो । देवानन्दले अभिनय गरेको हरेकृष्ण हरेराम फिल्म यहीं सुटिङ गरियो । गाँजाले धानेको नेपालको पर्यटनलाई त्यो फिल्ममा देखाइएको छ । अर्थात् हिप्पी कल्चरलाई त्यसमा देखाइएको छ । 
नेपालको संस्कृति, प्राकृतिक वातावरणमा मात्रै नभई यहाँको गाँजा, भाङ चरेसको आनन्द लिनसमेत पर्यटक आउन थाले । अब लागू पदार्थ भित्रियो । राम्रोभन्दा नराम्रो संस्कृतिले जरा गाड्यो । फ्रिक स्ट्रिटका गल्ली गल्लीमा ‘गाँजा र चरेस यहाँ पाइन्छ’ भनेर बोर्ड झुन्ड्याउन थालियो । कतै ‘हासिस एन्ड मारिवाना सोल्ड हेयर’ भनेर बोर्ड झुन्ड्याउन थालियो । त्यसमध्येको चल्तीको लागूऔषध बिक्री हुने होटल इन इडन थियो । त्यो होटल अहिले पनि सञ्चालित छ । त्यतिबेला लागूऔषध बेच्न नपाइने कानुन बनेको थिएन । 
राजा वीरेन्द्रको शासनकालमा लागूऔषध नियन्त्रण ऐन बन्यो, २०३३ सालमा । गाँजा, चरेसजस्ता पदार्थ अब अवैध भए । बिक्रीवितरण बन्द गरियो । यसको बिक्रीमा प्रतिबन्धसँगै हिप्पी पनि बिस्तारै काठमाडौंबाट हराउँदै गए । 
हिप्पी युगको समाप्तिसँगै झोंछेको पर्यटन पनि सुस्ताउँदै गयो । पर्यटक बिस्तारै ठमेलतिर तानिए । झोंछेमा लुकिछिपी गाँजा, चरेस बेच्ने क्रम भने रोकिएन । राम्रा लज बन्द हुँदै गए । बेकरी बन्द भए । विदेशीलाई लक्षित होटल बन्द भए । पहिला पर्यटक हिँड्ने गल्ली अब लागूऔषध दुव्र्यसनी बस्ने थलो बन्न थाल्यो । युवाले चुरोट तान्न थाले । चुरोटको नशाले धानेन, अनि गाँजातिर लागे । गाँजाको अम्मल पनि धानेन । सिरिन्ज लगाउन थाले । दुव्र्यसनबाट मृत्यु हुनेको संख्या 
बढ्दै गयो । 
पर्यटन व्यवसाय खस्किएपछि कतिपय घरै छाडेर अन्त गए । घर बहालमा लगाए । बहालमा बस्नेले लुकेर गाँजा, चरेस बेच्न थाले । 
हरेक जस्तो घर दुव्र्यसनीको अखडा बन्दै गयो । 
सडक बत्ती बिग्रियो । बत्ती बिग्रिएपछि यहाँका गल्लीहरू अन्धकार हुन थाले । जहाँ बग्रेल्ती सिरिन्ज भेटिन थाले । यही बेला वसन्तपुर दरबार क्षेत्रमा नाइट मार्केट सुरु भयो । त्यसले पनि दुव्र्यसनलाई नै सघायो । 
..................
‘झोंछे साँच्चिकै बिग्रियो,’ श्रेष्ठ भन्छन्, ‘अब केही नगरी भएन भनेर हामी संगठित भयौं ।’ 
१२ वर्षअघि टोल सुधार समिति बन्यो । श्यामबहादुर मानन्धरले अगुवाइ गरे । गणपतिलाल, राजु वज्राचार्य, सुभास शाही, दिनेश सुवाल जस्ता युवाले साथ दिए । झोंछेका सडकमा बिजुली राखियो । राति अब उज्यालो भयो । दुव्र्यसनीको निगरानी राखियो । गाडा पसल हटाए । नाइट मार्केट पनि हट्यो । दुव्र्यसनीविरुद्ध अभियान चलाए । दुव्र्यसनी पक्राउ गर्दै प्रहरीलाई बुझाउन थाले । ‘झोंछे अब परिवर्तन भएको छ । अब यहाँ पर्यटक केन्द्र बनाउनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘झोंछेलाई अब फ्रिक स्ट्रिट हैन कि पुरानो फ्रिक स्ट्रिटका रूपमा चिनाउन चाहन्छौं । वल्ड फ्रिक स्ट्रिट भनेर अध्ययन गर्ने ठाउँका रूपमा विकसित गर्न चाहन्छौं । दुव्र्यसनमुक्त क्षेत्र भनेर चिनाउन चाहन्छौं । कला संस्कृति, सम्पदाको मार्ग भनेर चिनाउन चाहन्छौं ।’ 

Damodar

Link copied successfully