मधेशको मुख्यमन्त्रीमा सोनल

जसपा नेपाल, जनमत, माओवादी, लोसपा र एकीकृत समाजवादीको समर्थनमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री नियुक्तिमा प्रश्न उठाउँदै कांग्रेस र एमालेले प्रदेश प्रमुखको कार्यालयमा अवरोध र नाराबाजी गरेका छन्।

आश्विन ३०, २०८२

अजित तिवारी, कमलेश ठाकुर

Sonal to be the Chief Minister of Madhesh

What you should know

जनकपुर — प्रदेशसभामा सहभागी दलहरूको अवरोध र तनावबीच मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त भएका छन् । कांग्रेस र एमालेले प्रदेश प्रमुखविरुद्ध नाराबाजी गरेपछि सुरक्षाकर्मी तैनाथ गरेर लोसपाका प्रदेश सांसद सोनललाई बुधबार अबेर मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । 

तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । पाँच दलको प्रस्तावमा सोनलले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । उनलाई जसपा नेपाल (१९), जनमत (१३), माओवादी (९), लोसपा (८) र एकीकृत समाजवादी (७) ले समर्थन गरेका छन् । नवनियुक्त मुख्यमन्त्री सोनलले बिहीबारबाट जिम्मेवारी सम्हाल्नेछन् । 

सोनलको नियुक्तिमा एमाले र कांग्रेसले आपत्ति जनाएका छन् । एमाले संसदीय दल नेता सरोज यादव र कांग्रेस संसदीय दल नेता कृष्णप्रसाद यादवसहितका सांसदहरूले प्रदेश प्रमुखलाई भेटेर जनमत पार्टी विभाजन भइसकेकाले सोनलको दाबीलाई मान्यता नदिन अनुरोध गरेका थिए । 

कांग्रेस संसदीय दलका नेता यादवका अनुसार सोनललाई जनमतका १३ सहित ५६ सांसदको समर्थनमा नियुक्त गरिएको छ । तर जनमत पार्टीका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका छन् । सोनलका पक्षमा गरिएको बहुमतको दाबीलाई मान्यता दिन नहुने कांग्रेस र एमालेको तर्क छ ।

यही विषयलाई लिएर कांग्रेस र एमालेका नेताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गरेका थिए । तर प्रदेश प्रमुखको कार्यालयले निर्वाचन आयोगबाट पार्टी छुट्टिएको/रोजेको पत्र प्राप्त नभएको भन्दै दाबीलाई मान्यता दिँदै नियुक्त गरिएको जनाएको छ । जनमत पार्टीबाट प्रदेशसभा सदस्य बनेका सतीशकुमार सिंह (तत्कालीन कामचलाउ मुख्यमन्त्री) र त्रिभुवन साह (पूर्वमन्त्री) ले दीपक साह नेतृत्वको जनस्वराज रोजेका छन् ।

दुवै जनाले बुधबार निर्वाचन कार्यालय गएर जनस्वराजको पक्षमा हस्ताक्षर गरेका थिए । तर, उनीहरूलाई रोक्न निर्वाचन कार्यालय अगाडि जनमत पार्टीका नेताहरूले नाराबाजी गरेका थिए । कांग्रेस–एमालेका नेताहरूले सिंहको पक्षमा नाराबाजी गरेका थिए । प्रहरीको बलमा सिंह र साहलाई निर्वाचन कार्यालयमा पुर्‍याइएको थियो । त्यसपछि दुवै जनाले जनस्वराजको पक्षमा हस्ताक्षर गर्दै जनमत पार्टीका नेताहरूले गैरराजनीतिक अभ्यास गरेको टिप्पणी गरेका थिए । 

सिंहले जनस्वराजका पक्षमा अन्य सांसद पनि आउन सक्ने तर बिहानदेखि जनमतका नेतृत्वले सांसदहरूलाई बन्दी बनाएर राखेको आरोप लगाए । ‘बिहानैदेखि सबैलाई अपहरण गरेर राखिएको छ । सबैलाई धम्की दिइएको छ,’ उनले भने, ‘जनमत पार्टीका नेताहरू गैरराजनीतिक काम गर्दै छन् ।’ 

प्रदेश प्रमुख भण्डारीले बुधबार अपराह्न ४ बजेसम्म सरकार नेतृत्वका लागि दाबी पेस गर्न समय दिएकी थिइन् । बिहान १० बजे नै सोनलसहित ५ दलका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । उनीहरूले साढे १० बजे दाबी पेस गरेका थिए । त्यसपछि कांग्रेस–एमालेका नेताहरूले पनि कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधनप्रसाद यादवका दुवै दाबीमा जनमत संसदीय दलको नेता महेशप्रसाद यादवको हस्ताक्षर थियो । तर, जनमत संसदीय दलका नेता यादवले सोनल नेतृत्वलाई समर्थन गरेको पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा बुझाएपछि सोनललाई नियुक्त गरिएको हो । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully