नियमित महाधिवेशनको लागि केन्द्रीय समितिले निर्णय नगरेमा मात्रै विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने रणनीति उनीहरूले बनाएका छन्। आजको बैठकमा सभापति शेरबहादुर देउवा सहभागी हुने वा नहुने भन्नेबारे अहिलेसम्म निश्चित भइसकेको छैन।
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको प्रस्ताव लैजाने भएका छन्। बिहीबार बस्न लागेको पार्टीको पदाधिकारी बैठकमा आगामी मङ्सिर मसान्तभित्रै नियमित महाधिवेशन गर्ने गरी प्रस्ताव लैजाने थापा र शर्माको तयारी छ।
जबकि उनीहरूकै चाहनाबमोजिम यसअघि विशेष महाधिवेशनका लागि आवश्यक ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर नै संकलन भइसकेको छ।
सभापति शेरबहादुर देउवाले आइतबारबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डाको विषयलाई लिएर आज पदाधिकारी बैठक बोलाएका हुन्। कुपन्डोलस्थित होटल हिमालयमा बिहीबार पदाधिकारी बैठक बस्दैछ।
नेताहरूका अनुसार यसअघि विशेष महाधिवेशन गर्नुपर्ने विषय उठाएका महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकको तयारीका लागि बस्न लागेको आजको पदाधिकारी बैठकमा भने मंसिरमा नियमित महाधिवेशन गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेका हुन्।
नियमित महाधिवेशनको लागि केन्द्रीय समितिले निर्णय नगरेमा मात्रै विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने रणनीति उनीहरूले बनाएका छन्। सभापति शेरबहादुर देउवाको निवास जेन-जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले आगजनी गरेर ध्वस्त भएको र सानेपास्थित पार्टी कार्यालयसमेत आगजनी भएकोले आजको पदाधिकारी बैठक होटल हिमालयमा बस्ने तयारी भइरहेको एक पदाधिकारीले बताए ।
प्रवक्ता प्रकाश शरण महतले भने निर्वाचन, संसद् पुनस्थापना, पार्टीभित्रको आन्तरिक सुधारसुधार सहित अहिलेको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने बारेमा पार्टी भित्र व्यापक छलफल हुने बताए । उनले पार्टीभित्र भइरहेको नियमित महाधिवेशन र र विशेष महाधिवेशनका लागि चलाइरहेको हस्ताक्षरका विषयमा समेत पार्टीभित्र छलफल हुने बताए।
आजको पदाधिकारी बैठकमा सभापति देउवा आफै उपस्थित हुने कि नहुने भन्नेबारे अझै पनि प्रष्ट पारिएको छैन। देवानिकट अर्का एक पदाधिकारीले सभापति आफैं नभई उपसभापति पूर्णबहादुर खड्कालाई बैठक सञ्चालन गर्न अधिकार दिने दिने वा एकछिन आफू उपस्थित भएर फर्कने भन्ने बारेमा कुराकानी भइरहेको बताए । 'बैठकमा सभापतिजी नजान पनि सक्नुहुन्छ आफ्नो अनुपस्थितिमा बैठक सञ्चालनका लागि अधिकार प्रत्यायोजन गर्न सक्नुहुन्छ ' पदाधिकारीले भने ।
